एक फकिरको यात्रा

हेमन्त विवश

काठमाडौं
BreaknLinks
BreaknLinks

‘संगीतलाई नै भगवान् ठान्थेँ। खासै मन्दिर जादैन थिएँ। खै आज बिहानैदेखि पशुपति जान मन लाग्यो। पशुपति पुगेपछि भक्कानिएँ। खुब रुन मन लाग्यो। आज मलाई के भो के भो’,माघे सक्रान्तिको दिन भेटमा सुनाएका थिए गायक तथा सङ्गीतकार तिलक सिंह पेलाले। एकछिनलाई म मौन बनिदिन्छु। मलाई  थाहा छ उनको भावुकता। बिदाको दिन प्राय: एक्लै घुम्न निस्किन्छन्। हिँड्दै कहाँ–कहाँ पुग्छन्। दिनभरि जङ्गल डुलेर गुँडमा फर्किएको पन्छीझैं आइपुग्छन् साँझपख।

उसो त यो सहरमा वर्षौअघि पनि भौतारिएका थिए। त्यो भौतारिनुको उद्देश्य थियो मनले खोजेको गुरु भेटाउनु। त्यो बेला गुरु नै नपाएको, कैयौंको ढोकाबाट रित्तै फर्किनु परेको कुरा सुनाउँछन उनी। धेरै ठाउँ धाएँ। कैयौं गुरुका ढोकाबाटै फर्किनु पर्‍यो। बल्लतल्ल मेरो अनुरोध स्वीकार गरिदिएर श्रद्धेय गुरु धनबहादुर गोपालीले शिष्य बनाउनु भयो। काठमाडौं आएको ४ वर्षपछि जब गुरु पाएँ तब म धन्य भएँ।

ती तिनै पेला हुन् जसले २०५३ सालमा १७ वर्षको उमेरमा संगीतको ज्ञान नभइकन पहिलोपटक आफ्नै लयमा गाए कृष्णसिंह पेलाका यी शब्द:

उदाश उदाश साँझमा तस्बिर लिएर हातमा
गाउँदैछु यौटा गीत प्रियसीको यादमा

त्यसपछि लगत्तै बजारमा आँसु एल्बम ल्याएर चर्चा कमाएका थिए। त्यतिखेर सुदूरपश्चिममाको बजार डेउडामय थियो। कसैले कल्पनासम्म पनि गर्न सकेका थिएनन् आधुनिक गीतका एल्बमहरू बिक्लान भन्ने। त्यतिबेला बडो साहसका साथ बजारमा देखा परेका थिए उनी। उनको उक्त एल्बम रातका रात हिट भयो। अहिलेको जस्तो सामजिक सञ्जाल थिएन। एकातिर गाउँघरमा लाहुरेका टेप रेकर्डरहरू थिए। अर्कोतिर कहिलेकाहीँ रेडियो नेपालका सांगीतिक कार्यक्रमहरूमा बज्थे उनका गीतहरू। त्यो समयमा पनि महेन्द्रनगरको आशिर्वाद क्यासेट सेन्टरका दीपक खरेलले क्यासेट दुई लट बेचिसकेर तेश्रो लटमा पैतिस सय ल्याएको बिल देखाएका थिए। तिनै खरेलले रोयल्टीका बारेमा पनि बताए उनलाई। पेलासँग कम्पनीले कुनैखाले सम्झौता गरेको थिएन। उनलाई थाहा थिएन रोयल्टी वापतको पैसा आउछ भनेर। सुदूरपश्चिममा मात्रै लगभग पन्ध्र हजारको अनुमानमा क्यासेट बिक्री भए। नेपालभरि कति बिक्री भयो थाहा छैन। काठमाडौं आई कम्पनी मालिकसँग रोयल्टी माग्दा बाह्र सय एल्बम बिक्री भएको भनी जम्मा छत्तिस सय रुपयाँ हातमा थमाएको तितो अनुभव छ उनीसँग। कम्पनी मालिकसँग रोइकराइ गरेर मास्टरकपी फिर्ता लिएर उनी फर्किए सुदूरपश्चिम। आँसु एल्बम निस्किन बन्द भएको खबर थाहा पाएर ताल म्युजिक प्रा.लि.का असरल खान उनको खोजिमा महेन्द्रनगर नै पुगे। दोश्रोपल्ट ताल म्युजिकबाट बजारमा आयो आँसु एल्बम। केही दिनपछि काठमाडौं आएका पेलाले रोयल्टी वापत अग्रिम सात हजार रुपैयाँ पनि बुझे। बल्ल उनी संगीत सिक्न थाले।

उता कन्चनपुरबाट बैतडी गइरहेको बस राति बाटोमा बास बस्ने भयो। सबै जना होटलतिर गए। तिलककी आमा गाडीमै हुनुहुन्थ्यो। ड्राइभरले सोधे, तपाईंको कोही मान्छे छैन। आमाको सहज जवाफ थियो, उघि बजिरहेको गीत गाउने मेरै छोरो हो। त्यसपछि ड्राइभर खलासीले आमालाई होटलमा आराम गर्ने व्यवस्था मिलाउनुका साथै बाटोभरि उति नै सम्मानका साथ हेर्न थालेछन्। गाडीका यात्रुहरुले आमालाई हेरिरहन्थे रे। मन-मनै यस्तो आवाजको धनी जन्माउने आमालाई नमन गरे हुनन्। पेला बताउछन्, मेरो जीवनको उपलब्धीपूर्ण क्षण भनेकै मेरी आमाले यात्रामा गर्वको सास फेरेको त्यही क्षण थियो।

यता पैसा सिद्धिएर सुरु भैसकेका थिए पेलाका अभावका दिनहरू। त्यतिबेलाको उनको संघर्षको कथा लेख्ने हो भने एउटा उपन्यास नै तयार हुन जान्छ, उनी बताउँछन्। त्यसैले यति भन्न सकिन्छ, यो सहरमा टिक्न नसकेर उनी फर्किए गाउँ। केही दिनपछि दाइ डम्बर पेलासँग दिल्ली पुगे। जहाँ दश महिना संगीत सिके। तर, गुरुले गाउन दिएनन्। दस महिनासम्म एकोहोरो भनिरहे तुम सिर्फ ‘सा’ लगाऊ, अभि तुम मत गाओ बेटा। संगीतको मुख्य स्वर नै ‘सा’ हो, विद्वानहरु पहिले सालाई नै साध्न सिकाउँछन् भन्ने थाहा थिएन उनलाई।

पछिल्लो समय उनको जीवन नै शास्त्रीय रागले भरिएको गीत गजल जस्तै लोभलाग्दो बनेको छ।

जीवनका चालिस वसन्त व्यतित भैसके। नितान्त एक्लो जिन्दगी। सरल, इमानदार, स्वाभिमानी अनि भावुक मन। त्यो मनको औधि प्रिय साथी यदि कोही छ भने त्यो उही आँसु छ। परेलीका डिलबाट एकान्तमा खुब बर्सिन्छ आँसु। मात्र भावनाले चिमोट्दा भत्काइदिन्छ परेलीका डिल। आँसु बगाउँदा बगाउँदै फुरिदिन्छ कहिलेकाहीँ नौलो सिर्जना। आँसु बगाउँदै सम्झिन पुग्छन् कहिलेकाहीँ विगतका दिन पनि।

लोभलाग्दो जिन्दगी बाँचिरहेका एक फकिरका बारेमा जति भन्दा पनि थोरै हुन्छ। उनीसँग केही नहुँदानहुँदै पनि धेरै छ। सबैभन्दा ठुलो मन छ। दुःखको अध्याए खप्टिएर बसेको विगत छ। सदा संघर्षको दैलो खोलिरहने वर्तमान छ। हिजो गुरु खोज्न कैयौंको दैलो धाउदा कतिपय ठाउँबाट निराश बनेर फर्किएका कथाहरू छन्। त्यही विगतले नै धेरै कुरा सिकाएको छ। वर्तमानमा रिदम कडेलजस्ता शिष्य छन् जसले उनको भावना बुझ्छन्। गुरुप्रति आफूले गर्नुपर्ने कर्तव्य निभाइरहेका छन्। पछिल्लो समयमा उनले एरेन्जरको नाम लिनु पर्दा एक नम्बरमा पर्ने नाम पनि हो रिदम कडेल। त्यस्तै गीत मिक्सिङ गराउन उनी पुग्छन् गौरीघाटस्थित महेश्वरमान राजभण्डारीको साउण्ड मिल स्टुडियोमा। उनी निकै चुजी छन्। क्वालिटीमा सम्झौता गर्दैनन्। शब्दले भित्रैसम्म छुनुपर्छ।

२०४८ सालदेखि पेलासँग संगत गरिरहेका सानेठिमी क्याम्पसका उपप्राध्यापक तथा गजलकार भुवन निस्तेज बताउछन्, उनी बजार र सरकारबाट निरपेक्ष मान्छे हुन्। अनुसासित परिवारमा जन्मेका पेलाले साधनाबाहेक केही जानेका छैनन्। उनी कसैको मन दुखाउन चाहदैनन्। तिनको आफ्नो पनि कतिखेर मन दुख्छ थाहा हुँदैन त्यसैले तिनीसँग बोल्दा पनि कतै मन दुख्छ कि भन्ने डर लाग्छ। उनी बन्द किताब हुन्।

अन्तरमुखी स्वभावका पेला शान्त छन्, मौन प्राय हुन्छन्। भावनाको संसारमा रमाउँछन्। कैयौं सङ्गीतकारको दैलोमा पुगेर संगीत चित्त नबझेको र कतिपयलाई दिएको एड्भान्स छोडेर र कति ठाउँबाट फिर्ता लिएर तिलकको गुरुकुल पुगेका डा. प्रदीप मैनाली सुनाउँछन्, उहाँ मन र सिर्जनाले जे सोच्नु हुन्छ त्यही निस्किन्छ। लोभ मोह केही नभएको व्यक्ति। मेरो नजरमा शब्दलाई न्याय गर्न सक्ने व्यक्ति उहाँ मात्र हो। मेरो उहाँसँग ट्युनिङ मिल्छ।

पेला विगतमा धोकादिनेहरू, दुःख दिनेहरू र रुवाएर जानेहरू हुन वा ती चुनौतिपूर्ण कठिन दिनहरू कसैलाई पनि गुनासो भित्र मिसाउन चाहँदैनन्। प्रसंग उठ्दा प्रेमपूर्वक नै सम्झिन्छन् र भन्छन् जो सँग जे छ त्यही दिने हो। त्यही गर्ने हो। यति हुँदाहुँदै पनि रोइकराइ गरेर कम्पनी मालिकसँग पहिलो एल्बम आँसु भाग– १ को मास्टर फिर्ता लिदा गर्नु परेको संघर्ष सम्झिँदा भने अहिले पनि अश्रुपूर्ण बन्दै सुनाउँछन्, रोयल्टी भन्ने शब्द नै थाहा थिएन। इमानदारीपूर्वक उनले सम्झौता गर्न पनि भनेनन् र रोयल्टीमा पनि ठगे। सबै कुरा थाहा पाएपछि आफ्नै सम्पत्ति हात जोडेर, अनुनय विनय गरे लिनु पर्‍यो। यस्तै हो वक्त वक्त की बात।

कर्ममा विश्वास गर्ने पेलासँग न लोभ छ न लालच। न कसैको आश छ न त भरोशा नै। न भोलिको चिन्ता छ। न सम्पति कमाउने सोख नै छ। जे छ हरेक दिनको उही संगीतिक नित्यकर्म छ। त्यही जिन्दगी प्रिय छ। कहिलेकाहीँ बरालिन्छ उनको मन। यो सहर छोड्न मन लाग्छ। एकान्तप्रेमी पेला यो सम्राटहरूको सहरबाट निस्किन खोज्छन् तर सकिरहेका छैनन्। तर, पनि भन्न छोडेका छैनन्,‘अब आफ्नै जन्मथलो बैतडीमा गएर संगीत सिकाउने मन छ। त्यहाँ पनि छन् थुप्रै संगीत सिक्नेहरू। दस जनालाई राग गाउने बनाइसकेपछि म सुदूरपश्चिम फर्किने छु। यो मेरो मार्केट तिनैको हो, मेरो होइन। म त कसैलाई गोरेटो देखाइ दिन यहाँ आएको हुँ। गाउँमा चामु उस्ताजको सम्झनामा धुन निकाल्न मन छ। तर, यो काम तुरुन्तै हुनेवाला पनि छैन्। जब म आठ दस लाख जम्मा गर्न सक्छु तब उतै गई दुईकोठाको घर बनाएर बस्छु। सहरमा त धेरै छन् संगीत सिकाउने गुरुहरू तर गाउँमा छैनन् कोही पनि।’

पाँच वर्षकै उमेरमा पहिलोपटक आमाको बुइ चढेर गएका थिए पेला पनि रामलीला हेर्न। त्यतिखेरैदेखि आशन जमाइसकेको हुनुपर्छ उनीभित्र संगीतले। तर, पनि विद्यालयस्तरको पढाइका क्रममा उनी भलिबलका राम्रा खेलाडीको रुपमा चिनिए। राष्ट्रियस्तरमा खेल्नसमेत गए। अन्तत्वगत्वा फर्किए उही संगीतको दुनियाँमा। शास्त्रीय संगीतमै मास्टर्स गरे। मास्टर्सपछि पुन: दुई बनारसमा गई गुरु देवाशीषसँग संगीत सिके। एकोहोरो संगीत साधनामा लागिरहे।

शन्यासीले कुटीमा धुनी जगाएझैँ उनले पनि सांगीतिक धुनि जगाएको २३ वर्ष भैसक्यो। हाइटेक विज्ञापनको दुनियाँबाट टाढै रहे। संगीतलाई प्रार्थना सम्झेर प्रार्थना गरिरहे। आफ्नै मस्ती आफ्नै मनमौजी पारामा जमिरहेका असली साधकलाई छुन सकेन सहरको तडकभडकले। कुनै प्रकारको चर्चाको लोभ नभएका स्वाभिमानी साधक साँच्चैका असली गुरु मात्र बनिरहे। चार वर्षअघिको भेटमा किन यसरी लामो समयसम्म लुकेर बस्नुभयो भन्दा सहजै भनेका थिए, ‘म्युजिकल नलेज नहुँदा साधनाका लागि पनि लुकेँ। ज्ञानबिनाको नाम कमाएर आफू पनि ठगिनु र अरुलाई पनि बेवकुफ बनाउनु उचित ठानिनँ। साधना ठुलो कुरा हो, त्यही भएर साधनामै छु।’

२०६१ सालमा काठमाडौंस्थित वनस्थलीमा श्रीकृष्ण गुरुकुल पाठशाला खोलेर धुनी जगाउने काम गररिहेका छन्। जहाँ स-साना नानीबाबुदेखि नेपाल सरकारको उच्च ओहदामा पुगेकाहरू पनि धाइरहेका हुन्छन्। यतिखेर उनी पुनः चर्चाको शिखरमा छन्। ‘के लत बस्यो’ बोलको गजलले बजार लिएको छ। साधनालाई नै जीवनको अभिन्न अङ्ग बनाइसकेका उनी चाकडी, चाप्लुसी, राजनीति, धुर्तता आदिबाट निकै टाढा छन्। नदीको पानी बगेझैँ आफ्नै सुरमा साधनामा बगिरहनु उनको विशेषता हो। संगीत र गायनका हिसाबले मात्रै नभएर बानीव्यबहार, इमानदारीता, स्वाभिमानीपन र पवित्र हृदय भएका यस्ता साधक बिरलै जन्मिन्छन्।

यतिखेर करिब एक वर्षअघिको घटना सम्झनामा आइदिन्छ। एकजना मित्रको उनीसँगको अनुरोध थियो, ‘पचास जना जति नेपाल सरकारका सचिव सहसचिवहरुलाई नयाँ वर्षको उपलक्ष्यमा राम्रै होटलमा डिनर दिने सोच छ उक्त कार्यक्रममा यहाँले एक घन्टा आफ्नो प्रस्तुति दिनु पर्‍यो। हामीले के गर्नु पर्छ तयार छौं।

विनम्र पारामा उनले उत्तर दिएका थिए,‘म हजुरको भावनाको सम्मान गर्छु। राम्रो प्रस्ताव ल्याउनुभयो तर हजुरले गलत मान्छे छान्नु भयो। २३ वर्षसम्म शास्त्रीय संगीतमा साधनारत रहेर म ट्र्याकमा गीत गाउनुको अर्थ हुन्न। लाइभ बाजाको साथमा गाउने हो भने पन्ध्र बीस दिन रियाज गर्नुपर्छ। वाद्यवाधकलाई पारिश्रमिक दिनुपर्छ। यी यावत खर्च जोड्दा झण्डै पाँच लाख जति खर्च हुन जान्छ। यति खर्च गरेर तपाईंलाई के फाइदा ?’ उनले धुमाउराे पाराले उक्त प्रस्ताव अस्वीकार गरिदिए।

यसरी हरेक कामलाई, हरेक अफरलाई गम्भीरतापूर्वक मनन् गर्छन् उनी। चाहँदैनन् हल्का ढंगले कुनै काम गर्न। 
तिलक शब्दको अर्थ हुन्छ चन्दन, टीको होम गर्दाको डढेको चरुको कालो टीका। यी सबै प्रकारका टीका पवित्रता र आस्थाका प्रतीक मानिन्छन्। उनी पनि नाम अनुसारको कर्म गरिरहेका छन्। पवित्र हृदय बोकेर नेपाली गीतसंगीतका क्षेत्रमा निधारको टीकोझैँ टलक्क टल्किएका छन्। आजका दिनसम्म इमानदारीता र स्वाभिमानका चम्किला तारा बनिरहेका छन्।

यतिखेर नयाँ पुस्ताहरूमा उनको नाम नौलो मानिएको छ। यसैक्रममा उजामा क्याफेमा चियाको चुस्की लिँदै गर्दा एकजना भाइले मसँग सोधेका थिए, दाइ तिलक पेला सुदूरपश्चिमका हुन् ?

मैले टाउको हल्लाउँदै हो भनेँ। उनले पुनः सुनाए, रातका रात सेलिब्रेटी बने है।

क्षणभरको मौनता चिर्दै मैले उनलाई भनेँ, मेरा लागि त उनी २०५३ सालमै सेलिब्रेटी थिए। भाइ त्यतिखेर जन्मिएका थिएनौँ होला, त्यसैले भाइहरूका लागि उनी अहिले सेलिब्रेटी बने।

मैले यत्ति के भन्न नभ्याउँदै पल्लो टेवुलको मोबाइलमा बज्न थालिसकेको थियो के लत बस्यो..........

प्रकाशित मिति: : 2023-01-18 21:50:00

प्रतिकृया दिनुहोस्

    युगकै स्वरका जादुगर हुन् पेला। सदाबहार सुपरहिट गीत भुलेर मान्छे हरू अहिले यही मात्र गीत नथाक्ने गरी बजाएका बजायै छन्। धन्य हो नेपाली समाज नेपाली भाषा एक सङ्गीत का जादुगर जन्माएको छ

    • एक बर्ष अगाडि
    • Bmuns Paudel