कोल फाटी दूरदूरै भयौं माया फाटेको नाइ

हेमन्त विवश

काठमाडाैं

आकाशमा चन्द्रमा हुन्छ धर्तीमा फूल हुन्छ 
पछाडि पछुतो हुन्थ्यो अगाडि भूल हुन्छ

तीन वर्ष अगाडिको भेटमा यही गीतकाे माध्यमबाट जीवनको परिभाषा दिएका थिए अहिलेका चर्चित गीताङ्गे कालीकोटका नेत्रराज शाहीले। भर्खरकी नौजवानसँग खेल्दा निकै नै सकस हुन्छ उनलाई। यसै सन्दर्भमा शाही बताउँछन्,‘ती २०/२५ वर्षकी सँग कसरी कुरा गर्नु। माया प्रेमका कुरा गर्दा नसुहाउने। उमेरमा आफ्नो प्रतिभा देखाउन नपाएकोमा पछुतो छ।’

तर, उनलाई चारैतिरबाट खेल खेल्न निम्तो आइरहन्छ। लोकप्रिय गिताङ्गेको सूचीमा उनको नाम अग्र पंक्तिमै आउँछ। उसो त पछिल्लो समय कालीकोटस्थित पचालझरना गाउँपालिकाले उनलाई डेउडा सम्राटको उपाधि नै दियो।

कालीकोटमा जन्मेका शाहीको बाल्यकाल तराईका जिल्लातिर बित्यो। ती तराईका जिल्ला भनेका कैलाली कञ्चनपुर थिए। उनका बुवा २०२६ सालतिर कैलालीमा पुनरवास कम्पनीको नापनक्सा टोली प्रमुख थिए। ८ वर्षको उमेरमा बुवाले अफूसँगै लगेका थिए नेत्रराजलाई। तीन कक्षासम्म धनगढीको गोमती बाल विद्या मन्दिरमा पढेका शाहीले त्रीनगर मा.वि.बाट ५ कक्षा उत्तीर्ण गरे। त्यसपछि कञ्चनपुरस्थित वैजनाथ व्यवसायिक मा.वि.मा भर्ना भई सात कक्षासम्म अध्ययन गरे। ‘त्यो समयमा कैलाली कञ्चनपुरतिर थारु संस्कृति मात्रै हेर्न पाइन्थ्यो। डेउडा गीत खेल्ने, गाउने चलन थिएन’ विगतका दिन सम्झिदै सुनाउँछन्।’

१५ वर्षको उमेरमा कालीकोटमै पढ्ने गरी फर्किएका शाहीले गाउँमा डेउडा खेल चलेको देखेर एकतमासले हेरिरहे, सुनिरहे। त्यतिबेलै डेउडा गीतप्रति झुकाव बढ्न थल्यो उनको। डेउडाप्रति निकै झुकाव भएका कारण दाइसँग कागजमा गीत लेखिमागे छन्। कति अक्षरको हुँदोरहेछ भनेर गणना गरेर हेरेछन्। माथिल्लो पंक्तिको अन्तमा पानी छ भने तल्लो पंक्तिको अन्तमा खानी, ज्ञानी, जानीजस्ता शब्दहरु राख्नु पर्दो रहेछ भन्ने थाहा पाएछन्। यसरी अन्तयानुप्रास मिलाउनेदेखि संरचनाका कुरा बुझेपछि डेउडा गीत लेखेर दुईचार पाना भरेर दाइहरुलाई देखाए छन्। दाइहरुले ठिक छ भनेपछि बल्ल पास भएको अनुभूति सँगालेछन्।

त्यतिखेर राति लुकीछिपी केटीहरुसँग डेउडा गीत खेल्न जाने चलन थियो। यसरी खेलिने डेउडा गीतलाई सुदूरपश्चिममा चोर डेउडा भनिन्थ्यो भने कर्णाली क्षेत्रमा गोठ बस्ने, केटी बस्ने  भन्ने गरिन्थ्यो। कालीकोटमा राति टाढा वनमा गएर गीत भन्ने गरिन्थ्यो। शाहीकाअनुसार खेल खेलिदैन थियो। बसेरै केटाकेटीका बीचमा सवालजवाफ हुन्थे। नेत्रराज पनि दाइहरुको पछि लागेर राति वनमा जान थाले। दाइहरुले केटीहरुसँग सवाल जवाफ गरेको सुनिरहे। अनुसरण गर्न थाले। उनी सुनाउँछन्,‘एकदिन मैले पनि केटीहरुसँग सवालजवाफ गर्न सुरु गरेँ। मेरा गीतको सबैले प्रसंसा गरे। त्यही प्रसंसा मेरा लागि प्रेरणा बन्न गयो।’

त्यसरी गरिने सवाल जवाफमा कुनै अश्लिलता हुँदैन थियो। अभद्र व्यवहार पनि हुँदैन थियो। उपमा अलङ्कार प्रयोग गरिएका माया प्रेम समेटिएका निकै गहिरा, मन छुने गीतहरु गाइन्थे। ‘दिउँसो केटा केटाका बीचमा खेल्दा एकअर्काका कमजोरी देखाउने, दोष कोट्याएर कमजोर तुल्याउने गरिन्थ्यो। कसरी पराजित गर्ने भनेर आफूसँग सवाल जवाफ गर्ने व्यक्तिको बारेमा अनुसन्धान गर्नु पर्ने हुन्थ्यो। त्यो एउटा लडाइ पनि हो जो आज पनि चलिरहेकै छ। तर केटीहरुसँगका सवाल जवाफ र त्यो समय एकअर्काप्रति ओतप्रोत र समर्पित हुन्थ्यो। एकअर्काप्रति आशातित हुन्थ्यो,’ ती दिन सम्झिन्छ उनी।

उनको परिवारमा बुवा, आमा, छोरा सबैले डेउडा गीत लेखेर एकअर्कालाई देखाउने गरिन्थ्यो। केही वर्षअघि ती गीत सङ्कलन गरेर उनले पुस्तक नै प्रकाशित गरे। उनका बुवा अनिपाल शाही कालीकोटमा नाम चलेका गीताङ्गे थिए। अनिपाल शाहीले खेल खेल्ने क्रममा विश्राम लिनु पर्दा नेत्रराजलाई पालो दिन्थे। उनले आलोपालोमा पनि खेले। अस्वस्थ अवस्थामा आफू उभिन नसक्दाका बखत कुर्सीमा बसेर पनि सवाल जवाफ गरे। उनी बताउँछन्,‘त्यतिबेला घोडामा चढाएर खेल खेल्ने ठाउँमा बुवालाई ल्याउँथे र कुर्सीमा राखेर गीत भन्न लगाउँथे। बुवाका ६ भाइ। उहाँहरुले खेल्न थाल्दा आफूले खेल छोड्नुपर्ने हुन्थ्यो। त्यसैले पनि खेल्न त्यति समय पाइन।’

२०५३ अनिपाल शाहीले धर्ती छोडे। माओवादी द्वन्द्व कालमा जताततै जनवादी गीत मात्रै गाइन थाले। डेउडा गीतलाई छाडा संस्कृति भनिदिए। खासै खेलमाल हुन सकेन। २०६५ सालदेखि मात्रै नेत्रराज चर्चामा आउन थाले। एउटैसँग १५/२० पटकसम्म पनि खेलेका उदाहरणहरु छन्। विभिन्न जिल्लामा उनको माग भइरहेको हुन्छ। ठावैपिच्छेका अविष्मरणीय अनुभव सँगाल्दै यात्रारत छन् उनी। उनका अनुसार अन्तर मनमा प्रस्फुटन भएका भावहरु नै गीत हुन।

एसएलसी पास भएपछि उच्च शिक्षा हासिल गर्न पाएनन्। चार भाइ चार बहिनी आमा बुवा गरी दश जनाको परिवारको अभिभारा उनको टाउकामा आयो। त्यो समय सम्झेर नेत्रराज बताउँछन्,‘बुवा दमका रोगी। नुन र सुनबाहेक सबै आफैं उत्पादन गर्नु पथ्र्यो। हातले बुनेका कपडा हुन्थे। व्यापार थिएन। यातायात थिएन। त्यतिबेला अनाज हुने साहु हुन्थे। पैसा हुने गरिब हुन्थे। बुवासँग पैसा थियो अनाज थिएन। त्यसैले हामी गरिब थियौं। तथापि गुजरा चलेकै थियो।’

२०३५ सालमा उनी १० कक्षामा पढ्दै थिए। एकदिन घरबाट जात्रा हेर्न हिँडेका बुवाले इष्ट/मित्रमार्फत उतैतिर केटी खोजेर बाजागाजासहित घरमा बुहारी ल्याएर आए। नेत्रराजकी दुलही घरमा आउँदासम्म उनलाई थाहा थिएन। बेलुकीपख घरमा बाजागाजासहित मान्छे आएका देखेपछि उनले आमालाई सोधेछन्, ‘मुवा यहाँ के हुँदैछ ?’

मुवाले भन्नु भएछ,‘तिम्रो बिहे हुँदैछ।’

त्यो पल सम्झिदै उनी बताउँछन्,‘मलाई गिज्याए जस्तो लाग्यो। काम गर्दाखेरी रिस लागेर भन्नु भयो होला ठानेँ। नभन्दै एकछिनपछि त मलाई दुलहा बनाएर विधिविधान सुरु गर्न थाले। आफ्नै घरमा आएपछि सिदूर हाल्ने काम भयो। घरमा भव्य ढंगले बिहे भयो।’

नेत्रराजका अनुसार कालीकोटतिर यस्तो बिवाहलाई छोडुवा जन्त भनिन्थ्यो। झन ठूलो गौरव गर्नुपर्ने खालको बिहे मानिन्थ्यो। माइती पक्षलाई पनि झन ठूलो कन्यादान दिएजस्तो हुन्थ्यो। कुराकानी मिलेपछि माइतिमै केही कर्मकाण्ड गर्ने। मिठाइ, लाडुच्यूराजस्ता बनाउनुपर्ने परिकार जति त्यही बनाउने गरिन्थ्यो।

कुराकानीकै क्रममा उनी सम्झिन पुगे बुवाले अन्तिम अवस्थामा सुनाएका पंक्ति:

जे जन्मिनछ मरिजान्छ यो संसार रैजान्छ 
आमाबाको अभिभारा छोराले लैजान्छ

त्यतिबेलाको समयमा हाट जाने चलन थियो। सुरुको हाट राजापुर थियो। हाट जाँदा बास बसेको ठाउँमा आगो बालेर खेल लगाउने चलन थियो। चिसापनीमा हाटबजार लाग्नेताका नेत्रराजले पुसदेखि फगुनसम्म राति राति तीन महिनासम्म लगातार डेउडा खेल खेले। उनले त्यो समयको केही घटना सुनाए, दिनभरि आ-आफ्नो काम गर्ने राति राति खेल खेल्ने। एउटा खेलाडी आए। रातभरि खेले। बिहानै उनीहरु घरतिर लागे। उनीहरुलाई फर्काउन गए केही मान्छेहरु। फर्काउन जानेमा नेत्रराज पनि थिए। चिसापानीबाट बाका पुलसम्म पुगे। उनीहरु केही पर कुइने भन्ने ठाउँमा पुगिसकेका रहेछन्। त्यसपछि बीच बाटोमा बसेर उनले गीत गाए।

आज पनि यइपुणि(यतैतिर) छौ कि सोच्दो मन किन हो 
आजै बाटो कुरु लाग्दो आउने कै दिन हो

त्यो खेलको माया थियो। उनका भावुक शब्दहरुको साहित्यिक माया थियो। आफूलाई टक्कर दिने, चित्त बुझ्दो सवाल जवाफ गर्ने खेलाडीको प्रतिभाप्रतिको माया थियो।

एकपल्ट एकजना चर्चित ड्यौडिया माइती घरबाट आफ्नो घर जान तयार भइरहेको बेला उनले एक जनालाई दुई पंक्ति गीत सिकाएर गाउन लगाए छन् :

जाँ देख्यो अलग्गै राइनो चोलो पुलिस्टरको 
काइ (कतै) पोइल बाइजादी छ कि त्यति मान्नो झर्को

त्यो गीत सुनेर ती महिलाले पेट दुखेको बाहाना गरी लोग्नेको घर जाने तयारी रद्द गरिदिइछन्। गीतको प्रभाव यतिसम्म पर्छ मान्छेको मनमा भन्ने एउटा उदाहरण नै थियो त्यो घटना।

एउटा कलाकारको जीवनमा कतै दिमाग हल्लाउने परिवेश आइदिन्छ। कतै हृदय पगाल्ने समय आइदिन्छ। कतै सुमधुर, आनन्ददायी माहोलको सिर्जना भैदिन्छ। ती सबैले एक किसिमको याद छोडेर जान्छन्। रत विगत यादगार बनिदिन्छ। जुन कुरा गीतका माध्यबाट यसरी बताउँछन् उनी।

कोल बसे गाल पड्डे भै कोल छोडे रुने भै 
तँ बुढिऽ कि म बुढिऽएँ भेटै न हुने भै

उनको कतिठाउँमा आत्मग्लानी हुने गरी विछोड भयो। कतिपयले समर्पण हुँदाहुँदै पनि छोड्नुपर्ने अवस्था आइदियो। कतिपय आशाका त्यान्द्रा निराशामा परिणत भइ दिए। तर, उनले गीत सिर्जना गर्न छाडेनन्। माओवादी सत्तामा आएपछि सोचेको परिवर्तन गर्न नसकेको र सत्तामुखी भएको कुरालाई उनी यसरी सुनाउँछन्।

खीर खाने चाहना थियो भैंसी नाठो भयो 
बाँचेका मन्त्री भए मर्ने माटो भयो

उनले पछिल्लो समय समाज परिवर्तनका लागि गीत सिर्जना गरे। बिकृति र विसङ्गतिविरुद्ध गीत सिर्जना गरे। माटोको महिमाका गीत गाए। र निरन्तर गाइरहेका छन्। अचेल मध्य तथा सुदूरपश्चिममा जताततै चर्चा सुनिन्छ तिनै ड्यौडिया नेत्रराजको। त्यसैले त उनी सुनाउँछन्: 

बर्खा लाग्यो घाँस पलाइग्यो बरो (नाम्लो) बाटेको नाइ
कोल फाटी दूरदूरै भयौं माया फाटेको नाइ

६० वसन्त पार गरिसक्दा पनि डेउडा गीतप्रतिको उनको मोह उस्तै छ। माया उस्तै छ। चर्चा उस्तै छ।

डेउडाले अध्ययनशील बनायो

'बैतडीको ठीटो' जसका गीतले डेउडा क्षेत्रमा भुइँचालो ल्यायो [भिडियाेसहित]

प्रकाशित मिति: : 2022-11-02 18:30:00

प्रतिकृया दिनुहोस्