जति मिठो स्वर छ उस्तै मिठो बोलीचाली। सबैसँग माया, प्रेम र सद्भाव व्यक्त गर्दै अरुको प्रगतिमा पनि उत्तिकै रमाउने गायक हुन्, दीपक संगम बि.सी.। सानै छदादेखि तानेको हो गीतसङ्गीतले उनलाई। उसो त आमा बुवाले पनि गाउँघरतिर ठाडिभाका गुनगुनाउनु हुन्थ्यो। हुनसक्छ बा–आमाले गाउँदा ती शब्द र स्वरले नजानिदो पाराले उनीभित्र आशन जमाइसकेको।
कक्षा–५ सम्म बैतडी पाटनमा अध्ययन गरेका दीपक अध्ययनकै सिलसिलामा कैलाली पुगेर त्रिनगर माबिमा अध्ययन गर्न थाले। आठ कक्षा पढ्दाताका नै उनले अरूको एल्बममा गाउने अवसर पाए। उनी सुनाउँछन् –‘त्यो उमेरमा गीत गाउन पाउँदाको खुसी त वर्णन गर्न सकिन्न। आफू ठूलै मान्छे भइ सकेँ, के के न गराैँ भन्ने जस्तो हुन्थ्यो। सार्वजनिक गाडीमा गीत बजेको सुन्दा त भुँइमा खुट्टै हुँदैन थियो। ती दिन सम्झिदा अहिले लाज लाग्छ।’
त्यो बाल्यकालिन रहर, खुशी र उमङ्गको पाटो फरक थियो। एसएलसी उत्तीर्ण भैसकेपछि विज्ञान विषय लिएर पढ्ने उनको तीब्र इच्छा थियो। तर, घरको आर्थिक अवस्थाले साथ नदिएपछि उनका पाइला लम्के कमर्स पढाइ हुने कलेजतिर। काठमाडाैँमा काम गर्दै पढ्न थाले उनी। युनिक कलेजबाट स्नातक तह उत्तीर्ण गरेका दीपकले काठमाडाैँका झण्डै आधा दर्जन जति एफएममा काम गरे। सुरुमा बागबजारमा भागरथी पोख्रेलको अनयएर मिडियामा भोलेन्टरी काम गर्दै आफ्ना रहरका पाइला अघि बढाएका उनी केही महिनापछि स्टाफकै रुपमा काम गर्न थाले। राजधानी, प्राइम हेडलाइन एण्ड म्यूजिक, सिटिजन, रेडियो काठमाडौं लगायतका एफएम रेडियोमा गीतसङ्गीतको कार्यक्रम चलाए। कतिपय श्रष्टाहरूसँग भलाकुसाली गरे।
२०६५ सालमा उनको भेट भयो पछिल्लो समयका चर्चित एरेन्जर विनोद बाजुरेलीसँग। विनोदसँगको भेटघाटले तयार हुन गयो सम्झना नामक डेउडा गीतको एल्बम पनि। जुन एल्बमका अधिकांश गीतहरू निकै चले बजारमा। श्रोताको मन छुन सफल भए उनी। विनोदको साथ सहयोगको खुलेर प्रसंसा गर्दै सुनाउँछन् उनी –‘साङ्गीतिक क्षेत्रमा मेरा लागि प्रेरणाका श्रोत मात्र नभएर गुरु नै बन्नुभयो उहाँ। म उहाँलाई गुरु नै भन्न रुचाउँछु।’तल्ली सोराड, बैतडीको ठिटो, बसेइ मैना मेरी, छम्को छम्को, रतनचडी लगायतका उनका गीतहरू श्रोताले निकै नै रुचाएका गीतभित्र पर्दछन्। तिनै गीतले बजारमा छुट्टै पहिचान बनाउन सफल भएका हुन् उनी। करिव ७० वटा गीतमा स्वर दिइसकेको र कतै सङ्गीत,कतै एरेन्ज, कतै लय गरेर झण्डै दुई सय गीतमा संलग्नता रहेको कुरा बताउँछन् उनी।
सुदूरपश्चिमको सांस्कृतिक पाटोले सधै पछ्याइरह्यो उनलाई। त्यो संस्कृति अँगाल्न मन लागिरह्यो। उनी पछिल्लो समय अभिनयमा समेत जमेका छन्। पछिल्लो समय गीतकार राजेन्द्र शाह बिपी. को सल्लाहमा टेक बहादुर बोगटीको ’रानीले नुहाइ गई‘ बोलको गीतमा मोडलको रुपमा देखापरे उनी। जुन गीत निकै हिट भयो। त्यसपछि भावुक गीतमा अभिनयका लागि उनको खोजी हुन थाल्यो। उता उनका आमा–बुवा उनको भावुक प्रकृतिको अभिनय हेरेर आँसु चुहाउँदै भन्न थाल्नु हुन्छ रे –छोरोले यस्तो भूमिकामा नखेलिदिएको भए नि हुन्थ्यो। कला हो। कलाकारले आफूमा भएको कला देखाउँदा कैयौंका मनका पाटा दुख्छन्। कैयौं आँखा रसाउँछन्। एउटा गायक कलाकार निरन्तर यात्रारत हुन्छ आफ्नो यात्रामा। कहिल्यै मनका भाका पोख्नु अनि कहिल्यै भरिनु यस्तै यस्तै भैदिन्छ जिन्दगी।