जुन गीतले भारतको उत्तर प्रदेशमा समेत तहल्का मच्चायो [भिडियाे]

हेमन्त विवश

काठमाडौं

सुनभन्दा महङ्गो भैग्यो म जन्मेको माटो
हिँडेर पुगिन्या छैन, आकाशको बाटो

पछिल्लो समय निकै चर्चित ठाडी भाकाका शब्द हुन् यी। जुन गीतका गायक सङ्कलक हुन् सुरेश शाही।

सुरेश शाही डेउडा गीतको क्षेत्रमा पछिल्लो समयमा छुट्टै पहिचान बनाएका गायक हुन्। चल गोबिन्दे पाइला मिलाई डेउडा खोलौं..... बोलको उनको स्वर र गणेश बमकाे शब्द सङ्कलनकाे गीतले नेपालको मात्रै नभएर भारतको उत्तराखण्डको भूगोललाई समेत हल्लायो, नचायो। कुमाउँ गडवालतिर यो गीतमा छुट्टै भिडियो बनाएर समेत युटुबमा अपलोड गरेको देखिन्छ। डेउडाको असली मर्म जागाएर निकै सुन्दर ढंगले गाइएको गीत हो चल गोबिन्दे।

पछिल्लो समयमा उनलाई अधिकांश श्रोतहरूले चल गोविन्दे भनेर नै चिन्ने गरेका छन्। उनका अनुसार मध्य तथा सुदूरपश्चिम भौगोलिक हिसाबले प्रशासनिक हिसाबले अलग भए पनि संस्कृतिका हिसाबले मुटु जोडिएका प्रदेश हुन्। जहाँ पुराना गीतको भाव पक्षले जिन्दगी हल्लाउछ। ओतप्रोत बनाउछन् ती गीतहरूले। ती गीतहरू र पुराना डेउडियाहरू सम्झिदा बेलाबखत अर्कै भैदिन्छ उनको मन। पुराना त्यस्ता खाले शब्दहरूको रस भेट्न पाए, त्यसभित्र भिज्न पाए, तिनको स्वाद अरुलाई चखाउन पाए हुन्थ्यो भन्ने कुराले उनको मनमा हलचल मच्चिरहेको हुन्छ।

कर्णालीका अधिकांश विद्यालयहरू एस.एल.सी.मा निल हुन्थे। कतै पढाउने शिक्षकको कमी त कहिल्यै समयमा पाठ्यपुस्तक नै उपलब्ध हुँदैन थिए। माओवादी द्वन्द्व चर्किसकेको थियो। त्यतिबेला कालीकोटबाट प्रथम श्रेणीमा एस.एल.सी.उत्तीर्ण गरे। शाहीको मनको एक पाटोमा डाक्टर इन्जिनियर बन्न पाएँ हुन्थ्यो भन्ने थियो भने अर्को पाटोमा राम्रो गायक बन्न पाएँ हुन्थ्यो भन्ने कुराले त्यतिकै शसक्त ढंगले आशन जमाएको थियो।

घरपरिवारका सदस्यहरूले गीत सङ्गीतको गोरेटोमा नहिँडिदिए हुन्थ्यो त्यसमा राम्रो कमाइ छैन ठान्थे। एस.एल.सी. उत्तीर्ण गरिसकेपछि उनी टीकापुर पुगे। जहाँ उनले सिएमए अध्ययन गरे। तर, त्यो क्षेत्रमा काम खोज्न गएनन्। उनी हानिए नेपालगन्जतिर जहाँबाट इन्टर उत्तीर्ण गरे। त्यसपछि उच्च शिक्षा अध्ययनकै क्रममा उनी पुगे नैपाल अर्थात् काठमाडौं। त्रिचन्द्र कलेजबाट बिए.एम.ए. उत्तीर्ण गरेका शाहीले केही समय कलेज पढाउन थाले पनि अन्ततः होमिए गीत सङ्गीतमै। यही क्रममा उनी सुनाउँछन्– त्यो परिवेश, त्यो भूगोग अनि त्यो संस्कृतिले आशन जमाइसकेको थियो मनमा  । र, त सकिनँ यो क्षेत्रबाट टाढा हुन्।

बेलाबखत सम्झिन्छन् विगत। जुम्लाबाट बग्दै आएकी तीला नदी सुसाइरहेकी हुन्थिन् डाँडामुन्तिर। माथि डाँडाको टुप्पामा टल्किरहेका हुन्थे कालीकोटको सदरमुकाममा अवस्थित घरहरू। एदाकदा वनजङ्गलतिर सुनिन्थ्यो बाँसुरीको धुन र डेउडा गीतको लय। हरेक चाडपर्वसँग जोडिएर आउने तिनै डेउडा गीतका पंक्तिले छाद हालिरहेका हुन्थे मनमस्तिष्कमा। त्यसपछि रेडियो नेपालमा २०६३ देखि ०७० सम्म डेउडा गीतको कार्यक्रम भलासुकाली सुरु गरे उनले। स्वर,सङ्गीत गरेर करिव तीन सय गीत श्रोतासामु ल्याइसकेका शाही पछिल्लो समय एकोहोरो डुबेका छन् गीत सङ्गीतको क्षेत्रमा। डेउडा हुन् वा आधुनिक गीत जब उनी एरेन्ज गर्न थाल्छन् तब डुब्छन् तिनै डाँडा खोला, तिनै डेउडा गीतका शब्द र भाकाको यादमा। त्यही कुरा मनन् गरेर सुनाउँछन् उनी –
छुटे मेरा आमा बुवा छुट्टि मेरी प्यारी
विरानो ठाउँ नौलो मान्छे दिन काटुँ म क्यारी

प्रकाशित मिति: : 2021-10-30 21:49:00

प्रतिकृया दिनुहोस्

    मन छुने कुराहरु समेटिएको हुनाले धेरै धन्नेबात।सधै एस्तै सामग्री सुन्न अनि पढ्न पाइयोस।

    • 2 बर्ष अगाडि
    • Naunyal Dharm Dev