कतै बाटोमा 'टर्च लाइट'हरू टल्किरहेका थिए भने कतै गाउँ नै उज्यालो गर्ने गरी दनदन्ति बलिरहेको आँगोका लप्का देखिन्थे।
हिजो अर्थात् आश्विन १ गते रातको समयमा चारैतिरका गाउँको छेउछाउतिर देखिएको दृश्य थियो त्यो। त्यो दृश्यले सजिलै अनुमान गर्न सकिन्थ्यो सुदूरपश्चिमको बूढी पोल्ने पर्वका बारे।
सुदूरपश्चिम संस्कृति र पर्यटनका हिसाबले निकै नै समृद्ध क्षेत्रका रुपमा चिनिन्छ। बाह्रै महिनामा केही न केही चाडपर्व परेकै हुन्छन्। अक्सर ठूला पर्वहरू फुर्सदको समयमा तोकिएका छन्। कामकाजको चाप नभएका फुर्सदिला महिनाहरूमा मनोरञ्जनका लागि तय गरिएका हुनुपर्छ हाम्रा कैयौ चाड पर्वहरू। त्यो समय अहिलेको जस्तो थिएन समय बिताउनका लागि। अहिले मनोरञ्जनका साधनहरू धेरै नै भित्र्याइसक्यो प्रविधिले। एक्लै रमाउन र समय ब्यतित गर्ने गरिरहेका छन् अहिलेका मान्छेहरू।
पर्म, अैचोपैचोदेखि लिएर सामाजिक कार्यमा सरिक हुने खालका कैयौ कार्यहरू हुन्थे उतिबेला। हरेक क्षण जरुरत परिरहन्थ्यो छिमेकीको। त्यसैले त कहावत पनि बन्यो- जीउँदाको जन्ती, मरेको मलामी। अर्थात् बिहे गर्दा जन्ती जान र मर्दा मलामी बन्नसमेत छिमेकीकै जरुरत पर्दछ।
पछिल्लो समयमा भौतिकवादी दुनियाँमा पैसाको जरुरत देखिन्छ चारैतिर। पैसाले नै जन्ती र मलामी समेत जम्मा गर्न थाले मान्छेहरु। उहिले नैतिकताकता, स्वाभिमान र इमान्दारीका पाटा निकै मजबुत थिए। सामाजिक सद्भाव र भाइचारा उस्तै थियो। माानवीय संवेदनाको पक्ष निकै नै प्रवल थियो। हाम्रा पुर्खाहरू आफ्नै मूल्य मान्यताभित्र अभावमा पनि आनन्दको जिन्दगी बिताउँथे।
पुर्खाका पालामा हरेक महिनाका संक्रान्तिहरू एक प्रकारका पर्वजस्तै मानिन्थे। हरेक संक्रान्तिमा बिहान सबेरै उठेर नुहाएर बास उठाल्ने भन्थे। बास उठाल्नु भनेको तेलमा 'पक्वान' पकाउनु हो। यी पक्वानमा बढीजसो पुरी, सेल र चामलको पिठो मुछेर ध्यूमा पकाउँने गरिन्थ्यो। जसलाई शैया भनिन्छ। यसरी पकाएको पक्वान देवता र पितृको भाग छुट्याइसकेपछि मात्र खाने गरिन्थ्यो।
प्रायजसो भाद्र अन्तिमतिर फलिसकेका हुन्थे काक्रा। तर त्यो फल्ने क्रम सुरुवातिकै क्रम हुन्थ्यो। अहिलेको जस्तो आधुनिक पद्धति थिएन कृषि क्षेत्रमा पनि। त्यसैले गर्दा जसको बारीमा काक्रा फलेका छन्, त्यही चोर्न जान्थे केटाकेटीहरू ति नै स-साना काक्रा लगेर जाने चलन थियो बूढी पोल्न जादा। त्यो चलन आज पनि छ। फरक यत्ति हो हिजोआज काक्रा जुनसुकै मौसममा पनि पाइन्छन्। काक्राको अभाव छैन।
गाउँघरतिर अँगेनामा आगो सल्काउन होस् वा रातको समय बाहिर कतै निस्किदा होस्, दियालोको प्रयोग गरिन्थ्यो। थिएनन् अहिलेकाजस्ता टर्च लाइटहरू। आश्विन संक्रान्तिका दिन काँस, अम्रेसो, पुत्लेठी, खनयजस्ता पाँच प्रजातिका बिरुवा वा तिनका हाँगा काटेर ल्याउँछन् र चुल्ठी बनाउँछन्।
ती वनस्पति ठाउँ अनुसार केही फरक पनि छन्। सबै जिल्लामा सबै गाउँमा उस्तै खालका हुँदैनन्। यसरी बनाइएको चुल्ठीले गोठका उनाकुनामा झाडो लगाएझै गर्छन्। जसलाई बूढी लखेट्ने पनि भनिन्छ।
गोठबाट लखेट्ने बूढी भनेको रोगब्याध हो। झाडो लगाएका ती चुल्ठीमध्ये केही दोबाटोमा फाल्ने र केही बूढी बनाएको थुप्रोमा फालेर जलाउने गरिन्छ। यसरी झाडो लगाएपछि गाईबस्तुलाई रोग लाग्दैन भन्ने मान्यता सदियौंदेखि चल्दै आएको छ। पहिले त्यही घाँसले बेरेको राँको हात-हातमा लिएर निस्किन्थे बूढी पोल्न। अहिले राँको बोकेर जाने चलन हराउँदै गएको छ। राँकोका विकल्प टर्चलाइट बनेका छन्।
भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वका दिन स-सानो रुख वा रुखको ठूलो हाँगा काटेर वा बासको लिङ्गो बनाएर गाउँदेखि अलिपर दोबाटोको छेउमा वा अन्यत्र कतै गाड्ने चलन छ। लिङ्गोको वरिपरि स-सानो हाँगाबिगा र झारपात थुपार्ने गरिन्छ।
उक्त स्थान हरेक वर्ष एउटै हुन्छ। परिवर्तन हुँदैन। उक्त लिङ्गो ठड्याएको ठाउँमा प्रत्येक दिन गोठालाहरू रुखका हाँगा काट्दै थप्ने गर्ने गर्छन्। बढी जनसंख्या भएको गाउँको बूढीको अकृति निकै ठूलो र अग्लो देखिन्छ। यसरी एक महिनासम्म थुपार्दै जान्छन् रुखका हाँगाबिगा, पातपतिङ्गर र अन्य वनस्पति।
कथा भन्छ– द्वापर युगमा कंशले आफ्ना भन्जा भगवान् कृष्णलाई मार्न पुतना नामकी राक्षसनीलाई पठाएका थिए। राक्षसनी पुतनाले आफ्नो स्तनको टुप्पोमा बिषलेपन गरी भगवान् कृष्ण एक्लै भएको मौका छोपी मार्ने हेतुले दूध पिलाउन लाग्दा कृष्णले पुतनाको सारा दूध मात्र नभई अन्तमा रगत समेत चुसेपछि पुतनाले देहत्याग गरिन्। ति नै पुतनालाई जलाउन विजयोत्सव गरियो। यही खुसीयालीमा सुदूरपश्चिमका पहाडी जिलामा बूढी पोल्ने चलन चलेको जनविश्वास रहेको छ। कतैकतै यो पर्वलाई बुन्ढुनी पर्व पनि भनिन्छ।
साँझ अँध्यारो भैसकेपछि अर्थात आकाशमा तारा देखा परेपछि मात्र हातमा राँको लिएर निस्कन्छन् गाउँका केटाकेटी युवा-युवतीहरू र बूढीको आकृतिरुपी पुतला दहन गर्ने गर्दछन्, यसरी दहन गरीसकेपछि। पुरै जल्न नसकेको बीचको लिङ्गो उखालेर फाल्छन्।
यसरी लिङ्गो फाल्दा कसैले फलाना गाउँका मुखिया मेरो लुतो लैजा भनेर स्वरमा स्वर मिलाउँदै कराउँछन्। लुतो लैजान भनेर गाउँका ठूलाबडा मानिएका हैकमवादी प्रवृतिका ब्यक्तिलाई सम्बोधन गरिन्छ। यसरी भन्दा आफ्नो गाउँका ठालु हैकमवादीलाई नभनेर अर्को गाउँकालाई सम्बोधन गर्ने गरेको पाइन्छ। यसलाई मनन गर्दा आफ्नै गाउँकालाई भन्न त्यति सजिलो नभएपछि त्यो आक्रोश अर्कोतिर पोख्न थालिएको हुनुपर्छ।
उसो त एक गाउँका मान्छेले अर्का गाउँका प्रति आक्रोश ब्यक्त गरेजस्तो पनि देखिन्छ। गाउँका ठालुको अतिवादी शैलीको बिरोध पनि हो उक्त आवाज। फाना ठालु, मुखिया, डिठ्ठा...लुतो लैजाउ भनेर भन्नु थिचोमिचो अन्याय अत्याचार अर्थात् खराब कर्मको जिम्मा लेउ भन्न खोजिएको जस्तो पनि देखिन्छ।
तर, अपवादका रुपमा कुनै-कुनै गाउँमा फलानो गाउँको कामी मेरो लुतो लैजाऊ भनेको पनि सुनिन्छ। तर ती कामी जातीकालाई किन भन्न थाले, यो अध्ययन अनुसन्धानकै पाटो बनेको छ। बूढी पोल्दा पूर्णरुपले जल्न नसकेका वा जल्न बाँकी दाउरा घरमा लगेमा लुतो रोग लाग्छ भन्ने जनविश्वास पनि रहँदै आएको छ। बूढी पोलेको खरानी लगेर गाईलाई लगाउने चलन पनि छ।
समग्रमा भन्नु पर्दा हाम्रा चाडपर्वले दिने मूख्य शन्देससँगै मनोरञ्जनको पाटो निकै नै बलशाली देखिन्छ। बूढी पोल्ने दिन पनि बूढीको पुतला जलाइसकेपछि केही समय डेउडा खेल खेलेर मनोरञ्जन गर्छन्। घरमा मिष्ठान्न पक्वान पकाउँछन्। निकै नै उमङ्गका साथ हात-हातमा लगेको काक्रो बाडिचुँडी खाने गर्दछन्।
पौराणिक कथालाई नै अनुसरण गरेर तय गरिएका छन् हाम्रा केही चाडपर्वहरू। स्थानविशेष केही थपघट हुनु अर्कै कुरा हो। आसुरी प्रवृतिलाई दैवीय शक्तिले सिध्याउँछ र सत्यको नै विजय हुन्छ भन्ने आशयले बूढी पोल्ने पर्वको सुरुवात गरिएको कुरा सजिलै अनुमान गर्न सकिन्छ।
असलकर्मलाई प्रोत्साहन गर्ने हेतुले तय गरिएका हाम्रा संस्कृतिका पाटाहरूले जीवनमा खुसी उमङ्ग थप्नुका साथै केही नैतिकताको पाठ पनि सिक्न अभिप्रेरित गरेका छन्। तर त्यसैभित्र केही विकृति अथवा खराव पक्ष पनि नभएका हैनन्। ति विकृतिलाई हटाउदै संस्कृतिको जोगेर्ना गर्नु आवश्यक देखिन्छ।