अभावका गोरेटोमा हिँडाइरहने जिन्दगीले सम्भावनका हिमाल पनि देखाइरहेकै हुन्छ। तथापि, मान्छेले सोचेजस्तो त कहाँ हुन्थ्यो र जिन्दगी। चित्त बुझाउनुपर्ने हुन्छ कतिपय मोडमा। गायक मनोरथ खडायतले पनि चित्त बुझाए जीवनका कतिपय मोडहरूमा। र, सम्झिरहे विगतको समयरुपी पाठशालालाई।
‘ओ बैजु तमरा माइत आम पाके गल्गली’ उनको त्यति बेलाको निकै नै चर्चित गीत हो। उसो त पीपलपाते लै लै, साली भेट होला कि कैलै, देखि ओ जुनकिरी, ओ हजारी फुलिरेइ बारीमा, म घर कसरी आउलो तन्खा चालिसले जस्ता थुप्रै गीतहरूले चर्चा पाए। उनका कैयौं फ्यान र शुभचिन्तकहरूले आज पनि उत्तिकै खोजिगरिरहेका छन् ती गीतहरूको। तर, भेटाउन सकिरहेका छैनन्। न युट्युबमा भेटिन्छन्। न त कसैको मोबाइलमै। उनीसँग केवल पुराना क्यासेट मात्रै छन्। ती पनि बज्छन् कि बज्दैनन् चेक गरेका छैनन्। छोटो समयमा चर्चा कमाएर गायन क्षेत्र छोडेका उनको आवाज अहिले पनि उस्तै छ।
मनोरथ १३ वर्षको छदा आमा पार्वतीदेवीले क्षितिजपारिको यात्रा तय गरिन्। सुदूरपश्चिममा एउटा भनाइ नै छ, बुवा मर्दा आधी मुले(टुहुरो) आमा मर्दा पूरै मुले। गाउँघरतिर टुहुरो बालकलाई मुलेछोरो र बालिकालाई मुलाइछोर्नी भनेर हेरिन्थ्यो। मुलेछोरो र मुलाइछोर्नीको अर्थ हुन्छ टुहुरो र टुहुरी।
पाँच भाइमध्येका सबैभन्दा कान्छा हुन् उनी। दुई जना दाजु आमा छदै अलग भएर बस्न थालिसकेका थिए। आमा बितेको वर्षदिनपछि अरू दुई जनाले पनि आ-आफ्नो परिवार लिएर अलग बस्न थाले। सबैका अलग-अलग भान्सा बने। बुवा सर्पसिंहसँग उनले बस्नुपर्ने भनियो। खासै भन्नुपर्दा बस्ने ठाउँकै पनि अभाव थियो। त्यसैमा आर्थिक अवस्था निकै कमजोर। श्रीमती बिछोडको पीडाले भक्कानिरहेका बुवालाई प्रायजसो मनोरथकै चिन्ता भैरह्यो। एसएलसी उत्तीर्ण भैसकेपछि औपचारिक पढाइमा पूर्णबिराम लाग्न गयो। उनी जहाँ गयो उतै बास बस्न थाले। विरही जस्ता बनेर कहिले कता कहिले कता भौतारिन थाले।
विद्यालयमा हुने विभिन्न कार्यक्रममा सुरिलो स्वरमा डेउडा गीत गाएर सबैको मन जित्न सफल उनी खेलकुदतिर सक्रिय बने। एथलेटिक्समा अब्बल दर्जाका खेलाडीका रुपमा चिनिएका थिए। भलिबलमा पनि त्यतिकै राम्रा खेलाडी थिए। एथलेटिक्समा क्षेत्रीयसम्म खेले। त्यहाँ पनि निरन्तरता दिन सकेनन्। ४ वर्षसम्म लगातार तेकवन्दो खेले। टीकापुर, महेन्द्रनगर लगायतका केही स्थानमा प्रतियोगितामा समेत सामेल भए। तर, आखिरमा त्यो क्षेत्र पनि छोडिदिए।
दिपायलमा सेनाको जागिरका लागि भर्ना खुल्यो। उनले पनि फाराम भरे। लिखित मौखिक सबै खाले परीक्षामा छनौट भए। एक हप्तापछि तालिम सुरु हुने हुँदा घरबाट आफ्ना लुगा/कपडा ल्याएर आउनू भनियो। तर, उनले एकजोर लुगा किन्न समेत पैसा नपाएपछि छोड्नु पर्यो पाएको जागिर पनि। गहभरि आँसु टल्काउँदै बताउँछन् उनी, ‘बुवासँग पैसा थिएन, मात्र हौसला थियो र त्यही दिनु हुन्थ्यो। दाइहरूबाट सहयोग पाइनँ। खिन्न भएर बसेँ। अन्तत्वगत्वा गइनँ जागिर खान पनि। २०४८ सालपछि जता गयो उतै दिनरात बिताएँ। आमा सम्झी कैयौं पल रोइरह्यो मन।’
उनको मनमा गायक बन्ने भुतसवार भैरहेको थियो। अन्य क्षेत्रमा लामो समय कहाँ टिक्थे र। सानैदेखि गीतसङ्गीत भनेपछि हुरुक्क हुने खडायत आमालाई सम्झिँदै बताउँछन्, ‘गाउँघरतिर बिहे, जात्रा, पर्वपर्वादीमा मैले गीत गाएको सुनेपछि भित्रभित्रै खुसी हुने आमा कतै पढाइमा मन लगाउँदैन कि भन्ने डरले भन्नुहुन्थ्यो, ‘पढै जन, तत्तेमुणो गीत मात्तर गाइराख ( पढ्ने काम नगर केवल गीत मात्रै गाऊ )।’
छोराको स्वर सुनेर भित्रभित्रै दङ्ग पर्ने आमालाई आफ्ना क्यासेट सुनाउन नपाउँदाको पीडा थियो उनीभित्र। ममताको आँचल गुमाउँदाको गहिरो चोट थियो मनमा। ‘अरूकी आमाले आफ्ना छोराछोरीलाई गरेको माया देख्दा भक्कानिन्थ्यो मनको पाटो। मेरी पनि आमा छदै भएकी भए कस्तो हुन्थ्यो ठान्थेँ। आँगनमा एक्लै टोलाइरहेका बुवाको अवस्था देख्दा सम्हाल्न गाह्रो हुन्थ्यो मन। बाहिर आँसु नदेखाएर रोइरहेँ भित्रभित्रै,’ ती दिन सम्झिन्छन् उनी।
त्यसैले पनि उनी जता गयो त्यतै बास बसिदिन्थे। वन/जङ्गलतिर जाँदा बाँसुरीमा डेउडा गीतका भाका सुसेल्नु। बास बसेको ठाउँमा डेउडाका शब्द कोर्नु, भाका गुनगुनाउनु र फकिरझैँ मदहोसी जिन्दगीका पलहरू व्यतित गर्नु उनको दिनचर्या नै बनिसकेको थियो।
विद्यालयमा भैरहने कार्यक्रम होस् वा मेलापर्वहरूमा गीत गाउँदा नै किन नहोस् सबैबाट पाएको हौसलाले मनमा प्रश्न उब्जाउँथ्यो रे,‘म कहिले क्यासेट निकाल्न सकुँला ? अरूजस्तो गायक कहिले बन्न सकुँला।’ उनलाई गायक बन्न प्रेरित गर्नेमा अग्रजको हौसलासँगै बेलाबखत मनमा उब्जिने ती प्रश्नहरू पनि थिए। यसै क्रममा अधिवक्ता तथा साहित्यकार भेषराज पन्तले नजिकबाट साथ सहयोग र हौसला दिएपछि २०५३ सालमा २६ वर्षको उमेरमा उनी गीत रेकर्डिङ गर्न काठमाडौं पुगे। रीमा रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गरी बजारमा ल्याए ‘पिपलपाते लै लै’ नामक एल्बम।
उता आफूलाई बिँडी चुरोट किनिदिनेदेखि इच्छाअनुसारको खानेकुरा ल्याइदिने छोरो धेरै दिनसम्म घरमा नआउँदा चिन्तित बनेका थिए रे बुवा। घर फर्किएपछि मनोरथलाई अरूले सुनाउँथे रे, तेरा बा रुन्नाथे (रुँदै थिए) भनेर। छोरो गीत गाएर कहाँ-कहाँ जान थाल्यो। यो काम लाग्ने हैन। बैरागी भैसक्यो भन्ने तर्कना आइरहन्थ्यो रे बुवाको मनमा। मनभरि संवेदनाका धर्सा बोकेर यायावर बनेका उनलाई बुवाको अवस्थाले झन आमाको याद दिलाउँथ्यो र रसाउन थाल्थे परेलीका डिलहरू।
उसो त आँसुसँगै बिर्सिन नसक्ने खुसी पनि दिएर गयो जिन्दगीले। रीमा रेकर्डिङ स्टुडियोबाट पहिलो क्यासेट रेकर्ड गरेर पाँच सय प्रतिबजारमा पठाउँदाको खुसीको पल सम्झिदै बताउँछन् उनी,‘त्यो बेलाको जस्तो खुसी त जीवनमा कहिल्यै आएन। गायक अन्तराम विष्टलाई महेन्द्रनगर कटानमा भेट्न जाँदा आनन्द होटलको टपमा ‘पिपलपाते लै लै, साली भेट होला कि कैलै’ बोलको गीत बजिरहेको थियो। एकछिन बाटोमा उभिएर सुनिरहेँ। खुसी व्यक्त गर्न सक्ने शब्द नै थिएनन्। अरूका घरमा कहिल्यै मेरा पनि क्यासेट बज्ने दिन आउलान कि भन्ने मनभित्र गढेको प्रश्नले उत्तर पायो। त्यसपछि क्रमशः दोबाटो, कमला र सुसेली नामक एल्बम ल्याउन सफल भएँ।’
एक समय थियो, जतिबेला साथमा एक/दुई जना साथी लगेर काँधमा टेप रेकर्डर बोकी गाउँ-गाउँ डुल्थे उनी। हिङ, शिलाजित बेच्न गाउँ डुल्ने व्यापारीझैँ झोलाभरि क्यासेट बोकेर उनी निकै डुले– बझाङ्ग, बैतडी र डडेल्धुराका गाउँबस्ती र मेलापर्वमा। बम्बैको लाहुरेझैं टेपरेकर्ड बजाइ गाउँ छिर्नुको एउटै उद्देश्य हुन्थ्यो, आफ्ना क्यासेट बिक्री गर्नु। त्यतिबेला डेउडा गीतका क्यासेट शिवाय अर्थोक थिएन उनीसँग।
क्यासेट निकालेपछि दिनचर्या अलि सहज हुन गएछ। इष्टमित्र, साथीसंगीदेखि अन्य पनि नजिक भई नाता लगाउन थाले छन्। त्यतिबेलै थाहा पाएछन् उनले सम्पत्तिमा सबै आफ्ना हुँदारहेछन् तर विपत्तिमा कोही आफ्नो हुँदो रहेनछ भन्ने कुरा। अनि सोच्न थालेछन्, संघर्ष जति गर्न सक्यो त्यति नै सफलताको मार्ग भेटाउन सकिँदोहरेछ। दुश्मन पनि आफ्नो बन्दो रहेछ भनेर।
मेहनत र संघर्षका साथ गायन क्षेत्रमा चर्चा कमाइरहेका बेला २०५६ सालमा एकाएक गायन क्षेत्र छोड्नुको कारण बताउँछन् उनी, ‘एकमुष्ठ पैसा आउँदैनथ्यो। एनकेन प्रकारले गीत रेकर्ड गरे पनि आफैं क्यासेट डबिङ गर्न निकै खर्चिलो हुन्थ्यो। नयाँ गायक भएको हुँदा बजारमा चल्ने हो कि हैन ठानेर कम्पनीवालाले लगानी गर्न आनाकानी गर्थे। गायक अन्तराम विष्टले महेन्द्रनगरमा पुष्पाञ्जली क्यासेट सेन्टर खोलेर डबिङ गर्न सुरु गरेपछि काठमाडौंभन्दा सस्तोमा क्यासेट तयार त हुन थाले तर बजारमा भारतमा गएर डबिङ गरेर डुब्लिकेट क्यासेट ल्याई बिक्री गर्ने माफियाहरू मौलाउन थाले। गौरीफन्टा नाकामा एकै पटक दुई हजार क्यासेट पक्रेँ। चौतर्फी डुब्लिकेट क्यासेट बिक्न थालेपछि कलाकार मर्ने नै भयो। अन्य व्यवसाय नअपनाइ गुजरा चलाउन गाह्रो हुँदा गायन क्षेत्र छोडेर व्यवसायमा हात हालेँ।’
उनले ऋण निकालेर डडेल्धुरा बजारमा सुरु गरे, कोनिका फोटो स्टुडियो। गाउन छोडे पनि मनले कहाँ सक्दो हो र त्यो क्षेत्रकै माया मार्न त। फोटो स्टुडियोमा आफ्ना र अरूका क्यासेट राखी बिक्री गर्नथाले उनी। भारतबाट डेक मगाएर ठुलो साउन्डमा गीत बजाएर पनि मान्छेलाई आकर्षित गरिरहे। जुन चित्त बुझाउने उपाय पनि थियो। यही उपायले पसलको प्रचारप्रसार हुन गयो। उनी व्यापारमा जम्दै गए। २०५७ सालमा शारदा रावलसँग विवाह हुन गयो। श्रीमतीले गायन क्षेत्र नछोड्न बताएको कुरा सम्झिदै सुनाउछन्, ‘एकातिर ऋण निकालेर सुरु गरेको पसल थियो। अर्कोतिर डेराको जिन्दगी थियो। बृद्ध बुवा, श्रीमती र पसल छोडेर गायन क्षेत्रमा फर्किने आँट गर्न सकिनँ।’
विवाह पश्चात श्रीमती शारदाले गैरसरकारी संस्थामा जागिर पाइन्। दुबै जना आ-आफ्नो काममा व्यस्त हुन थाले। तर, दुबैलाई थाहा थियो गायन क्षेत्र नै हो परिचय दिने भनेर। गायनमा निरन्तरता भैदिए हुन्थ्यो भन्ने हेतुले कहिलेकाहीँ हार्मोनियम बजाउन लगाउने गरेको कुरा स्मरण गर्दै बताउँछिन् शारदा,‘मलाई नि सिक्न मन छ भन्दै बजाउन लगाउँथे। कहिलेकाहीँ मनलाग्दा बजाउनुहुन्थ्यो। पछि भैहाल्यो तिम्रो आफ्नै काम छ। मेरो आफ्नै काम छ। छोडिदिउँ यो सबै भनेर बाजा छुनै छोडिदिनु भयो। त्यो हार्मोनियम, बाँसुरी र केही क्यासेटहरू छदैछन्। जतनले राखेकी छु। पछिल्लो समयमा छोराछोरीले पनि आग्रह गरिरहन्छन् नयाँ गीत गाउन र पुरानालाई भिजिओल गरी युट्युबमा राख्न। अझैँ केही बिग्रेको थिएन। गीत गाउन सुरु गरिदिए हुन्थ्यो।’
उनले व्यापारबाट राम्रै आर्थिक प्रगति गरे। डेराको जिन्दगीबाट डडेल्धुरा बजारस्थित तीनतले घरको मालिक बने। छोराछोरी काठमाडौंका राम्रै कलेजमा पढाइरहेका छन्। चार वर्ष मात्रै भयो बुवाले आमा गएको मार्ग चुनेको। बृद्ध भैसकेका बुवाको लामो समय सेवा गर्ने मौका पाए। २०७४ को स्थानीय निर्वाचनमा अमरगढी नगरपालिका वडा नं. २ को वडा अध्यक्षमा समेत निर्वाचित भएर चार वर्ष राम्रै काम देखाए। खडायतका अनुसार यी सबै कुराको आधार गीतसङ्गीत नै थियो।
गायक भएकाले नै उनको अधिकांशसँग परिचय हुन गयो। पसलमा क्यासेट घन्काएर ग्राहकलाई आकर्षित गरेरै व्यापार फस्टायो। उनको स्वर निकै मनपर्छ श्रीमती शारदालाई। दुई जनाबीच चखेवा चखेवीकोझैँ उस्तै प्रेम छ। तथापि, यतिखेर उनी ठम्याउन सकिरहेका छैनन्। आफू पछि परे कि अघि बढे भनेर। जीवनमा सबै कुरा बिर्सिए पनि साङ्गीतिक क्षेत्र बिर्सिन नसकिने कुरा बताइरहने मनोरथको मनको धोको पूरा हुन सकेको छैन। त्यो धोको भनेकै पुनः गायन क्षेत्रमा फर्किनु हो। आशा गरौं, उनी चाँडै नै गायन क्षेत्रमा फर्किने छन्। चाँडै नै युट्युब च्यानल खोलेर श्रोताहरूलाई गीत सुनाउने छन् भनेर।