मोरङको उर्लाबारी नगरपालिकाले बहुप्रतिक्षित बक्राहा आर्यघाट निर्माण गर्न गैरसरकारी संस्था गठन गरी सोही संस्थालाई बुझाएपछि विवाद उत्कर्षमा पुगेको छ।
अघिल्ला मेयरले डिपीआर बनाएर साइड खाली गर्नेसम्मको काम सम्पन्न गरिसकेको आयोजना सादगी मेयर गङ्गाप्रसाद खरेलले विष्णु–गङ्गा बक्राहा घाट नामको संस्थालाई जिम्मा लगाएपछि खरेलका अरु कर्तुतहरू सार्वजनिक हुन थालेका छन्।
स्थानीय चुनावताका खरेलले विराटनगर बाहिरका पत्रकारहरूको साझा संस्था सञ्चार क्लब नेपाललाई निशुल्क कोठा दिइ जवरजस्ती उर्लाबारी परापेकार सेवा केन्द्रमा सार्न लगाएका थिए। पत्रकारहरूलाई निशुल्क कोठा दिएर गुन लगाएका मेयरले उक्त संस्था आफ्नो नीजि भएको शैलीमा उपलब्ध गराएका थिए। १४ वर्षदेखि निरन्तर अध्यक्ष हुँदै आएका खरेलले परोपकार संस्था आफ्नो प्रालिझैं सञ्चालन गरिरहेको खुलेको छ।
चालु आर्थिक वर्षको बजेटमा नगरपालिकाबाट परोपकार संस्थालाई ४ लाख रुपैयाँ उपलब्ध गराउने बचन दिएका खरेल यतिबेला संस्थासँग सम्पर्कविहीन भएका छन्। सयौं व्यक्तिसँग आजीवन सदस्यतावापत लाखौं रुपैयाँ सङ्कलन गरेका खरेलले ४ वर्षयता संस्थाको लेखा परीक्षण र साधारण सभासम्म बोलाएका छैनन्।
आफ्नो कोर टिमबीच मात्र छलफल गरेर संस्था सञ्चालन गर्दै आएका खरेल मेयर बनेको ५ महिना पछिदेखि त्यहाँ काम गर्ने एक जना महिलाले पारिश्रमिक पाएकी छैनन्। दैनिक सरसफाइ र त्यहाँ दिउँसो आउने आमाहरूलाई जलपान गराउने जिम्मेवारी पाएकी महिलाले बारम्बार मेयरलाई फोन गर्दा समेत मेयरले फोन उठाउन छोडेका छन्। अचेल मेयरले मेरो मात्र संस्था होइन भन्दै झर्किन थालेको ती महिलाको भनाई छ।
गत फागुन १३ गते केन्द्रको कार्यालयमा लगाएको ताला फोरेर भित्रको दराज समेत तोडफोड भयो। त्यहाँका महत्वपूर्ण कागजात हराएको बजारमा हल्ला भयो। तर, नगर प्रमुख जस्तो जिम्मेवार व्यक्ति अध्यक्ष रहेको संस्था तोडफोड भएको जानकारी उर्लाबारी प्रहरीले सम्म थाहा पाएन। उक्त घटना गुपचुप राख्न संस्थाका अध्यक्ष खरेल, सचिव राजु बुढाथोकीलगायतले प्रहरीसँग सेटिङ गरेको स्थानीयहरू बताउँछन्।
नगर प्रमुख खरेल त्यसबेला बंगलादेश भ्रमणमा थिए। फर्केर आएपछि खरेलले अनुसन्धानका लागि उजुरी गर्छन् भन्ने धेरैले अनुमान लगाएका थिए। तर घटना भएको डेढ महिना बितिसक्दा पनि अझै न प्रहरीमाझ उजुरी परेको छ, न घटनाको अनुसन्धान भएको छ।
१४ वर्षदेखि लगातार अध्यक्ष बनेका खरेलले नगर प्रमुखको कार्यभार सम्हालेका ११ महिना बित्यो। ११ महिनाको अवधिमा खरेलले संस्थाको बैठक एक पटक पनि बोलाएका छैनन्। नयाँ संघीय संरचनाअनुसार अहिले संस्था उर्लाबारी ७ मा पर्छ। यद्यपि उर्लाबारी ४ लेखिएको मुख्य ढोकाको बोर्ड सच्याउन कुनै सञ्चालकलाई फुर्सद छैन।
समाचार स्रोत भन्छ, पछिल्लो पटक सय बढीले आजीवन सदस्यता लिएका छन्। उक्त रकमको अवस्था के छ, खोज खबर छैन?' एक जना आजीवन सदस्यले भने, 'म आजीवन सदस्य हुँ तर मेरो नाम शिलालेखमा आएको छैन।' आजीवन सदस्यतावापत प्राप्त रकम खरेलले चुनावमा खर्चेको हुनसक्ने स्थानीयको भनाई छ।
उदेश्य पवित्र भएर मात्र हुन्न। जेष्ठ नागरिकलाई घरमा दिनभर बस्दा गाह्रो हुन्छ, त्यसैले समूहमा भेला भई सेवा केन्द्र आउने र दिनभर भगवान भक्तिमा लिन हुने उदेश्यले संस्था स्थापना भएको थियो। उदेश्यअनुसार जेष्ठ नागरिकको उल्लेख्य उपस्थिति हुने गरेको छ। दिनभर संस्थामा आउने र भजनकिर्तन गर्ने आमाहरू भन्छन्, 'कहिले पानीको लाइन काटिन्छ, कहिले बत्ती आउँदैन। संस्थाका अध्यक्षलाई पटक पटक भन्यौं , उहाँले म एक्लै केही गर्न सक्दिनँ भनेर जवाफ दिएपछि हामी निरास भएका छौं।'