नयाँ वर्ष मनाइरहेका बेला वर्षमान पुनकी आमामाथि गाेली चल्याे

फाेटाेसप गरिएकाे तस्बिर
फाेटाेसप गरिएकाे तस्बिर

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ। वर्षमानका दाइको गैरीधारस्थित घरमा शुक्रबार राति करिब ११ बजेतिर गाेली चलेको प्रहरीले जानकारी दिएको छ।

कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिरहने प्रहरी हवल्दार प्रकाश पुनले चलाएको गोली ७० वर्षीया आमा तीर्थमाली पुनलाई लागेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी पोषराज पोखरेलले जानकारी दिए।

उनका अनुसार प्रकाश नयाँ वर्ष मनाउन त्यहाँ गएका थिए। नयाँ वर्षको रम्झम चलिरहेका बेला प्रकाशले बोकेको पेस्तोल फड्किएर आमाको खुट्टाको औँलामा गोली लागेको छ। त्यसक्रममा घाइते भएकी आमालाई राति नै उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।

‘त्यही राति ११ बजेतिर पेस्तोल पड्किएको भन्ने जानकारी आएको छ। त्यसक्रममा आमाको खुट्टाको औँलामा गोली लागेको छ,’ प्रवक्ता पोखरेलले भने,‘पेस्तोल नियतवश चलाएको जस्तो देखिँदैन।’

पोखरेलका अनुसार गोली चलेपछि प्रकाश त्यहाँबाट भागेका थिए। उनले शनिबार बिहान प्रहरीमा आत्मसमर्पण गरेका हुन्। उनलाई अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालयमा राखिएको छ।

प्रहरीले घटनास्थलबाट चिनियाँ पेस्तोल बरामद गरेको छ।

प्रकाशित मिति: : 2023-04-15 09:26:00

प्रतिकृया दिनुहोस्