अपडेटः मोरङमा एसईईका नक्कली परीक्षार्थीको संख्या दुई सय पुग्यो

Symbolic photo
Symbolic photo

मोरङमा दुई दिनको अवधिमा एसईई परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका दुई सय जना पक्राउ परेका छन्।

जिल्लाका तीन परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी बनेर अर्काको नामको परीक्षा दिने दुई सय जनालाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार सबैभन्दा बढी सार्वजनिक मावि केराबारीबाट १२७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

यस्तै सरस्वती मावि ग्रामथानबाट ५२ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन्। पक्राउ परेका परीक्षार्थीहरुको विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने उपरीक्षक पोखरेलले बताए।

बुधबार मोरङको ग्रामथान गाउँपालिका– २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेपछि प्रशासनले अनुगमन बढाएको थियो। बुधबार अनिवार्य विज्ञान विषयको परीक्षामा अर्काको नाममा एसईई दिने २८ वर्षीया सुस्मिता लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2023-04-06 11:38:00

प्रतिकृया दिनुहोस्