मजदुरीका लागी भारत गएका एक नेपाली ४ महिनादेखि बेपत्ता भएका छन्।
गत मंसिरमा रोजगारीका लागि भारत गएका राप्तीसोनारी ८ बाँकेका धन बहादुर कुसारी भारतको हिमान्चल प्रदेशको सिम्ला जिल्ला कोटखाइबाट बेपत्ता भएका हुन्।
कोटखाइ स्थित बागी भन्ने ठाउँबाट बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। बागीमा मजदुरी गरिरहेका कुसारी फागुन १२ गते घर जान्छु भनि फर्किएको तर त्यसपछि परिवारको सम्पर्कमा नआएको उनकी श्रीमती खैरे कुसारीले बताइन्।
‘हामीले भारतमा पुगेर थुप्रै ठाउँमा खोजी गर्याैँ, कुनै पत्तो लगाउन सकिएन अहिले हामी पिडामा छौँ।’ उनले भनिन्। सामान्य आर्थिक अवस्था भएको कुसारीको परिवारले उनको खोजीमा धेरै खर्च गरिसकेको छ।
यसअघि भारतमा मजदुरीका लागी जाने गरेका ६१ वर्षीय कुसारी यसपटक एक्लै घर फर्किन्छु भनि हेडेका थिए। उनी बागीबाट गाडी चढेर कुन स्थानमा पुगे या पुगेनन् भन्ने समेत टुंगो लाग्न सकेको छैन।
कुसारीको परिवारले माइती नेपाल नेपालगन्जमा पनि घटना बारे जानकारी गराएका छन्। माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले कुसारी हराएको जानकारी प्राप्त भएको र खोजीका लागी भारती प्रहरीसंग समन्वय गरिएको जानकारी दिए।
भारतमा कतै फेला पारेमा नेपाल स्थित मोबाइल नं 9749898230, 9864929841 वा माइती नेपालमा सम्पर्क गरिदिनुहुन कुसारीको परिवारले आग्रह गरेको छ।