मिटरव्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले तत्काल मिटरव्याज पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ। महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग गरेको हो। 

मिटरव्याजको कारोबार गर्ने गरिब तथा किसानमारा सुद्खोरलाई कडाभन्दा कडा कारबाही गर्न समेत माग गरिएको छ। 

महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले साँवा रकम बराबर ऋण भुक्तान गरेका सबै ऋणीको ऋण पूर्णरूपमा मिनाहा गर्न माग गरेका छन्। उनीहरूको ऋणको लिखत कागजलाई अवैधानिक घोषणा गरी बदर गर्नसमेत महासङ्घले आग्रह गरेको छ। 

ऋण उठाउने नाममा ऋणीलाई भौतिक यातना वा यातनाको धम्की दिने, परिवारका सदस्यलाई समेत असुरक्षित महसुस गराउने र मानसिक यातना दिने सबै मिटरव्याजलाई अविलम्ब गिरफ्तार गरी कडा कारबाही गर्न महासङ्घको माग छ। महाङ्घले मिटरव्याज पीडितसँगको वार्ता र घटनाको छानबिनलाई तीव्रता दिन र पीडितलाई न्याय प्रदान गर्न माग गरेको छ। 

प्रकाशित मिति: : 2023-03-29 19:58:00

प्रतिकृया दिनुहोस्