एकमहिने सरसफाइ अभियानको सुरु

धनकुटा नगरलालिकाले नगर क्षेत्रको सरसफाइमा कडाइ गर्दै कारबाहीमा उत्रने तयारीमा लागेको छ। 

नगरपालिकाले आम नागरिकलाई सचेत गराउन चेतावनी तथा प्रचारका स्वरुप एकमहिने सरसफाइ अभियानको सुरु गरेको छ।

अभियान सकिएपछि नगर क्षेत्रमा फोहर गर्नेलाई रू पाँचदेखि ५० हजारसम्म जरिवाना गरिने नगरका वातावरण अधिकृत उपेन्द्र खनालले जानकारी दिए।

यातायातबाट आवतजावत गर्ने र केही नगरवासीले अटेर गरेकाले यो अभियान सुरु गर्नपरेको खनालले जानकारी दिए।

'कानुनमा भएको व्यवस्था लागू गरेरै छाड्छौँ', खनालले भने। नगरप्रमुख चिन्तन तामाङको नेतृत्वमा आजबाट सुरु भएको अभियानमा नगरमा रहेका सुरक्षा निकाय तथा विभिन्न सङ्घसंस्थाले ऐक्यबद्धता जनाउँदै कार्यक्रममा सहभागिता जनाएका छन्।

‘धनकुटा नगर, स्वच्छ, सुन्दर, समुन्नत नगर’ भन्ने नाराका साथ विसं २०६६ मा रू पाँच करोड लगानीमा फोहरमैला व्यवस्थापन केन्द्र बनेपछि धनकुटा नगरपालिका प्रदेश र जिल्लामा नै सरसफाइमा अब्बल मानिन्छ। 

फोहर सङ्कलन केन्द्रको व्यवस्थापन, आम्दानी र त्यहाँ निर्मित सुन्दर फूलबारी हेर्न वार्षिक देशभरिबाट अवलोकन भ्रमण आउने नगरपालिकाको भनाइ छ।

नगरलाई सफा र सुन्दर बनाउन एकमहिने अभियान सकिएपछि वैशाखदेखि फोहर गर्नेलाई कारबाही गरिने अधिकृत खनालले जानकारी दिए। 

विसं २०७४ मा सरकारले देशभरको सबैभन्दा सफा सहरका रूपमा धनकुटा नगरलाई रू १० लाख नगदसहित पुरस्कृत गरेको थियो।

धनकुटा नगरले हालसम्म नगरलाई सफा राख्न नगर क्षेत्रका दुई हजार छ सय घरधुरीलाई फोहर फाल्ने डस्टबिन वितरण गरेको छ।

नगरका सार्वजनिक स्थानमा पनि नौ सय ५० वटा डस्टबिन राखेर फोहर सङ्कलन गरी फोहरमैला व्यवस्थापन केन्द्रमा लगेर फोहर व्यवस्थापन गर्ने गरिएको छ। 

प्रकाशित मिति: : 2023-03-18 21:03:00

प्रतिकृया दिनुहोस्