रामसहाय यादवले बुझाए आफूविरुद्ध परेको उजुरीको जवाफ 

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले आफूविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीको जवाफ पेस गरेका छन्।

उनले आइतबार बिहान नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीको जवाफ पेस गरेका हुन्।

जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदकाे उम्मेदवार बनेका यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको दाबी गर्दै नेकपा एमालेले शनिबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पेस गरेकाे थियाे।

आगामी चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। नौ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार शनिबार यादवको उम्मेदवारी दर्ता गरिएको थियाे। आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नाम प्रकाशन हुँदैछ।

उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ। 

प्रकाशित मिति: : 2023-03-12 11:30:00

प्रतिकृया दिनुहोस्