नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादीले जसकोविरुद्ध युद्ध सुरु गर्यो अहिले त्यसैलाई प्रधानमन्त्री बनाउन हिँडेको बताएका छन्।
माओवादीद्वारा हत्या गरिएका एमाले नेता यदुकुमार गौतमको २४औँ स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित यदु स्मृति दिवस तथा यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले माओवादीलाई जसले दमन गर्यो अहिले त्यसैलाई काँध थाप्दै हिँडेको बताए। पोखरेलले देश र जनताको पक्षमा उभिँदा एमाले चौतर्फी घेराबन्दी र आक्रमणमा परेको बताए।
माओवादीले आफ्ना नीति, कार्यक्रम र एजेण्डा सबै बिसाएको उनले टिप्पणी गरे। माअोवादी अध्यक्ष पुष्पकमल दाहाल व्यक्तिगत स्वार्थका लागि दौडिएको पोखरेलले प्रष्ट परे। माओवादी पतनको बाटोमा लागेको उनले टिप्पणी गरे। ‘माओवादी पतनमुखी यात्राको बाटोमा अगाडि बढेको छ’, उनले भने।
एमाले रुकुमका तत्कालीन पार्टी सचिव गौतमलाई २०५५ फागुन २१ गते माओवादीले हत्या गरेका थिए। उनको स्मृतिमा यदु स्मृति प्रतिष्ठान रुकुमले काठमाडौंको थापागाउँमा आइतबार स्मृति दिवस कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा २१औँ यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार लोकबहादुर चौधरीलाई प्रदान गरिएको छ। शान्ति स्थापना, मानव अधिकार परिपालना तथा दण्डहीनताको अन्त्यमा पत्रकार चौधरीले गरेको योगदानको कदर स्वरूप पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
भिडियो: