एउटा सोझो मानिसले धेरै परेवारहरू बसेको देखेर सोध्यो- ‘मलाई परेवा मार्ने तरिका भन्दिनुहोस्।’ ‘आँखामा छारो हाले त ह्वात्तै मरिहाल्छन् नि’ उसले सुझायो। ‘त्यो छारो भनेको के हो? र कसो गरी हाल्छन् त्यो?’ उसले फेरि सोध्यो ‘ओहो कस्तो कुरा नबुझेको अनाडी हौ, ओजेलामा मसिनो माटो लिएर आफ्ना आँखामा हाल्नुस् त ती सबैपरेवा मर्छन्’ अर्कोले उत्तर दियो। त्यो सोध्ने मानिसले मसिनो माटो खोज्न थाल्यो।
हाम्रो देशको राजनीति पनि यस्तै परिकारको छ। हाम्रा नेताहरूलाई विदेशी सल्लाहकारले त्यही उक्ति दिन्छन् र नेताहरू त्यसैमा रम्छन्। हामी जनताले फेरि 'तिम्रो कान त छैन, कौवाले लग्यो कि?' भनियाे भने हामी आफ्नो कान छाम्नेतिर लाग्दैनौँ, बरू कौवाको पछि लाग्न कत्ति ढिला गर्दैनौं।
यसरी हेर्ने हाे भने हामीलाई लडाएर अरूले राज गर्छन्। कुनै राजनीतिक पार्टीले क्रान्तिकारी बाटो राेजेको छ भने त्यो पार्टीलाई कसरी बद्नाम गर्ने भन्ने योजनामा बाह्य शक्ति तयार गर्छ। त्यहाँ कुनै न कुनै पार्टी सामेल हुन्छ। देश र आफ्नै बारेमा पनि सकारात्मक सोच, विविक छैन।
हामीले काम गर्न जान्दैनौँ। तर हामीलाई काम गराउने तरिका विदेशीहरूलाई थाहा छ। 'गोरखालीहरू कति वीर हुन्छन्' भनेर एक पटक हाम्रो सह्राना गर्यो मालिकले भने हामीले त्यसको लागि आफ्नो प्राण नै दिन्छौँ। त्यसैको फाइदा उठाएर छिमेकीले आफ्नो देशको विकासमा हामीहरूलाई खटायो। जोखिमपूर्ण काम हामीले थोरै पैसामा सफलता पूर्वक फत्ते पारेर उनीहरूको देश आज कहाँबाट कहाँ पुगिसक्यो तर हामी झन् पछि झन् कङ्गाल हुँदैछौँ।
एकजना आर्मीलाई लडाइँमा पठाउने बेला पनि त्यहीँ झट्का दिइन्छ। गाेर्खाली वीर हुन्छन्, उनीहरूले आफ्नो प्राण दिन्छन् तर कायर बनेर पछि हट्दैनन्। त्यही पाठले हामी सधैँ उनीहरूको लागि बलि चढ्छौँ। आज घर-घरमा राजनीति पार्टी छन्, उस्तै उनीहरूका कार्यकर्ता बनेर आपसमा लडेका छन्। राम्रो के हो? नराम्रो के हो? त्यसबारेमा कुनै ज्ञान छैन। मालिकको आदेश पाए बैंक लुट्छन्, निर्दोष व्यक्तिलाई मार्छन्। उनीहरूले एउटा ‘अन्धभक्त’ को भूमिका निर्वाह गरेका हुन्छन्।
उनकाे नेताले चाहे विदेशको ‘दलाली’ किन नगरोस्, ऐयासी किन नगरोस्। देशको राजनीतिक गतिविधि यस्तै हुन थालेको छ। कुनै नैतिकता छैन, कुनै भिजन छैन र दुरदर्शीता पनि छैन, तर पनि उनलाई जनताले पाल्न बाध्य भएका छन्।
२१औँ शताब्दीका जनताहरू रोग निको पार्न झाँक्रीको सहारा लिन्छन् र ढुक्क पर्छन्। आजको वैज्ञानिक युगमा संसारका मानिस कहाँ पुगे तर हामीहरू बोक्सी र झाँक्रीमा उल्झिएका हुन्छौँ। आफूलाई भौतिकवादी क्रान्तिकारी कम्युनिष्ट भन्नेहरूले मन्द बाणीमा 'केही त छ' भन्छन्। हाम्रो समाजले नै सहि कुरा पचाउन सक्दैन।
यहाँ कुलकुलानीलाई बलि दिन्छन्, कसैका कुलले मासु खान्छन्, कसैकाले रक्सी र मासु खान्छन्। कोही बिमारी भयो बलि चढाएर निको गराउन खोज्छन्। यस्तो कुसंस्कार बोकेको हाम्रो समाज छ।
हाम्रो समाजले जिउँदा मानिसलाई अपहेलित गर्छ, पेटभरी ढिँडो र आटो खान दिँदैन, औषधि उपचार गर्दैन तर मरेपछि शवलाई खिर पकाएर दिन्छ, घ्यू मुखमा राख्दिन्छ। जिउँदाको सम्पत्ति खोस्छन्, मरेपछि उनैको नाममा दान पुन्य गर्छन्। जमिन, सुन, गाइ, खाट-विस्तरा, लुगा,जस्ता कुराहरू दान गरिन्छ।
जिवित छँदा नर्कमा राखेर मरेपछि स्वर्गमा पठाउन विभिन्न तिक्डम गरिन्छ। शान्तिको कामना गर्छन्। वाह! हाम्रो समाज कस्तो बिडम्वना हो।मरेकालाई बैकुण्ठ नगरमा बास होस् भनेर कामना मात्र होइन, पूर्ण विश्वाससमेत गर्छन्।
विदेशमा गएर अर्काको चुलो-चौको गरी पसिना बगाएर ल्याएको धन यिनै पुरोहितहरूले खोसेका हुन्छन्। कति ठुलो समस्या छ हाम्रो बीचमा तर पनि हामीले बुझ्दैनौं। हाम्रो समाज जिउँदा मानिससँग कहिल्यै डराएन तर मरेकासँग डराउँछन्।
यसैको फाइदा समाजमा भएका केही मौका प्रस्तहरूले उठाएका हुन्छन्। हिजो पनि त्यस्तै थियो, आज पनि त्यस्तै छ। अनि भन्छौँ विभिन्न राजनीतिक पार्टीहरूमा पनि बुद्धिजीवी छन्। यस्तै व्यक्तिलाई बुद्धिजीवी भनेर असली बुद्धिजीवीलाई बद्नाम गर्ने प्रयास भएको छ।
अहिले पनि याे समाजमा जातीय विभेद कायमै छ। एकले अर्कालाई गर्ने व्यवहार फरक छ। एउटै सन्तानबीच पनि फाटाे छ। यस्ताे गलत कार्यका विरूद्ध लड्न जरूरी छ। आउ तिमी र म लडौं अनि हाम्रो देशमा आमूल परिवर्तन हुन्छ। क्रान्ति हुन्छ, तिमी पनि मर्छौ र म पनि मर्छु। मर्नु र मार्नु नै क्रान्ति हो भने त्यही गरौँ, जो गर्दै पनि आएका छौँ।