लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार भएको हप्तादिनमै मन्त्री हेरफेरकाे तयारी

File Photo
File Photo

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको हप्तादिनमै मन्त्री हेरफेरको तयारी भएको छ। जनता समादवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएपछि मन्त्री हेरफेरको तयारी गरिएको हो।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले मन्त्री हेरफेरको तयारी भएको जानकारी दिए। उनले भने, ‘जसपा एक–दुई दिनमै सरकारमा सहभागी हुँदैछ, जसपा सरकारमा सहभागी भए मन्त्री पनि हेरफेर हुन्छ।’

मुख्यमन्त्री स्रोतका अनुसार जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर मन्त्री बन्दैछन्। उनलाई कुन मन्त्रालय दिने भन्ने टुंगो नलागे पनि कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने तयारी भएको बताइएको छ।

एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्री भएका तुलसीराम शर्मालाई के जिम्मेवारी दिने भन्ने टुंगो लागेको छैन।

प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुख्यमन्त्री नियुक्त भएको महिना दिनपछि माघ २८ गते मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए। ७ जनालाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका गिरीले हप्तादिनमा मन्त्री हेरफेरको तयारी गरेका हुन्।

यसअघि मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित एमालेले पाँच मन्त्रालय राखेको थियो। जसअनुसार, एमालेका चेतनारायण आचार्य खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्री बनेका थिए। यस्तै विष्णुप्रसाद पन्थी स्वास्थमन्त्री, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण मन्त्री र तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका थिए।

माओवादी केन्द्रबाट प्रदेशसभाका संसदीय दलका नेतासमेत रहेका जोखबहादुर महरा आर्थिक मामिला मन्त्री, इन्द्रजीत थारू भौतिक पूर्वाधार विकास मन्त्री र कृष्णा केसी नमुना आन्तरिक मामिला तथा सहकारी  मन्त्री र राप्रपाबाट जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री र जनमत पार्टीबाट चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा छन्।

अब जसपा सरमा सहभागी भए पाँच दल पुग्नेछ। माघ २८ गते मन्त्रिपरिषद् विस्तार गर्दा सरकारलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति, जसपा, लोसपा र नेकपा एकीकृत भने सरकारमा सहभागी भएको थिएन।

लुम्बिनी प्रदेशसभामा १० दल छन्। जसमध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। गिरीले माघ ५ मा ५९ सांसदको विश्वासको मत पाएका थिए।

प्रदेशमा एमाले सबैभन्दा ठुलो दल हो। जसका २९ सांसद छन्, त्यस्तै सत्तापक्ष माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जनमत पार्टीका ३ र जसपाका ३ रहेका छन्।

त्यस्तै काँग्रेसका २७, लोकतान्त्रिक समाजवादी पार्टीका ३, जनमोर्चा र एकीकृत समाजवादीका १–१ सांसद रहनेछन्। लुम्बिनीमा ८७ सांसद छन्।

प्रकाशित मिति: : 2023-02-19 18:35:00

प्रतिकृया दिनुहोस्