यातायात मजदुर सङ्गठनले गरेको आन्दोलन स्थगित भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग मंगलबार सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको हो। मजदुरले आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात खुल्ने भएको छ।
मजदुर सङ्गठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो। यातायात मजदुर सङ्गठनले आज उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सम्मिलित वार्तापछि यस्तो समझदारी भएको उनका प्रेस विज्ञ कमल गिरीले जानकारी दिए।
ट्राफिक जरिवाना घटाउनु पर्नेसहित विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरले हिजो गोङ्गबु बसपार्क क्षेत्रमा आगजनी तथा तोडफोडसहित आन्दोलन गरेका थिए।