प्रचण्डलाई पाँच मन्त्रालयको भार : कहिले होला सरकार विस्तार ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग पाँच वटा मन्त्रालयको भार परेको छ।

उनीसँग गृहमन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको भार छ।

माघ ३ गते दोस्रो पटक सरकार विस्तार गर्दा प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी नभएका दलहरुलाई सहभागी गराउने गरी वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय आफैसँग राखेका थिए। तर आफैसँग राखेको मन्त्रालय कसैलाई जिम्मेवारी दिन नसकेका प्रचण्डलाई रास्वपा सरकारबाट बाहिरिएपछि थप तीन मन्त्रालयको जिम्मेवारी थपिएको छ।

रास्वपाले गृह मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिएको थियो। तर अहिले पनि प्रचण्ड सरकारमा रास्वपालाई फर्काउने गरी छलफल भइरहेको छ। यदि रास्वपा सरकारमा सहभागी नभए सत्तासाझेदार दलहरुबीच मन्त्रालय भागबण्डा गरिने नेकपा (माओवादी केन्द्र)का सचिव दिनानाथ शर्माले बताए।

सचिव शर्माले अहिले सत्ता गठबन्धन टुटाउने प्रयास भइरहेको बताए। उनले भने, ‘अहिले सत्ता गढबन्धन टुटाउने प्रयास भइरहेको छ। पहिला यसलाई बचाउनु पर्नेछ र पुनः रास्वपालाई सरकारमा सहभागी गराउने गरी छलफल भइरहेको छ।’

यदि रास्वपा सरकारमा सहभागी नभए सत्ता साझेदार दलहरुबीच पाँच मन्त्रालय बाँडफाँड गरिने बताए। तत्काल प्रतिपक्ष दलहरुलाई सरकारमा सहभागी नगाराइने सचिव शर्माको भनाई छ। उनले धेरै समय मन्त्रालय मन्त्रीविहीन नबनाइने बताउँदै मन्त्रालयको जिम्मेवारी दिनका लागि राष्ट्रपतिसँग छलफल गरिने बताए।

रास्वपा उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय र एक राज्यमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी भएको थियो। १३ माघमा सर्वोच्च अदालतले रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया नपुर्याएको भन्दै उनको सांसद पद खारेज गरिदिएको थियो। त्यसपछि उनले सम्हालेको उपप्रधानमन्त्रीसँगै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

लामिछानले माघ १५ गते नागरिकता लिएपछि उनले पुनः गृहमन्त्रालय पाउनु पर्ने माग गरेका थिए। तर प्रधानमन्त्री प्रचण्डले गैर सांसदलाई गृह मन्त्रालय नदिएपछि रास्वपा आइतबार (माघ २२ गते) सरकारबाट बाहिरिएको थियो। त्यससँगै सरकारमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा दिएका थिए।

प्रकाशित मिति: : 2023-02-07 16:00:00

प्रतिकृया दिनुहोस्