कार्ल मार्क्सले भनेका छन् ‘धर्म एक प्रकारले अफिमको नसा हो। त्यो प्रत्येक व्यक्तिको मन मस्तिष्कमा घोलिएको छ। जबसम्म मानव जाति त्यो नसाबाट मुक्त हुँदैन, तबसम्म ऊ आमूलपरिवर्तनको लागि अगाडि बढ्न सक्दैन्।’
उनले भनेको धर्मको अर्थलाई अनर्थमा लिएर अवसरवादीहरूले गलत व्यख्या गरेर समय-समयमा मार्क्सलाई बद्नाम गर्ने दुस्साहस गर्दै आएका छन्। उनीहरूले जानी/नजानी प्रतिक्रियावादीहरूलाई बल प्रदान गर्दै आएको जगजाहेर छ।
जबसम्म बुर्जुवा विचार नष्ट हुँदैन, देशभित्र परिवर्तन आउँदैन। अवसरवादीहरूले आफ्नो क्यारिरिष्ट विचार पूर्तिका लागि क्रान्तिकारी अतिरञ्जित र नारामा उग्र छलाङ्ग लगाएर जतिसुकै आतङ्क फैलाए पनि त्यही प्रतिक्रियावादीहरूको रङ्गमञ्चमा रमाउन पहल गर्छन्। यो हाम्रै देशको उदारण दिँदा असान्दर्भिक नहोला। हिजो २०२८ सालका झापाली र २०५२ सालका माओवादीहरूको जिउँदो उदारण हामीसंग छ।
जनतामा बन्दुकको डर धम्की देखाएर आफ्नो उदेश्य पूरा गरेपछि उनीहरू त्यही प्रतिक्रियावादीको रङ्गमञ्चमा रमाउन थालेको हामीले प्रत्यक्ष देखिरहेका छौं। हाम्रो देशमा क्रान्तिकारी जनाधार हुँदाहुँदै पनि क्रान्तिकारी आन्दोलन अगाडि बढ्न नसक्नु, संघारमा पुगेर पतन हुनुमा यही बुर्जुवा हाउगुजी पनि काफी हदसम्म जिम्मेवार छ।
हाम्रो दिलो दिमाखमा आज पनि भूतप्रेतको बास छ। हामीलाई थाहा छ- मानिसको प्रराण गएपछि मर्छ, त्यो मरेको मानिसलाई हामीले आगोमा पोलेर खरानी पारेका हुन्छौं। तर हाम्रो मनमा के भ्रम छ भने मरेको मानिस स्वर्गमा गयो, यदि कुनै कारण जान सकिने भने त्यो भूत बन्यो। त्यही डरले मानिसलाई सही र सत्यबारे पत्ता लगाउने हिम्मत जुट्दैन।
आदिमकालका मानिसले बनाएको संस्कृति अहिलेको वैज्ञानिक युगमा पनि हाउगुजी बनेर मानिसको मन र मस्तिष्कमा छाएको छ। हो, त्यही विचारको भविष्यबाणी थियो वि.स. १८१८ मा जन्मिएका कार्ल हेनरिख मार्क्सको। तर बुजुर्वाहरूले आफ्नो ढोंगी व्यवस्था जीवित राख्नका लागि त्यो सत्य विचारको हत्या गर्न अनिवार्य थियो। त्यसैको परिणाम बेलाबेलामा मार्क्सलाई बद्नाम गर्न धर्म क्रम र कर्मकाण्डका, स्वर्ग र नर्कका कथाहरूलाई फैलाउँदै आएका हुन्छन्।
आखिर कसले देखेर आयो, मरेको मानिस स्वर्गमा पुगेको वा नर्कमा गएको? त्यो निश्चित रूपमा कसैले पनि देखेको छैन, मात्र जनतामा भ्रमको खेती गरेर अल्छी पुरोहितहरू आफ्नो अनिकालबाट जोगिन यो प्रोपगण्डा अपनाएका हुन्छन्।
आज संसारका धेरै देशहरू ज्ञान र विज्ञानले तरोताजा बन्दै गएको अवस्थामा हाम्रो देशका जनताहरू उही बुजुर्वा तथा सामन्तवादी व्यवस्थामा पिसिएका छन्, कुल्चिएका छन्। जबसम्म हाम्रो यो सन्तान तमाम कुरीतीबाट मुक्त हुन सक्दैनौं, त्योबेलासम्म हामी वास्तविक रूपमा मुक्त हुने छैनौं र देशमा विकास पनि हुने छैन।
देशको विकासका लागि सबैभन्दा पहिले सामाजिक क्रान्तिको खाँचो छ, यो दूषित राजनीतिको होइन। अहिले कसैले काजक्रिया गर्दैन भनी समाज र उसकाे कुलकुलानीको नाक काटिन्छ, त्योबेला किन उसकाे नाक काटिँदैन? जुनबेला आफ्नो बाआमाको स्याहासुसार गरिँदैन, औषधि उपचार गरिँदैन, बरू वृद्धाममा लगेर थन्काइन्छ।
मैले अनावश्यक बुजुर्वा रीतिरिवाजलाई मान्दिन भन्दाबित्तिकै अनर्गल टिकाटिप्णी गर्नेहरूलाई सकेसम्म जिउँदा बाआमाको स्याहासुसार गर्न सुझाव दिन चाहान्छु। मलाई त्यो बुर्जुवा बेथिति र कुरीतीलाई अंगाल्नु छैन, जसले कसैको फाइदा गर्दैन।
हिजो सती प्रथाको कसैले विद्रोह नगरेको भए त्यसको अन्त्य हुने थिएन र आज पनि चितामा जिउँदै हाम्फाल्नु पर्थ्यो। त्यो सती प्रथा कुन धर्ममा थियो? त्यो धर्म अहिले किन अंगालिँदैन? निश्चित रूपमा त्यो गलत प्रथा थियो।
विस्तारै गलत रीतिरिवाजहरूलाई समयानुसार समाजले फिल्टर गर्दै जानुपर्छ। क्रान्तिकारी नाम राखेर मात्र आमुल परिवर्तन हुने छैन, त्यसका लागि समाजभित्र रहेका कुरीतिहरूलाई नष्ट गरेर नयाँ र प्रगतिशील विचारधारालाई व्यवहारमा लागु गर्न सक्नुपर्छ।
आजको एक्काइसौं शताब्दीमा पनि हाम्रो समाजमा जरा गाडेर बसेको कुरीतिको हामीले अन्त्य गर्नुपर्छ। त्यसका लागि हामी आफैँले एक पाइला अगाडि चाल्नुपर्छ भन्ने मलाई लाग्छ।
सुरेशकुमार पाण्डेका थप लेखहरु: