बुर्जुवाहरूलाई जब समाजबाट खतरा हुन्छ, त्योबेला उनीहरूले कात्रोमा राजनीति गर्छन्। हुन त उनीहरूले सदियौँदेखि धर्म-कर्ममा राजनीति गर्दै आएका छन्। झिना मसिना सामाजिक परिघटनाहरूलाई विस्तारै केलाएर आ-आफ्ना दन्ते कथाद्वारा समाजमा स्वार्ग-नर्कका अनावश्यक शास्त्र सुनाएर अनर्गल जञ्जाल बुनेर त्यो जालमा आम जनमानसलाई फसाउने र आफ्नो अधिपत्य कायम राख्ने प्रयत्न गर्दै आएका हुन्छन्। आज पनि यो वैज्ञानिक युगमा कुरीतीहरूको जाल बिच्छाएर सर्वसाधारणलाई लुट्ने योजनाहरू गर्दै आएका छन्।
एकातिर देशभित्र भौतिक विचारधारामा आस्थावानको बहुमत देखिन्छ, अर्कोतिर यही भौतिकवादी विचार मान्नेहरू रक्षात्मक अवस्थामा छन्। साँच्चै भन्ने हो भने रक्षात्मक अवस्थामा त योबेला दुनियाँभरिमा बुर्जुवाहरू छन्। कुसंस्कारलाई जोगाउन आम प्रतिक्रियावादीहरूको योजना हुन्छ, किनकि यो प्रतिकृयावादी व्यवस्थालाई जोगाएको साँच्चै यही कुरीतीहरू नै हुन्।
बुर्जुवाहरूको राजनीति शक्ति भनेको यही शास्त्रहरू हुन् भने यिनै शास्त्रहरूले प्रतिक्रियावादीहरूको व्यवस्था जोगाएको हुन्छ। अहिले भौतिकबाद र आध्यत्मवादबीचको प्रतिस्पर्धा चलेको बेला जसकाे जहाँ बलियो पकड हुन सक्छ, त्यसैको जित पनि भएको छ। हाम्रो देशभित्र कम्युनिष्टहरू रक्षात्मक अवस्थामा हुनु भनेको स्वयम कम्युनिष्ट विचारधारालाई अंगाल्न नसकेर संशाेधनवादी बाटो छोप्नाले नै हो।
समाजलाई जातीयता वा थरको परिधिभित्र समेटेर कुरीतीहरूलाई लाद्न खोजिएको अहिलेको अवस्थाले बुर्जुवाहरूको भविष्य कमजाेर भएको नै पुष्टि गर्दछ। कम्युनिष्टहरूले वर्गीय परिधिभित्र ल्याउन नसक्नुमा यी जातीय र उपजातीय गुट तथा यिनका परमपरा, रीतिरिवाजहरूको अहम भूमिका देखिन्छ। यही व्यवहारले वर्गीय आन्दोलन कमजाेर हुन पुगेको हामीले देख्छौँ।
अर्कोतिर कम्युनिष्ट विचारधारा अपनाउन खोज्नेहरू आफैँ आपसी लडाइँ-झग्डामा उल्झिएर उनै बुर्जुवाहरूलाई बलियो बनाउन जानी वा नजानी मदत पुर्याउँदै आएका हुन्छन्। समाजभित्र फैलिएको कुरीतीले सबैभन्दा बढी हामी निम्नस्तरका वा मध्यम वर्गका मानिसहरूलाई असर पुर्याएको छ। त्यसको विरूद्धमा कसैले पाइलो चाल्ने प्रयात्न गर्दैनन्।
यदि यदाकदा कसैले गरिहाल्यो भने पनि बुर्जुवा समाजले त त्यसको खोइरो खन्छ नै, स्वयम आफूलाई भौतिकवादी र क्रान्तिकारी भनौँदाहरू समेतले त्यसलाई प्रोत्साहन दिनुको सट्टा आपसी वादविवादको मञ्च बनाएर झनै सङ्कट सिर्जना गर्ने गर्छन्।
विडम्बना नै भनौं, क्रान्तिकारी धारभित्र पनि अवसरवादको व्यापक चलखेल हुँदै आएको वर्तमान परिवेशमा एउटा संघर्षशील व्यक्ति निरही र असहाय बनेर या त कमजाेर हुन्छ अनि आत्मसमर्पण गर्छ, पलायन हुन्छ वा संघर्षकै मैदानमा बुर्जुवाहरूको उपहाशको स्राेत बन्छ। अहिलेको अवस्था यस्तै प्रकारको बन्दै गएको आभाष हुन्छ।
यो लेख लेखेर मैले आफ्नै अनुभवलाई शेयर गर्न खोजेको मात्रै हो। म आफैँले बाल्यकालदेखि नै विद्रोह गर्दै आएँ तर न त कुनै संघसंस्था ढाल बनेर अगाडि आयो, बरू बेलाबखतमा मैले गरेको कामबाट आफ्नो हात हटाउँदै आएको जगजाहेर छ।
सर्वप्रथम हाम्रो पाण्डे समाजले सिन्की (गुन्द्रुक)खाल्टो आफैँ खनेर खाँद्न नहुने प्रचलनको विरोधमा सम्भावित पहिलो आजभन्दा झण्डै ४७ वर्ष पहिले सिन्की खाँदेर सुरू गरेँ। त्योबेला मैले एक्लै संघर्ष गर्नुपर्याे। २०४४ सालतिर विवाह गर्दा जनैको बहिष्कार गरियो र त्यो भिरिएन। त्यसपछि अहिलेसम्म आफ्नो घरमा कुनै पूजाआजा गरिनँ। छोराछोरीहरूको पनि सक्दो प्रगतिशील विवाह गरियो।
अहिलेसम्म कुनैपनि बुर्जुवा रितिथितिअनुसारको कुनैपनि क्रियाकलापमा म अल्झिएको छैन। अहिलेसम्म आइपरेका वादविवादको म आफैँले सामना गर्दै आएको छु। मैले जातीय विभेद पनि जानबुझेर नगरेको चोखो इतिहास छ। अहिले आमाको मृत्युपछि काजक्रियाको लागि जुन प्रकारले दबाब दिने प्रयत्न गरियो, त्यो अत्यन्तै घृणित प्रकिया हो। मैले जीवित छँदासम्म आमाको सक्दो सेवा र औषधि उपचार नगरेर मात्र औपचारिकता पूरा गर्न गरिने बुर्जुवाहरूको ढोगको विरोध गरेर ठिक गरेको छु भन्ने मलाई लाग्छ।
समाजभित्रका मानिसहरूले जानी/नजानी कात्रोमा राजनीति गर्दै आएका छन् भन्ने मलाई लाग्छ। तमाम यी देखावटी रूपमा गरिने औपचारिकता भन्दा आ-आफ्नो बाआमाको जीवित छँदै वास्तविक रूपमा सेवा गरौं, औषधि उपचार गरौं, मात्र औपचारिकता पूरा गरेर कर्तव्य पूरा हुने छैन।