यतिबेला संसारभरिका माओवादीहरुकाे अवस्था पतनको चौघेरामा छ। त्यो कुन देशको माओवादी कुन रूपमा र कहिले पतन हुने हो भन्ने बारेमा पूर्वअनुमान लगाउने कसी भनेको उनीहरूको कार्यनीति नै हो, कार्यनीतिले नै रणनीतिको निर्धारित गर्ने गर्छ।
हामीले माओका योगदानलाई कसरी अनुसरण गर्ने ? त्यही कार्यनीति प्रश्न हो। हाम्रो देशको कम्युनिस्ट आन्दोलन मार्क्सवाद, लेनिनवाद र माओ विचारधारालाई बुझ्न नसकेर ‘लिग’ छाड्दै भड्किँदै कहिले दायाँ कहिले बायाँतिर अल्झिँदै आएको अवस्थामा माओको योगदानलाई बुझ्नै पर्दछ।
कुनै पनि क्रान्तिकारीको लागि माओको योगदानले महत्वपूर्ण स्थान राख्दछ। कमरेड माओले राष्ट्रिय अन्तरराष्ट्रिय घटना कर्मबाट शिक्षा लिएर परिस्थितिको सही मुल्याङ्कन गरेर ठोस निर्णय लिए। त्यसैको परिणाम छोटो समयमा चीनजस्तो पिछडिएको विशाल देशमा सन १९४९ मा नौलोजनवादी क्रान्ति समपन्न गरेर देखाए। त्यो चिनियाँ कम्युनिस्ट आन्दोलनले विश्वकम्युनिस्टहरूलाई धेरै कुरा सिकाउँछ।
कम्युनिस्टहरूले सबैभन्दा पहिले देशको भौगौलिक अवस्था र सामाजिक अवस्थाको गहन अध्यायन गरेर कार्यक्रम निर्धारित गर्दछन्। तर, माओवादीहरूले जहिले पनि आवेगमा आएर कार्यक्रम बनाए, त्यसैको परिणाम हाम्रो देशमा १० वर्षभित्र १७ हजार नागरिकले ज्यान गुमाए। त्यो मात्र होइन उनीहरूको कथित जनयुद्धबाट साम्राज्यवादले देशभित्र चलखेल गर्ने मौका पायो।
मालेमालाई बुझेका विद्यार्थीहरूले यो विषयलाई नकार्न सक्दैनन् तर आफूलाई माओवादी बताउनेहरूले सधैंभरि वस्तुगत अवस्थालाई अनदेखा गरेर मनोगत वा आवेगमा कार्ययोजना बनाउँदै आएको कुरा दिनको घामझैं छर्लङ्गै छ।
वास्तविक रूपमा माओवादीहरूले उग्ररूपमा आ– आफ्ना गतिविधि गर्दै अन्ततोगत्व दक्षिणपन्थी बाटो समातेको हामीले देखिरहेका छौँ। त्यसको परिणाम हामी सबैको सामुन्ने छ। उनीहरूको आवेगको नतिजा हाम्रै देशबाट पनि क्रान्तिकारी आन्दोलन लोप भएर गयो। अहिले कम्युनिस्टको अवस्था रक्षात्मक छ।
कमरेड माओलाई बद्नाम गर्न उनीहरूले कुनै कसर नछोडेको विगतदेखि वर्तमानसम्मको प्रष्ट तस्विरले देखाएको छ। वि.सं. ०५२ सालपछि देशमा कम्युनिस्ट आन्दोलनको अवस्थालाई मुल्याङ्कन गर्दा हामीले देख्छौँ, देशभित्र कम्युनिस्टहरूप्रतिको अविश्वास धे बढ्दै गएको छ।
त्योभन्दा पहिले क्रान्तिकारी आन्दोलनको सम्मान देशका कमेरा वर्गले गरेका थिए, जो पछि माओवादीहरूको जनयुद्धलाई लामुसमयसम्म उनै कमेरा वर्गले आफ्नो प्रराणको बली चडाएर अगाडि बढाए। तर, उनै सहिदहरूको रगतमा पौडिएर आ–आफ्नो स्वार्थ पूरा गर्न अगुवाहरूले नै मुल लिग छाडेर अवसरवादी बाटो समात्न पुगे।
उनीहरूले गरेको गद्दारीका कारण देशमा कम्युनिस्टहरू बद्नाम हुँदै गएका छन्। कम्युनिस्ट आन्दोलनबाट विस्थापित वा पलायन हुँदै गएका छन। मार्क्सवाद लेनिनवाद अन्तर्गत रहेर कमरेड माओले नौलो जनवादको खाका सन १९४० मा कोरेका थिए, उनले छोटो समयमा त्यसलाई विजयमा परिणत गराउन सफल भए। उनैको लोगो ओडेर माओवादीहरूले उनैको विचारधारामाथि भिषण प्रहार गर्दै आएका छन।
सन १८९३ डिसेम्बर २६ मा माओतस्तुङ एउटा किसान परिवारमा साओशान भन्ने ठाउँमा जन्मिए। उनले सानै उमेरदेखि अन्याय अत्याचार शाेषण दमनको बिरोधमा आवाज उठाउँदै आए। आफ्नै घरबाट बासँग विद्राेह गरेर किसान मजदुरको पक्षमा उभिएका माओ आफैं मार्क्सवाद लेनिनवादको सम्पर्कमा आएपछि गहन अध्यायन गरे।
सन १९२१ मा आफैं पनि चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक बनेका माओले विश्व कम्युनिस्ट आन्दलनका लागि ठुलो योगदान दिएका छन्। मार्क्सवाद लेनिनवाद र माओ तस्तेङ्ग विचारधाराबाट विश्वका क्रान्तिकारीहरूले सिक्नैपर्ने कुरा उनले अपनाएकाे व्यवहारीक पक्ष नै हो।
चीनजस्तो विदेशी उपनिवेश र सामन्ती संस्कारबाट पिछडिएको देशलाई कमरेड माओले अहिले विश्वकमा प्रतिस्पर्धा गर्न सक्ने देशको रूपमा विकास गराउन सफल भए। यद्यापी, अहिले चीन एउटा विश्व साम्राज्यवादी मुलुकको रूपमा परिणत भएको छ। हुन त १९७६ माओको निधनपछि तुरून्तै त्यहाँ प्रतिक्रान्ति भयो, तै पनि नीतिगत रूपमा पतन भएता पनि देशले विकासको मुलबाटो छाडेकाे छैन।
अहिले चीन अमेरिकी सम्राज्यवादी शक्तिलाई च्यालेञ्ज दिन सक्ने क्षमता राख्दछ। तर, हाम्रो देशमा सात दशक लामाे कम्युनिस्ट आन्दोलनको इतिहास आपसी झैं-झगडा, पद प्रतिष्ठाको द्वन्धमा विसर्जनको संघारमा झुण्डिएको छ।