उच्च अदालत पाटनले खोटाङ र उदयपुर जोड्ने गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगतका दुई प्याकेज कालोपत्रेको ठेक्का तोड्ने निर्णय उल्टाइदिएको छ।
उच्च अदालतले सगरमाथा राजमार्ग अन्तरगत खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्ड डिबीएसटी कालोपत्रे योजनाको ठेक्का तोड्ने निर्णय हाललाई कार्यान्वयन नगर्नका लागि अन्तरिम आदेश दिएको हो।
ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम नगर्दा सडक कालोत्रेको काम वर्षौंसम्म अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले गत पुस ८ गते फोक्सिङटार–सिमपानी (राजापानी) र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्डको ठेक्का तोड्ने निर्णय गरेको थियो।
ठेक्का तोड्ने निर्णय विरुद्ध ठेकेदार कम्पनी अदालत पुगेपछि अदालतले अन्तिम फैसला नआएसम्मका लागि सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्न, निर्माण कम्पनीलाई कालोपत्रेको नियमित काम गर्न दिन र समय–समयमा कामको प्रगती वारे अनुगमन गर्न अन्तरिम आदेश दिएको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए।
ठेक्का तोड्ने निर्णय भएपछि ठेकेदार रिट हाल्न उच्च अदालत पुगेको थियो। ठेक्का तोड्ने निर्णयलाई अदालतले अन्तरिम आदेशमार्फत उल्टाइदिएपछि निर्माण कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभी, काठ्माडौंले फोक्सिङटार–सिमपानी (राजापानी) सडक खण्डमा काम सुचारु गराएको छ।
अदालतको अन्तरिम आदेशमा ठेक्का कायम राख्न सफल निर्माण व्यवसायीले बाँकी काम सरासर गर्नेमा बिश्वस्त हुने ठाउँ भने नभएको खोटाङका प्रदेशसभा सदस्य पाँचकर्ण राईले बताए।
२७ किलोमिटर लम्बाई भएको फोक्सिङटार–सिमपानी (राजापानी) सडक डिबीएसटी कालोपत्रे गर्ने ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभी र अँधेरी खोला–फोक्सिङटार सडकको जिओटेक्निकल एण्ड क्रस ड्रेनेज वर्कको ठेक्का मैनाचुली/सिद्धिसाई प्रकाश जेभी, काठ्माडौंले लिएको थियो।
ठेक्काको म्याद समाप्त हुँदासम्म पनि खरिद सम्झौता बमोजिम कार्य सम्पादन गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै कार्यालयले दुई खण्डको ठेक्का तोडेको सुचना जारी गरेको थियो।