जुम्लाको तातोपानी गाउँपालिका -५ लाई धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि ग्यास चुलो र हिल ट्याङ्क वितरण गरेको छ।
पाँच नम्बर वडाका करिब ४ सय २० परिवारलाई ग्यास चुलो र हिल ट्यांकी वितरण गरेको वडाध्यक्ष छिरिङ्ग महतले बताएका छन्।
'हामीले एैरेनी, लाम्रा र श्रीनगर लगायतका टोलका बासिन्दालाई ग्यास चुलो वितरण गरेकाे छाैं,' उनले भने, 'धुवाँमुक्त समाज बनाउने र वनजङ्गलको संरक्षण गर्ने उद्देश्यले ग्यास सिलिण्डिर सहित चुलो वितरण गरिएको हाे।'
वडावासीले यसअघि भान्सामा दाउरा प्रयोग गर्दै आएका थिए। दाउराबाट निस्केको धुवाँले मानव स्वास्थ्यमा असर गर्ने र दाउराको बढी प्रयोगले वनजङ्गल विनास हुने भएकाले प्रत्येक परिवारलाई ग्यास चुलो र सिलिण्डर वितरण गरेको महतको भनाइ छ।
उनका अनुसार, धुवाँले श्वासप्रश्वास र दम लगायतका रोग लाग्छ। स्थानीय नागरिकको स्वास्थ्य अवस्थालाई मध्येनगर गर्दै ग्यास चुलो र हिल ट्यांकी उपलब्ध गराइएकाे हाे।
चिसो समयमा ग्यास चुलो र हिल ट्यांकीको प्रयोग गाउँघरमा कमैले गरेपनि गर्मी सिजनमा प्रयोग गर्नका लागि वितरण गरेको उहरनले बताए।
'मानव विकास सुचकांकमा समेत पछि परेको हाम्राे क्षेत्रका नागरिकको स्वस्थ्य अवस्थामा सुधार गर्न आवश्यक छ,' उनले भने, 'ग्यास चुलो र हिल ट्यांकी पाउँदा वडाबासी निकै खुसी भएका छन्।'
चिसोको समयमा जुम्लाका आगो बाल्ने चुलोमा बढी दाउराको प्रयोग हुने र यसले वनजङ्गल विनास गर्ने भएकाले नागरिकलाई ग्यास चुलो वितरण गरिएकाे उनले थपे।
'घरमा दाउरा बोक्न नसक्ने परिवारका लागि वडाले वितरण गरेको ग्यास चुलोले सहयोग पुग्ने अपेक्षा गरेका छाैं,' उनले भने।
गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाई र प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतको रोहोबरमा वडाबासिलाई ग्यास चुलो र ट्याक्ङी वितरण गरिएको हाे।