प्रचण्डसँग भेटेलगत्तै गृहमन्त्री लामिछाने किन जान्छन् बालकोटकाे 'बार्दली' ?

नागरिकता विवाद सल्टाउन कानुन मन्त्रालय ताक्दै रवि लामिछाने, ‘प्रचण्ड–ओली’ सकारात्मक


शनिबार एकाबिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भेटे। साढे ८ बजे बालुवाटार पुगेका लामिछानेले प्रधानमन्त्रीसँग झण्डै आधा घण्टा कुराकानी गरे। 

कुराकानीको विस्तृत विवरण सार्वजनिक नभए पनि लामिछाने निकटस्थहरूले सामाजिक सञ्जालमा विशेषगरी सिंहदरबारमा सर्वसाधारणका सहज प्रवेशको विषयलाई दह्रो ढंगले उठाउन बालुटार गएकाे प्रचार गरिरहेका छन्। तर उनी नागरिकता विवाद सल्टाउनका लागि आफ्नो पार्टीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय माग्न त्यहाँ पुगेकाे बताइएकाे छ।

 गृहमन्त्री भन्दाअघि प्रधानमन्त्री प्रचण्डसँग नेकपा (एमाले)का अध्यक्ष ओली सरकारका उद्योग,वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले पनि भेटे। दुगडले प्रधानमन्त्रीसँग बिहान ७ बजेदेखि आधा घण्टा कुराकानी गरे। 

गृहमन्त्री लामिछाने निस्केपछि प्रधानमन्त्री निवासमा माओवादी केन्द्रका नेता लीलामणी पोखरेल छिरेको देखियो। उनले पनि प्रधानमन्त्रीसँग पौने १० बजेसम्म भेट गरे।

बालुवाटारबाट ९ बजेको हाराहारीमा निस्केका गृहमन्त्री सोझै भक्तपुरकाे 'बार्दली'तर्फ लागे। त्यहाँबाट बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर उनले पौने १० बजेदेखि ४५ मिनेट बढी समय बिताए। गृहमन्त्रीको कानुन मन्त्रालय मागप्रति प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली सकारात्मक देखिएका छन्। 

‘शनिबार बिहान प्रधानमन्त्रीज्यूलाई भेट्न गृहमन्त्रीज्यू बालुवाटार जानुभएको थियो। उहाँले छानविन भइरहेको आफ्नो नागरिकता र राहदानी विवादबारे प्रधानमन्त्रीज्यूलाई केही कुराहरू बताउनुभएको थियो। मैले सुनेअनुसार प्रधानमन्त्री र गृहमन्त्रीको भेटवार्ता सकारात्मक नै भयो,’ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने।

मंगलबार बिहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सत्ता बाँडफाँट, प्रदेशमा सरकार गठनलगायत विषयमा बालुवाटारमा दुई घण्टा कुराकानी भएको थियो। बिहीबार बिहान सत्ता गठबन्धनमा रहेका सबै दलका शीर्ष नेताहरूको बैठक बसेर ओलीलाई उच्चस्तरीय संयन्त्रको संयोजक बनाइएको थियो। सोही सम्बन्धमा बालुवाटार र बालकोटको सल्लाहबारे थप जानकारी लिन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ओहोरदोहोर गरेको स्रोतको दाबी छ।

गत मंगलबार पनि मन्त्री लामिछाने प्रधानमन्त्रीलाई खुमलटारमा भेट गरेपछि लगत्तै बालकोट पुगेका थिए। हिजो एमाले अध्यक्ष ओलीसँग कञ्चनपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तारा लामाले पनि भेटेर आफ्ना कुरा राखेको एमाले स्रोतले पुष्टि गरेको छ।

प्रकाशित मिति: : 2023-01-02 07:30:00

प्रतिकृया दिनुहोस्