नागरिकता विवाद सल्टाउन कानुन मन्त्रालय ताक्दै रवि लामिछाने, ‘प्रचण्ड–ओली’ सकारात्मक

File Photo
File Photo

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सत्ता राजनीतिका दुई शीर्ष नेतासँग बालुवाटार र बालकोटमा ‘प्याकेज संवाद’ गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार बिहान उनीहरूकै निवासमा भेटेर उनी पुल्चोक फर्किएका हुन्।

स्रोतका अनुसार गृहमन्त्रीले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँगको भेटवार्ताका क्रममा आफ्नो नागरिकता र राहदानी विवादको प्रसंग पनि सुनाएका छन्।

‘शनिबार बिहान प्रधानमन्त्रीज्यूलाई भेट्न गृहमन्त्रीज्यू बालुवाटार जानुभएको थियो। उहाँले छानविन भइरहेको आफ्नो नागरिकता र राहदानी विवादबारे प्रधानमन्त्रीज्यूलाई केही कुराहरू बताउनुभएको थियो। मैले सुनेअनुसार प्रधानमन्त्री र गृहमन्त्रीको भेटवार्ता सकारात्मक नै भयो,’ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने।

स्रोतका अनुसार गृहमन्त्री लामिछानेले नागरिकता विवाद सल्टाउनका लागि आफ्नो पार्टीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय मागेका छन्। लगतै उनी एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट गएका थिए।

गृहमन्त्रीको कानुन मन्त्रालय मागप्रति प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली सकारात्म देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय दाबी गरेका छन्।

‘क्याबिनेट मन्त्री’ नपाएपनि कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री पाउनुपर्ने बताउँदै आएका छन्। सम्भवतः काठमाडौं–२ बाट निर्वाचित सांसद सोविता गौतमलाई कानुन मन्त्री बनाउने छन्।

प्रकाशित मिति: : 2022-12-31 14:38:00

प्रतिकृया दिनुहोस्