पानी ‘माग्न देउतालाई खसी उपहार’, पहाडको टुप्पोमा पानी !

BreaknLinks
BreaknLinks

तिला गाउँपालिकाका वडा नम्बर १ र २ मा सधैँ पानीकाे हाहाकार हुन्छ। काकाकुल स्थानीयबासीले नदीको पानी कलकल बगिरहेको मात्र देख्छन्, सुन्छन्। तर, त्याे 'लंकामा सुन छ, कान मेराे बुच्चै' भने जस्ताे बाहेक केही थिएन।

खेतीपातीको सिजनमा 'देउता' सँग पानी माग्न खसी काट्नुपर्ने बाध्यता थियाे। संयाेगले पानी परे देउताले आफ्ना पालीकाे मनाेकामना पूरा गरे भन्ने हुन्थ्याे, पानी नपरे देउता रिसाए भनेर चित्त बुझाउनुपर्ने बाध्यता थियाे।

उँधाे बग्ने नदी, उभाेतिरका बस्ती। पानी उपयोग गर्न सकिने अवस्था थिएन।

खानेपानीकाे समेत हाहाकार हुने तिलाको लिही र लर्मी गाउँमा सिँचाइकाे लागि सुविधा हुने कुरै भएन। हिउँद र खेतीपातीको समयमा पानीका मुहान सुक्दा कृषकहरू वर्षाको पानीमा मात्रै भर पर्नुपरेको थियो।

यस क्षेत्रमा फलफूल खेती विशेष गरी स्याउ, ओखर तथा तरकारी खेतीको उच्च सम्भावना रहेको छ। कर्णाली राजमार्ग नजिकै छ। उत्पादनका लागि बजारकाे अभाव छैन। राम्रो मूल्यमा पाइने अवस्था छ। तर, सिँचाइका लागि पानी नहुँदा किसानले सोचेजस्तो उत्पादन गर्न सकेका छैनन्।

तिला नदीको पानी माथि डाँडाको टुप्पोमा पुर्‍याएर सिँचाइका लागि प्रयोग गर्ने समुदायको सपना थियो। उनीहरू यस कार्यमा सहयोग गर्न सक्ने सहयोगी निकायको खोजीमा थिए।

अनुकूलन कोषको आर्थिक सहयोगमा नेपाल सरकार संघीय वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमले स्थानीय साझेदार संस्था पेस नेपालमार्फत २०१९ देखि चारवर्षे 'क्याफ्स कर्णाली परियोजना'बाट तिला गाउँपालिकामा पनि लागू भएको भयो। परियोजनाको टोलीले जलवायु परिवर्तन अनुकूलन गर्न र खाद्य सुरक्षामा सुधार ल्याउन स्थानीय समुदायको प्राथमिकता संकलन गरेको थियो।

सोही क्रममा लिही लिफ्ट सिँचाइ योजना समुदाय र स्थानीय सरकारले प्राथमिकतामा राखेको थियो। सुरुमा लिफ्ट योजना सौर्य ऊर्जाबाट सञ्चालन गर्ने योजना थियो। तर परियोजनाले उक्त आयोजनाको दिगोपनका लागि निकट भविष्यमा जोडिँदै गरेको राष्ट्रिय प्रसारण लाइनको सुनिश्चितता पर्खिरहेको थियो।

सन् २०२१ मा राष्ट्रिय प्रसारण लाइन सञ्चालनमा आएपछि मात्र आयोजनाको निर्माण कार्य सुरु गरियो। अन्ततः पहाडको टुप्पोमा नदीको पानी लिफ्टमार्फत पुर्‍याएर समुदायको सपना साकार भएको लिही लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष हरिलाल रावतले बताए।

उनले भने, 'नदीको पानी पहाडको टुप्पोमा पुग्ला भन्ने विश्वास स्थानीयलाई थिएन। अहिले सबै दंग छन्।'

लिही गाउँकी कृषक नन्ददेवी बोहराले क्याफ्स कर्णाली परियोजना टिम र सबै सहयोगीलाई धन्यवाद दिँदै भनिन्, 'सपना साकार भयो। अब हामी स्याउ र ओखरसहित अन्य अन्नबालीको खेती सुरु गर्न सक्छौं।'

यस आयोजनाले ३२ हेक्टर जमिनमा सिँचाइ गर्न सक्ने गरी ६० एचपी पम्पिङ संरचनासहितको इन्टेक, १०० केभी विद्युतीय ट्रान्सफर्मरसहितको पावरहाउस, एक हजार तीन सस २० मिटर मुख्यपाइप लाइन, एक सय घनमिटरको रिजर्भवायर ट्यांकी र चारवटा ३० घनमिटरका वितरण पोखरी निर्माण गरेको छ।

आयोजनाको कुल लागत एक करोड ३५ लाख ११ हजार चार सय ६२ रुपैयाँ थियो। जसमा समुदायका धेरैजसो घरधुरीले छोटो चरणको रोजगारी प्राप्त गरी आफ्नो बैंक खातामा ज्यालाको रूपमा २५ लाख २४ हजार १८ रुपैयाँ नगद प्राप्त गरेका थिए।

यस आयोजनालाई दिगो रूपमा सञ्चालन गर्नका लागि स्थानीय सरकारलाई हस्तान्तरण गरिएको पेस नेपाल जुम्लाका कार्यकारी अध्यक्ष किशोर न्यौपानेले बताए।

उनले भने, 'अन्य सिँचाइ प्रणालीको तुलनामा लिफ्ट सिचाइ प्रणाली तुलनात्मक रूपमा महँगो छ। तर, उक्त समुदायमा सिँचाइको अन्य विकल्प नभएकाले हामी लिफ्ट सिँचाइ प्रणालीमा गएका हौँ। यसले स्थानीय समुदायको उत्पादन र जीविकोपार्जनमा सुधार ल्याउनुका साथै जलवायु परिर्वतन अनुकूलनमा टेवा पुग्ने छ।'

आयाेजनाबाट तीन सय ३८ घरधुरीलाई प्रत्यक्ष रूपमा फाइदा पुर्‍याएको, व्यावसायिक फलफूल र तरकारी खेती गर्न मद्दत गरेकाे तिला–२ का वडाध्यक्ष चन्द्रबहादुर बोहराले बताए।

प्रकाशित मिति: : 2023-01-01 20:30:00

प्रतिकृया दिनुहोस्