आमा बुवाको हेरचाह गर्न दुई दाजुले वास्ता गरेनन्। ती दुई दाजुले घरको वास्ता गर्न छाडेपछि दाङको राजपुर गाउँपालिका– ४ दुलैयाकी कमला परियारलाई घर चलाउनुपर्ने बाध्यता थपियो।
आमा–बुवाको पुख्र्यौली पेशा कपडा सिलाउने थियो। त्यसबाट आउने पैसाले घर खर्च चल्न मुस्किल हुनथाल्यो। कमलासँग न सिप थियो, न त घरको सम्पत्ति नै थियो। सम्पत्तिको नाममा ऐलानी जग्गामा बनेको एउटा घाम, पानी छल्ने घर मात्र छ।
दाजुहरुले घरमा हेरचाह गर्न छाडेसँगै आर्थिक रुपमा कमलाई भार पर्दै गयो। न सिप, न सम्पत्ति, कमलालाई सुरुमा के गर्ने भन्ने सोच्चनै आएन। तर, जीवन संघर्ष गर्नेहरुकै पक्षमा हुन्छ भन्ने बुझेकी कमलाले केही गरेर देखाउने आँट भने गरिरहिन्।
बुबाले गर्दै आइरहेको सिलाइ/कटाइको काम कमलाले पनि गर्न थालिन। गैरसरकारी संस्थाको सहयोगमा केही दिनको सिलाइ/कटाइ तालिम लिएकी उनले सिलाइ/कटाइ गर्दै गर्दा यस पेशाबाट जीविकोपार्जनबाहेक थप आम्दानी गर्न सकिदैन भन्नेमा कमला पुगिन। ‘सुरुमा बुवाले नै गरेको काम गर्नुपर्छ भनेर सिलाइ/कटाइ सिकेर मैले पनि यही काम गरे,’ उनले भनिन्, ‘तर, पछि काम गर्दै जाँदा जीविकोपार्जनबाहेक थप आम्दानी हुने मैले देखिनँ।’
उनले परिवार पाल्नका लागि सिलाइ/कटाइले केही आम्दानी दिए पनि आर्थिक समस्या भने हट्न नसकेको बताइन। त्यसपछि कमला नयाँ काम गर्ने सोचमा पुगिन्। उनको विकल्पमा बाख्रा पालन पर्यो। त्यसपछि वैकल्पिक आम्दानीको श्रोत बनाउने उद्देश्यका साथ तीन वर्षअघि गाउँकै एक जनासँग दुई वटा बाख्राका पाठी लिएर अधियाँ (आम्दानी आधा–आधा बाँड्ने सर्तमा) पाल्न सुरु गरिन।
तर, त्यो व्यवसायीक हुन सकेन। कमलालाई भने बाख्रा पालन व्यवसायलाई थप व्यवसायीक बनाउने हुटहुटी थियो नै। ‘बाख्रा पालेर व्यवसायी बन्ने मनमा थियो। मेरो सपना नै थियो,’ उनले भनिन्। ‘तिमी सपना देख म पुर्याउँछु’ भन्ने कथन जस्तै कमलाले देखेको सपनालाई पूरा गर्न मानव कल्याण तथा संरक्षण केन्द्रले दुई वर्षअघि सीड कार्यक्रम अन्तरगत अनुदानमा बाख्रापालनका लागि ५० हजार रुपैयाँ सहयोग गर्यो। त्यसपछि आफ्नो सपना पूरा भएको उनी बताउँछिन्।
बाख्रा पालेर अहिले राम्रै आम्दानी हुने गरेको कमलाले बताइन। सुरुमा ६ वटा बाख्राबाट सुरु गरेको बाख्रा पालन व्यवसाय दुई वर्षको अवधिमा अहिले ३० वटा पुगेको छन। यसै वर्षको दशैमा मात्रै ६ वटा खसी बिक्री गरेर डेढ लाख रुपैयाँ आम्दानी गरेको कमलाले जानकारी दिइन। ‘५० हजार रुपैयाँबाट ६ वटा बाख्रा किनेर व्यवसाय गरेको थिए’, उनले भनिन्, ‘अहिले साना ठुला गरेर ३० बढी बाख्राहरु रहेका छन्।’
कमलाका अहिले पनि ७ वटा खसी बिक्रिका लागि तयार भइसकेको छ। उनले अब व्यवस्थित खोर निर्माण गरेर बाख्रापालन गर्ने उद्देश्य रहेको बताइन। ‘गाउँबाट पैसा कमाउनका लागि देशका विभिन्न ठाउँदेखि विदेशसम्म महिला तथा पुरुषहरु जाने गर्नुहुन्छ। तर, मलाई बाहिर जान मन लाग्दैन’, उनले भनिन्,‘त्यसैले व्यवसायीक बाख्रापालनमा लागेकी छु। खुशी पनि छु।’
दुई दाजुहरुले घरमा हेरचाह गर्न छाडेपछि अहिले कमलाले घरमा आमा–बुवालाई हेरचाह पनि गर्दै आइरहेकी छिन्। छोराहरुले गर्नुपर्ने काम घरमै छोरीले गरेर आम्दानी गरेको देख्दा आफूहरु खुसी रहेको कमलाकी आमा अमृता परियारले बताइन। ‘छोराहरु कमाउनका लागि इण्डिया गएर बुबाआमालाई बिर्सिए। वर्षौसम्म पनि घरमा फर्किदैनन्’, अमृताले भनिन्,‘तर छोरीले घरमै बसेर हामीलाई राम्रो भएको छ।’
कमलाले बाख्रापालनका साथै घाँसको समस्या भए पनि त्यसको समाधानका लागि घाँस खेती गर्ने सोच रहेको बताइन।