रुपन्देहीमा एक लाख अव्यवस्थित बसोबासी, तीन हजार लालपूर्जा तयार, १८ जनाले पाए

रुपन्देहीमा एक लाख अव्यवस्थित बसोबासीमध्ये तीन हजार जनाको लालपूर्जा तयार भएको छ। त्यसमध्ये पहिलो चरणमा १८ जनाले जग्गाधनी प्रमाणपूर्जा पाएका छन्।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अनुसार जिल्लामा अव्यवस्थित बसोबासीहरुको संख्या करिब एक लाखको हाराहारीमा छ। 'हामीले पहिलो चरणमा १८ जनालाई पूर्जा वितरण गर्‍याैँ, तीन हजार लालपूर्जा तयार छन्, तिनलाई पनि क्रमशः वितरण गर्छौं,' उनले भने।

बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमका बीच १८ जना जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको हो। बुटवल उपमहानगरपालिका वडा नं. १९ का  १२ र मायादेवी गाउँपालिका वडा नं. ८ का ६ जना जग्गाधनीलाई पूर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष आचार्यले जानकारी दिए।

लालपूर्जा पाएपछि जग्गाधनीहरु खुशी भएको पनि आचार्यले बताए। 'हातमा पूर्जा पर्नेबित्तिकै जग्गाधनीहरु खुशी भएका छन्, अब छिटै नै तयार भइसकेका पूर्जा वितरण गरिनेछ,' उनले भने। 

जिल्लाको बुटवल, देवदह, सैनामैना, कञ्चन, मायादेवी, सिद्धार्थनगरमा नापजाँच सकिएर लालपूर्जा वितरणको अन्तिम चरणमा रहेको छ। लालपूर्जा तयार भए पनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनी वितरणमा कठिनाइ भइरहेको बताउँदै सरकारले राजश्वको दायरालाई कम गर्नुपर्ने स्थानीयहरूले बताएका छन्। 

राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले स्थानीय तहको सहकार्यबाट नै अव्यवस्थित जग्गाको नापजाँच भएर लालपूर्जा वितरण गर्न सफल भएको बताए।  

प्रकाशित मिति: : 2022-12-28 12:42:00

प्रतिकृया दिनुहोस्