नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन टुटेपछि राजनीतिक रूपमा एक्लिएको नेकपा एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सामेल गराउने पहल सुरू भएको छ। समाजवादीलाई गठबन्धनमा मिलाएर सरकारमा सहभागी गराउने तयारीका साथ एमाले र माओवादी केन्द्रका नेताहरूले छलफल थालेका हुन्।
एमाले र माओवादीभित्र वाम एकताको पक्षमा वकालत गर्दैआएका नेताहरूले समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरूसँग निरन्तर संवाद गरिरहेका छन्। अध्यक्ष नेपाल र अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच मंगलबार साँझ भेटवार्ता भएको छ। नेता नेपालका सम्धी सोमप्रसाद पाण्डेको निवासमा वार्ता सम्पन्न भएकाे स्रोतले बताएको छ।
हिजै दिउँसो वामपन्थी एकताको पहल गरिरहेका वामदेव गौतमले अध्यक्ष नेपाललाई भेटेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका थिए।
एकीकृत समाजवादी तत्कालीन पाँच दलीय गठबन्धनको महत्वपूर्ण शक्ति थियो। तर,उक्त गठबन्धनबाट छुट्टिएर माओवादी एमालेसँग सहकार्य गर्न पुगेपछि उत्पन्न परिस्थितिमा समाजवादी एक्लिन पुग्यो। अकस्मात विकसित भएको यो घटनाक्रमलाई समाजवादीले कांग्रेस र माओवादीबाट आफूलाई धोका भएको भनेको छ।
तर, एमाले अध्यक्ष केपी ओलीसंगको तिक्ततापूर्ण सम्बन्धका कारण अस्ति बालकोट वार्तामा छुटेका अध्यक्ष नेपाललाई मनाएर समाजवादीलाई एमाले–माओवादी गठबन्धनमा सहभागी गराउन वाम खेमाका नेताहरू सक्रिय भएको बताइएको छ।