चोरीको मोटरसाइकलसहित काठमाडौंको बौद्धबाट मंगलबार दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको झुरझुरे गाँउपालिका-४ घर भइ हाल काठमाडौंको जोरपाटी बस्दै आएका २३ वर्षीय करण बोम्जन र मकवानपुरको बागमती गाँउपालिका ४ घर भइ हाल काठमाडौंको गोठाटार बस्दै आएका २६ वर्षीय नविन लोप्चन रहेका छन्।
वास्तविक नम्बर प्लेट प्रदेश ३-०२-००९ प ४९ ०९ लाई परिवर्तन गरी बागमती प्रदेश ०२-०२१ प ८३ ८८ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित दुवै जनालाई आज ट्राफिक प्रहरीले पक्राउ गरेको हो।
जोरपाटीबाट हराएको उक्त एनएस २०० सिसिको पल्सर मोटरसाइकल कमल श्रेष्ठको नाममा दर्ता रहेको अनुसन्धानबाट खुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।