अमेरिकाको पेन्सेल्भेनिया राज्यको राजधानी ह्यारिसवर्गमा एक कार्यक्रमको आयोजना गरी भुटानका कारागारमा दशकौदेखि कैदी-बन्दी बनाइएका नेपालीभाषी राजनीतिक बन्दीहरूलाई बिनाशर्त रिहाइको माग गरिएको छ।
कार्यक्रम ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (जीसीआरपीपीबी) अमेरिका च्याप्टरले आयोजना गरेको थियो।
अमेरिका च्याप्टरका संयोजक सीएम निरौलाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै भुटानले डिसेम्बर १७ मा नेशनल डे मनाउने भएकाले यही दिनमा राजनीतिक बन्दीहरूको रिहाइको कुरा उठाउँदा अरू बढी ध्यानाकर्षण हुने भएकाले र्याली आयोजना गरिएको बताए। उनले जोड दिएर भने, 'भुटानी आन्दोलन सकिएको छैन, यसको स्वरूप मात्र फेरिएको हो।'
भुटानमा कष्टप्रद जीवन बिताइरहेका राजनीतिक बन्दीहरूको बिनाशर्त रिहाइ, उचित क्षतिपूर्ति र देशमै सम्मानजनक बसोबास नभएसम्म ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (जीसीआरपीपीबी) आफ्नो अभियानमा अडिग रहने उनको भनाइ थियो।
जीसीआरपीपीबी अमेरिका च्याप्टरकी युवा संयोजक तथा कार्यक्रम संयोजक आशिका धौरालीले भुटानका जेलमा हाम्रा आफन्तहरू कष्टप्रद जीवन बिताइरहेको बेला विकसित देशमा रहेका हामीहरू पनि खुशी हुन नसक्ने बताइन्।
भुटानी सामुदायिक अभियन्ता तथा अनुसन्धानकर्ता डा. नारद पोख्रेलले भुटानका जेलमा सयौंको संख्यामा आस्थाका बन्दी भए पनि पर्याप्त सूचनाको अभावमा हामीसँग ४३ जनाको विवरण मात्र रहेको बताए। उनले भुटानी शरणार्थीहरू आज विश्वको विकसित देशमा रहेका नागरिक भैसकेको बताउँदै भुटानका राजबन्दीहरुको बारेमा पर्याप्त चासो र चिन्ता राख्न नसकनु खोलो तरेर लौरो बिर्सेजस्तो भएको बताए।
कार्यक्रममा पेन्सेल्भेनियामा रहेक भुटानी समुदायका अग्रज व्यक्तित्वहरू नारद अधिकारी, टीका ढुंगाना, पासाङ तामाङ, समीक्षा सुवेदी, मोन घलेलगायतका वक्ताहरूले पनि भुटानी आन्दोलनका विविध पक्षमाथि प्रकाश पार्दै भुटानी राजनीतिक बन्दीहरूको रिहाइका लागि हरसम्भव प्रयास गर्नुपर्ने धारणा राखे।
अत्यन्तै चिसो मौसममा पनि पेन्सेल्भेनिया स्टेट क्यापिटल कम्प्लेक्समा आयोजित कार्यक्रममा स्थानीय भुटानी समुदायका अग्रज व्यक्तित्व विश्वनाथ क्षेत्री, माधव फुँयाललगायतका व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो।