भुटानले राष्ट्रिय दिवश मनाइरहेको बेला पुनर्वासमा गएका भुटानी शरणार्थीहरू भने विभिन्न कार्यक्रमहरूको आयोजना गरी भुटानका कारागारमा दशकौदेखि कैदीबन्दी बनाइएका राजनीतिक बन्दीहरूलाई बिनाशर्त रिहाइको माग गर्दै संसारको ध्यानाकर्षण गरिरहेका छन् ।
भुटानी आन्दोलनको एक हिस्साका रूपमा रहेका राजनीतिक बन्दीहरूको रिहाइका लागि अभियान चलाइरहेको ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (जीसीआरपीपीबी) को ब्यानरमा यी कार्यक्रमहरू आयोजना भैरहेका छन् ।
जीसीआरपीपीबी अमेरिका च्याप्टरको आयोजनामा पेन्सेल्भेनिया राज्यको राजधानी ह्यारिसवर्गमा शनिबार एक र्याली आयोजना गरिदैछ। डिसेम्बर १७ र्याली नामाकरण गरिएको र्याली पेन्सेल्भेनिया स्टेट क्यापिटल कम्प्लेक्समा आयोजना हुनेछ।
समस्त नेपालीभाषी भुटानीहरूको बाँच्न पाउँने नैसर्गिक अधिकारका लागि आवाज उठाउने ती राजवन्दीहरूलाई बिनाशर्त रिहाइ गरियोस् भन्ने जोडदार माग गर्दै विश्वको ध्यानाकर्षण गराउन चाहन्छौं।
- आशिका धौराली, युवा संयोजक, जीसीआरपीपीबी अमेरिका च्याप्टर
जीसीआरपीपीबी अमेरिका च्याप्टरकी युवा संयोजक आशिका धौराली भन्छिन्, ‘आज डिसेम्बर १७ २०२२, भुटान आफ्नो राष्ट्रिय दिवश मनाइरहेको छ। तर, यतिबेला भुटानका कारागारहरूमा कयौ नेपालीभाषी भुटानीहरू वर्षौदेखि जेलको चिसो छिँढीमा नारकीय जीवन बिताइरहनु भएको छ।‘
उनी अगाडि थप्छिन्, ‘समस्त नेपालीभाषी भुटानीहरूको बाँच्न पाउँने नैसर्गिक अधिकारका लागि आवाज उठाउने ती राजवन्दीहरूलाई बिनाशर्त रिहाइ गरियोस् भन्ने जोडदार माग गर्दै विश्वको ध्यानाकर्षण गराउन चाहन्छौं।‘
ह्यारिस्वर्गमै रहेका नेपालीभाषी भुटानीमूलका अनुसन्धानदाता तथा सामाजिक अभियन्ता डा. नारद पोख्रेल भन्छन्, ‘ भुटानी आन्दोलनको उद्गमस्थल भुटानका जेलमा आज पनि सयौ नेपालीभाषी भुटानी दाजुभाइहरू कष्टप्रद जीवन बिताइरहनु भएको छ, हामी भने भाग्यले भनौ वा नियतिले, अमेरिका युरोप पुगेका छौं । उहाँहरूलाई जेलमा राखेर हामी कसरी खुशी हुन सक्छौ र ?’
भुटानी आन्दोलनको उद्गमस्थल भुटानका जेलमा आज पनि सयौ नेपालीभाषी भुटानी दाजुभाइहरू कष्टप्रद जीवन बिताइरहनु भएको छ, हामी भने भाग्यले भनौ वा नियतिले, अमेरिका युरोप पुगेका छौं । उहाँहरूलाई जेलमा राखेर हामी कसरी खुशी हुन सक्छौ र ?’
- डा. नारद पोख्रेल
अनुसन्धानदाता तथा सामुदायिक अभियन्ता
उहाँहरूलाई बिना शर्त रिहाइ गराएर सम्मानित जीवन बिताउने दिन नल्याएसम्म आफूहरू चयनको निद्रा निदाउन नसक्ने बताउँदै डा. पोख्रेल भन्छन्, ‘ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (सीसीआरपीबी) हामी सबैको क्याम्पेन हो यो संस्थागत अभियानलाई सफल बनाउन हामी सबै लाग्नुपर्छ ।‘
डिसेम्बर १७ भुटानको राष्ट्रिय दिवश भएकाले यही विशेष दिन पारेर नेपालीभाषी भुटानी राजबन्दी रिहाइका लागि विश्वको ध्यानाकर्षण गरेको बताउँदै डा. पोख्रेल भन्छन्, ‘पहिला त हाम्रो आवाज भुटानका राजाले सुनुन् र सम्पूर्ण राजवन्दीहरूलाई बिना शर्त तुरून्तै रिहाइ गरियोस्, उनीहरूलाई भुटानमै सम्मानपूर्वक बाँच्ने वातावरण बनाइयोस्, उनीहरूली उचित क्षतिपूर्ति दिइयोस् भन्ने नै हो । यदि, त्यसो गर्दैनन् भने संयुक्त राष्ट्र संघ, मानवअधिकार आयोग, एम्नेष्टी इन्टरनेशनललगायतका मानवअधिकारबादी संघ संस्थाहरू र प्रजातन्त्र र मानवअधिकारका लागि प्रतिवद्ध मुलुकहरूले कूटनीतिक पहल गरेर भए पनि त्यसो गर्न लगाउनुपर्छ।‘
भुटानी शरणार्थी समस्यासम्बन्धी शोधपत्र तयार गरेर स्ट्राटेजिक लिडरसिप एण्ड एडमिमिस्ट्रेटिव स्टडिजमा विद्यावारिधि गरेका डा. पोख्रेल भन्छन्, ' भुटानी आन्दोलन सकिएको छैन । केही सिथिल भएको छ । तर, जबसम्म भुटानमा प्रजातन्त्र, मानवअधिकार बहाली भएर हामीलाई दोहोरो नागरिकता प्रदान गरिदैन तबसम्म हाम्रो आन्दोलन कुनै न कुनै रूपमा जारी रहन्छ ।'