रवि लामिछानेका समर्थकले ज्यान मार्ने धम्की दिएकाे भन्दै युवराजले दिए गृह मन्त्रालयमा निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता छानविनको माग गर्दै उजुरी दिने समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले आफूमाथि सुरक्षा खतरा बढेको भन्दै गृह मन्त्रालयमा निवेदन दिएका छन्।

रवि लामिछानेको नागरिकताकाे विषयमा निवेदन दिएदेखि नै आफूमाथि उच्चस्तरकाे सुरक्षा खतरा उत्पन्न भएकाे भन्दै सफलले गृहमा निवेदन दिएका हुन्।

चितवन-२ बाट निर्वाचित सांसद लामिछानेका समर्थकहरुले आफूमाथि पटक पटक ज्यान मार्ने धम्की दिएको उल्लेख गर्दै उनले सुरक्षा माग गरेका छन्।

'रवि लामिछानेका समर्थक, शुभचिन्तकबाट मेराे जिउ ज्यान, मान, सम्मान र प्रतिष्ठामा सुरक्षा थ्रेट आएको छ', उनले दिएकाे निवेदनमा उल्लेख छ।

आवश्यकीय कामका लागि बाहिर निस्किनसमेत सुरक्षा चुनौतीका कारण समस्या भएकाले सो मुद्दाको किनारा नलाग्दासम्म आफूलाई सुरक्षा व्यवस्था गराइदिन गृह मन्त्रालयसमक्ष आग्रहसमेत गरेका छन्।

'नेपाली नागरिककाे हैसियतमा कानुनसम्म कुरा उठाउँदा जिउ ज्यान नै जाेखिम पार्न पर्दा मैले निकै दुख महसुस गरेकाे छु', उनले भनेका छन्।

उनले आफूलाई केही भएको खण्डमा त्यसको जिम्मा लामिछानेका समर्थक र शुभचिन्तकले लिनुपर्ने बताएका छन्।

निवेदनमा भनिएकाे छ, ‘सरकारी निकायले अनुसन्धान गरिरहेको विषयमा एउटा व्यक्तिलाई टार्गेट बनाएर कानुन हातमा लिन खोज्नु नेपालको संविधानविरोधी गतिविधि हो।’

लामिछानेसंग नेपाली नागरिकता नभएको र सरकारलाई भ्रममा पारेर पार्टी दर्ता गराएको भन्दै युवराजले गत मंसिर ६ गते गृहमा उजुरी दर्ता गराएका थिए।

प्रकाशित मिति: : 2022-12-06 17:12:00

प्रतिकृया दिनुहोस्