विश्व स्वयंसेवक दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले असहाय गाई बाच्छा संरक्षण अभियानका लागि रु १५ हजार एक सय सङ्कलन गरी हस्तान्तरण गरेको छ।
शान्ति समाज काठमाडौँ शाखाको तर्फबाट असहाय गाई बाच्छाको भोजनका लागि रु १५ हजार एक सय बराबरको खाद्यान्न उपलब्ध गराइएको अध्यक्ष भगवान् पुडासैनीले जानकारी दिए।
सो अभियानले सडकमा छोडिएका करिब दुई सय गाई बाच्छालाई सहारा दिँदै आएको छ। यसका लागि पशुपति क्षेत्र विकास कोषले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटारमा करिब एक सय रोपनी जग्गा उपलब्ध गराएको छ।
यसै अवसरमा वाग्मती नदी किनारमा विभिन्न जातका फलफूलका बिरुवासमेत रोपिएको छ। कफी तथा जामुनका बिरुवा रोपिएको छ। ती बिरुवा हुर्काउने प्रतिबद्धतासमेत व्यक्त गरिएको उनले सुनाए। समाजले नियमितरूपमा वृक्षरोपण अभियान पनि चलाउँदै आएको छ।
स्वयंसेवक दिवसकै अवसरमा शाखाले वाग्मती सफाइसमेत सम्पन्न गरेको छ। शाखा गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानमा सहभागी हुँदै आएको छ ।