१९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा इटहरीबाट चार जना पक्राउ

सुनसरीको इटहरीमा १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीको १० नम्बर वडा पिपल चौक बूढीखोला किनारमा १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा इटहरीका चार जना युवकलाई प्रहरीले पक्राउ गरेको हो।

गत वैशाख २७ गते वैवाहिक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा राति करिब ८ बजे इटहरी–१० की युवतीलाई सोही स्थान घर भएका २० वर्षीय धीरज चौधरी, २५ वर्षीय विकास चौधरी, २८ वर्षीय मुकेश चौधरी र ३१ वर्षीय सरोज चौधरीले धाकधम्की दिएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

उनीहरुले घटनाबारे कसैलाई सुनाएमा पीडित र पीडितको घर परिवारसमेतलाई मारिदिने धाकधम्की दिँदै आएका थिए। डर त्रासका कारण सात महिनासम्म उजुरी गर्न नआएको पीडितले बयान दिएकी छन्।

प्रहरी कार्यालयका सूचना अधिकृत तथा प्रहरी निरीक्षक भीमबहादुर खड्काले घटनाबारे जाहेरी आएसँगै आरोपी ४ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिए।

प्रहरी निरीक्षक खड्काका अनुसार हाल सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
 

प्रकाशित मिति: : 2022-12-05 18:08:00

प्रतिकृया दिनुहोस्