जुम्लामा निर्वाचनकाे सबै तयारी पूरा

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनकाे तयारी पूरा भएकाे छ। दुर्गमका बुद केन्द्रको निर्वाचन सामग्री सम्बन्धित मतदान अधिकृतलाई बुझाइएको जुम्लाका निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए।

निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुगिसकेका छन्। जुम्लाको सदरमुकाम खलंगादेखि टाढाका मतदान केन्द्रमा कर्मचारीहरुले ती सामग्री बुझ्न थालेका हुन्। निर्वाचनका लागि खटिएका आठ सय ४८ जना कर्मचारी मंसिर १ गते सबै मतदान केन्द्रमा पुगिसकेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ।

सोमबार र बुधबार मतदान र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम दिइएको थियो। यसैगरी निर्वाचन सुरक्षाका लागि एक हजार ९ सय ५४ जना सुरक्षाकर्मीहरु खटिएकाे सहायक प्रमुख जिल्ला अधिकारी मुकेश प्रमिला रिजालले जानकारी दिएकि छन्। जसमा आठ सय ४३ म्यादी प्रहरी, दुई सय २६ नेपाल प्रहरी, ४ सय ५० नेपाली सेना र २ सय ३५ सशस्त्र प्रहरी खटिएका छन्।

उनका अनुसार जुम्लामा १ सय ६ मतदान केन्द्र स्थायी तथा दुई अस्थायी गरी १ सय ८ मतदान केन्द्र र ८६ मतदानस्थल रहेका छन्। एक अस्थायी मतदान केन्द्र कर्मचारी र एक कारागारका कैदीबन्दीका लागि राखिएको छ। कर्मचारी र कारागारमा रहेका कैदीबन्दीले सामानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था छ।

सबै मतदान स्थलहरुमा सुरक्षाकर्मीहरु पुगिसकेको डिएसपी नरेन्द्र चन्दले बताए। जिल्ला निर्वाचन कार्यालयका प्रमुख शर्माका अनुसार जुम्लामा कुल ६८ हजार ६ सय ३८ मतदाता छन्। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा ३६ हजार ७ सय ८३ र प्रदेश (ख) मा ३१ हजार ८ सय ५५ मतदाता रहेका छन्।

प्रकाशित मिति: : 2022-11-17 17:50:00

प्रतिकृया दिनुहोस्