रवि लामिछानेलाई अर्को झट्का: पार्टीको नाम, झण्डा र चुनाव चिन्ह नै विवादमा

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

नेपालको आसन्न चुनावको एक चल्तीका मोहरा रवि लामिछानेको चर्चा र विवाद थामिने संकेत देखिएको छैन। चुनावकै पूर्वसन्ध्यामा उनी एकपछि अर्को विवादमा तानिएका छन्।

मंगलबार उनको नागरिकता विवाद फेरि बल्झियो। अमेरिकी नागरिकता लिएको समयमा नेपाली नागरिकता कायमै राखी दोहोरो नागरिकता राखेर गैरकानूनी काम गरेको भन्दै उनको उम्मेद्वारी खारेज गर्नुपर्छ भनेर निर्वाचन आयोगमा उजुरी पर्यो। आयोगले उनी उम्मेद्वार रहेको चितवन निर्वाचन क्षेत्रको निर्वाचन कार्यालयमार्फत् उनलाई स्पष्टिकरण सोध्यो। आयोगको पछिल्लो भनाइ छ, उनले दिने स्पष्टीकरणको आधारमा कानूनी व्यवस्थाअनुसार प्रक्रिया अगाडि बढ्छ। 

बुधबार रवि लामिछाने फेरि अर्को विवाद तानिएका छन्। यो विवाद उनको राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्धित छ। तथ्यहरूले के देखाइरहेको छन् भने उनको पार्टीको नाम, झण्डा र चुनावचिन्हसमेत अमेरिकाको एक श्वेत राष्ट्रियताववादी दक्षिणपन्थी पार्टीसँग मिलेको छ।

कस्तो पार्टी हो अमेरिकन फ्रिडम पार्टी ?

अमेरिकन फ्रिडम पार्टी सन् २०१० मा स्थापना एक श्वेत राष्ट्रियतावादी अति दक्षिणपन्थी पार्टी हो। यसको वास्तिक नामचाँहि अमेरिकन थर्ड पोजिसन पार्टी ए३पी हो। यो पार्टीका संस्थापक विलियम जोन्सन र केभिन म्याकडोनल्ड हुन्। २००७-२००९ को आर्थिक मन्दीले सिर्जना गरेको आर्थिक समस्यालाई राजनीतिसँग जोडेर भड्काववादी अभियान चलाउनैका लागि यो पार्टी स्थापना गरेका थिए। 

यो पार्टीका पाँच आधारभूत सिद्धान्त छन्, अमेरिकी राष्ट्रवाद, परम्परावादी संरक्षणवाद, दक्षिणपन्थी लोकवाद, श्वेत राष्ट्रवाद र आप्रवासन बिरोध। यी सबै विचारहरू अति दक्षिणपन्थी विचार हुन् जुन विचारहरू अमेरिकाको मूलधारले अस्विकार गर्दै आएको छ। 

यिनै विचारको जगमा उभिएर पार्टीले तत्कालिन डेमोक्रेटिक राष्ट्रपति ओवामाका प्रगतिशील एजेण्डाहरूको भण्डाफोर गर्नुलाई मूल कार्यक्रम बनाएर ओवामा कालभरी नै आफ्नो सारा समय, स्रोत, साधन लगाएर ओवामाका नीतिहरूको उग्रविरोध गरिरह्यो। 

यस पार्टीले २०११ र २०१२ मा केही स्थानमा चुनावमा सहभागी पनि भयो। तर, यसले धेरैमा ०.८८ प्रतिशतभन्दा माथि कहिल्यै मत कटाएन। 

अहिले सभापति पार्टीकै एक संस्थापक विलियम जोन्सन रहेका छन्। उनी पेशाले एक कानून व्यवसायी हुन्।

यो चाहिँ सञ्जोग बनोस्

रविले जीवनमा हरेक कुरा योजनावद्धरूपमा गरेका छन् तर प्रशंसा हुँदा योजनावद्ध र आलोचना हुँदा संजोग भन्ने यो उनको पुरानै बानी हो। कामना गरौं, उनको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै कुरा दक्षिणपन्थी अमेरिकी पार्टीसँग  मिल्न गएको संजोग मात्र बनोस्।

प्रकाशित मिति: : 2022-11-16 08:10:00

प्रतिकृया दिनुहोस्