मतदाताले हामीप्रति देखाउनुभएको उत्साह नै चुनाव जित्ने हाम्रो आत्मविश्वास हो: इश्तियाक राई

जनता समाजवादी पार्टी (जसपा)बाट बाँके क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथ र समर्थनका अगाडि कुनै दलीय गठबन्धनको केही नलाग्ने ठोकुवा गरेका छन्।

जनताको हरेक दु:ख/सुखमा आफूले सधैं साथ दिइरहेको भन्दै राईले फेरि पनि जनताकै चौकीदारी गर्नका लागि आफू चुनावी मैदानमा आएको बताए। र, त्यसको एकमात्रै आधार भनेको आम मतदाताले देखाएको उत्साह र हौसला नै रहेको उनको भनाइ छ।

क्षेत्र नं. २ मा मतदाताहरूको घर घरमा पुगेर भोट अपिल गरिरहेका राईले जनता समाजवादी पार्टीप्रति यो क्षेत्रको मतदाताहरूको अटुट विश्वास र अथाह उत्साह पाइरहेको पनि बताएका छन्।

‘हामी कुनै राजनीतिक दलहरूसँग गठबन्धन गरेर त्यसैको भरमा चुनाव लड्न आइरहेका छैनौं। हामीलाई हामीप्रति नै विश्वास छ। हाम्रा मतदाताप्रति विश्वास छ। जनतासँग जो सधैं सँगसँगै हुन्छ, उसले कहिल्यै हार्नुपर्दैन,’ उनले भनेका छन्, ‘आम मतदाताले म र मेरा अरू साथीहरूप्रति देखाउनुभएको यो प्रेम र स्नेहको गुण मैले यहाँको विकास गरेर तिर्नेछु।’

चुनाव नजिकिँदै जाँदा जनता समाजवादी पार्टीले आफ्नो चुनावी अभियान तीव्र बनाउँदै लगेको छ। बिहान सवेरैदेखि राति अबेरसम्म प्रतिनिधिसभाका उम्मेदवार राई, प्रदेशसभाका उम्मेदवार आदेशकुमार अग्रवाललगायत अन्य समानुपातिक उम्मेदवारहरू तथा जिल्लाका नेता कार्यकर्ताहरू जनताको घरदैलोमा पुगिरहेका छन्।

जसपाको चुनाव प्रचारप्रसार समितिका अनुसार बिहानैदेखि चुनाव परिचालन समितिका स्वंयसेवकहरूले घर घरमा पुगेर हरेक मतदातालाई बदर नहुने गरी मतपत्रमा छाप लगाउन सिकाइरहेका छन्। मतदाता शिक्षासँगै उनीहरूले यो क्षेत्रका यसअघि सांसद र मन्त्रि हुँदा उम्मेदवार राईले गरेका विकासनिमार्णका कामहरुको बारेमा पनि स्मरण गराइरहेका छन्।

‘हामी आफैं पनि बिहानैदेखि रातिसम्मै मतदाताकै घरदैलोमा छौं। मतदातासँग भोटको अपिल पनि गर्छौं र मत खेर नजाओस् भनेर हामीले मतदाता शिक्षा पनि सँगसँगै दिइरहेका छौं’ राईले भने ‘मतदातासँग प्रत्यक्ष भेट्दा जसपा र हाम्रा उम्मेदवारहरूप्रति हामीले उहाँहरूको अथाह उत्साह पाएका छौं। विश्वास पनि गर्नुभएको छ।’

राईले आफूले यसअघि गरेका कामहरूको मूल्याङ्कन यहाँका नागरिकले गरिसकेको र अझै विकासको सम्भावनाका लागि आफूहरूप्रति नै विश्वास व्यक्त गरेको पनि बताए।

‘अब हामी यो भन्न सक्छौं कि मतदाताको आफ्नो विवेकभन्दा ठूलो चुनावमा अरू हुनैसक्दैन। केही दलहरू मिलेर आफ्नो शान र शक्ति देखाउँदैमा भोट आउँदैन’ राई भन्छन् ‘हामीलाई फेरि पनि मतदाताले विश्वास गर्नुभएको छ। त्यही नै हाम्रो चुनाव जित्ने आत्मविश्वास पनि हो। हामीले कुनै पनि मतदाताको सपना खेर जान दिनेछैनौं।’

प्रकाशित मिति: : 2022-11-15 18:04:00

प्रतिकृया दिनुहोस्