मोरङ २ ‘क’ : उप्रेतीलाई गठबन्धन र कार्कीलाई संगठनको भर

चुनाव आउन अब पाँच दिन बाँकी मात्रै छ। उम्मेदवारहरुका लागि प्रचारप्रसारको समयावधि एकदमै कम छ। उम्मेदवारहरु जोडबलका साथ चुनावी अभियानमा लागि रहेका छन्।

मोरङ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा नेकपा एमालेका उम्मेदवार डिबी कार्की र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गणेश उप्रेती प्रतिस्पर्धामा छन्। उप्रेतीको तुलनामा कार्कीको सक्रियता निकै अघि रहेको छ।

एमालेबाट पहिलोपटक उम्मेदवार बनेका कार्की पार्टीको प्रदेश कमिटी सदस्य हुन्। नयाँ उम्मेदवार मैदानमा आएपछि युवा मतदाताको ठुलो हिस्साको रोजाइमा कार्की परेका छन्। दुई दशकदेखिको निरन्तरको स्थानीय सामाजिक सेवाले कार्कीको उम्मेदवारीलाई थप दर्बिलो बनाएको छ। कार्की यतिबेला चुनावी अभियानमा व्यस्त छन्।

यता सत्ता गठबन्धनबात उम्मेदवार बनेका उप्रेती यही क्षेत्रबाट लगातार दुई पटक चुनाव हारेका व्यक्ति हुन्। २०७० मा दोस्रो संविधानसभाको चुनावमा पराजित भएका उप्रेती २०७४ मा भने बाम गठबन्धनबाट प्रदेशसभाको उम्मेदवार थिए। उनी ०७४ मा कांग्रेसका शिवनारायण गनगाईसँग पराजित भएका थिए।

लगातारको हारले जनतामाझ त्यसै पनि अलोकप्रिय बनेका उप्रेती गठबन्धनको साझेदार नेपाली कांग्रेसको मत पाउनेमा अहिलेसम्म विश्वस्त हुन सकेका छैनन्। स्थानीय चुनावमा सिर्जित कांग्रेससंगको कटुता अझसम्म मिलाउन नसक्दा उनले  कांग्रेसको मत आधा पनि नपाउने स्थिति छ। यो क्षेत्रमा कांग्रेसबाट दुई जना बागी उम्मेदवार छन्। तर, कांग्रेसको मत फकाउन उनी जोडबलले लागिपरेका छन्।

कार्कीले शैक्षिक सुधारलाई विशेष जोड दिएर चुनावमा भोट मागिरहेका छन्। गुणस्तरीय शिक्षा प्राप्तिको खाकालाई उनले प्रमुखताका साथ उठाएका छन्। युवा रोजगारी उनको अर्को प्राथमिकताको क्षेत्र हो। त्यसैगरी स्वास्थ्यसेवा, कृषि विकासलगायतका विषयहरुको योजना उनले टोलटोलमा गएर प्रस्तुत गरेका छन्। उनी आफूप्रति मतदाताको विश्वास दिन प्रतिदिन बढ्दै गइरहेको बताउँछन्।

यता उप्रेतीले मजदुर, किसान, शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषयलाई प्राथमिकताका साथ अगाडि बढाएका छन्। लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको र जनताको मतको रक्षा गर्न गठबन्धनको विजय हुनुपर्ने उनको तर्क छ।

यस्तो छ अंकगणीत

तीन स्वतन्त्रसहित १२ उम्मेदवार रहेकाे यो क्षेत्रमा मुख्य गरी एमाले र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ। यो क्षेत्रमा ६१ हजार ५८ कुल मतदाता रहेका छन्। रतुवामाई नगरपालिकासहित सुनवर्षी नगरपालिकाको ६, ७, ८ र ९ वडा पर्छ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको मत परिणामअनुसार एमालेको मत १५ हजार २७९ छ। कांग्रेसको १३ हजार ७२७, माओवादीको ४ हजार ३१, राप्रपाको १ हजार ४३३ र जसपाको २ हजार ४७२ मत रहेको छ।

१४ वडा रहेको प्रदेश ‘क’ मा एमालेले ८ वटा वडा, कांग्रेसले ५ र माओवादीले १ वडामा वडाअध्यक्ष जितेको छ।

प्रकाशित मिति: : 2022-11-15 11:09:00

प्रतिकृया दिनुहोस्