जुम्लामा बलियाे बन्दै एमाले

दिउँसाे १ बजे नेकपा (एमाले)काे पार्टी कार्यालयभित्र मलिन अनुहार लिएर नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जुम्ला इन्चार्ज देविलाल थापा छिर्दै गर्दा एमाले नेता कार्यकर्ताकाे अनुहार उज्यालो थियाे।

त्यसअघि नै मञ्चमा बसेका समाजवादी जुम्ला अध्यक्ष आदिप्रसाद न्याैपाने प्रेस विज्ञप्तिमा सही गर्दै थिए। त्याे प्रेस विज्ञप्ति थियाे, नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एमालेमा समायोजन हुने विषयकाे। उनले आफ्नाे काम नसकाउन्जेल कार्यक्रम अगाडि बढेन।

याे दृश्य थियाे, साेमबार एमालेले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रमकाे। मञ्चकाे कुनामा बसेकी नेकपा एमालेकाे प्रतिनिधि सभा समानुपातिक तर्फकी उम्मेदवार मेनका पछाईले मुख फाेडेरै भनिन्,‘आज बल्ल पार्टी कार्यालय उज्यालो भयाे।’

उनले अगाडि थपिन्,‘मेरो जीवनकालमा खुसीका क्षणहरु मध्येमा आजको दिन पनि एक हो। लामो समयसम्म सँगसँगै हिँडेका साथीहरु केही समय छट्टिनुभएको थियो। आज फेरि सँगै भएका छाैँ। जुम्लाको सिङ्गाे एकीकृत समाजवादी पार्टी कमिटी नेकपा (एमाले)मा समायोजन भएको छ ! कम्रेडहरुलाई हार्दिक स्वागत। अब मुख फाेरेर छाती खाेलेर एमाले जिन्दावाद भन्ने दिन आए।’

उनले हरेक कार्यकर्ताकाे भावनाकाे प्रतिनिधि आवाज बाेल्दै गर्दा एमाले र समाजवादीमा आवद्ध पेशागत संगठनका जिम्मेवार पदाधिकारी खुसी थिए। नेता थापा मञ्च उक्लिदै गर्दा कार्यकर्ताहरुले तालीले खुसी प्रकट गरे। उनकाे मुहार थाेरै उज्यालियाे।

नेताहरुकाे केही समयकाे खुसिमुसीपछि एमाले जिल्ला कमिटी सचिव धनकृष्ण पाण्डेले कार्यक्रमलाई औपचारिक रुपमा अगाडि बढाए। लामाे फहेरिस्तवाला आशनग्रहणकाे कार्यक्रम उस्ताे बाेझिलाे थिएन। किनभने, पार्टीको ओझ बड्दै थियो।

त्यही बीचमा एमालेका जुम्ला अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादीका जुम्ला अध्यक्षले संयुक्त रुपमा हस्ताक्षर गरेकाे विज्ञप्तिमार्फत पार्टी एकताको घाेषणा कार्य तालिका थियाे। विज्ञप्ति दुबै जनाले सँगै पढ्न सम्भव थिएन। त्यसकारण एकीकृत समाजवादीका अध्यक्ष न्याैपानेले एकताको सन्देश दिन मन्तव्य दिने र एमाले अध्यक्ष महतले विज्ञप्ति पढ्ने चाँजोपाँजो मिलाइयाे।

स्पष्ट वक्ताकाे परिचय बनाएर स्थापित भएका न्याैपानेले एमालेबाट विद्राेह गरेर समाजवादी पार्टी निर्माण गर्नुकाे ओैचित्य समाप्त भएकाे दलिल पेश गर्दै भने,‘प्रतिगमन विराेधि आन्दोलनमा एक दिन पनि आफ्नाे अनुहार नदेखाएका गठबन्धनका उम्मेदवार ललितजंघ शाहीकाे झाेला बाेक्नुभन्दा एउटै थालमा भात खाएका, एकै ओछ्यानमा सुतेका, एउटै सिद्धान्तलाई मार्गदर्शन मानेका साथीकाे झाेला बाेक्नु जाति भनेर हाम्राे रगत पसिनाले निर्माण गरेकाे घरमा फर्किएका छाैं।’

उनले पुरानो घर सम्झेर सिङ्गाे पार्टी एमालेमा समायोजन गर्ने घाेषणा गर्दै गर्दा एकीकृत समाजवादीका केन्द्रीय महासचिव डा. वेदुराम भुसालले उनी लगायत पाँच जना नेतालाई कारबाही गरेकाे विज्ञप्ति निकालिसकेका थिए।

एउटा पार्टीको जिम्मेवार पदमा बसेर केन्द्रकाे आदेश नमानी एमाले पार्टीमा फर्किन लाग्दै गर्दा कारबाही गर्नुलाई स्वाभाविक रुपमा लिएकाे प्रतिक्रिया उनले दिँदै गर्दा उनैकाे हस्ताक्षर भएकाे विज्ञप्ति एमाले जुम्ला अध्यक्ष महतले पढेर सुनाए।

दुई पक्षीय सहमतिपछि तयार पारिएकाे विज्ञप्तिमा समाजवादी पार्टीमा लागेका नेता कार्यकर्ताकाे आत्मसम्मानकाे विषयलाई प्राथमिकता दिइएकाे थियो। पार्टी प्रवेश शब्दकाे विकल्पमा समायोजन वा एकीकरणलाई प्रयाेग गरिएकाे थियाे भने भविष्यमा एमाले निर्माण गरी जिल्लाकाे एक नम्बर पार्टी बनाउने दृढ संकल्प गरिएकाे थियाे।

महतले विज्ञप्ति पढेर सनाउँदै गर्दा हिजाे अनेक आराेप र लाल्छना लगाउँदै विद्राेह गरेका नेताहरु पत्रकारको निशानामा परे। त्यसकाे उचित बैठान भने अध्यक्ष न्याैपाने र नेता थापाले पालैपालो गरी गरे।

थापाले भने,‘एमाले हामीले बनाएकाे घर हाे। हामी मज्जाले मिलेर बसेका थियौं। भाेलि मज्जाले मिलेर बस्न सक्छौं। यत्ति हाे एक वर्ष हामी गयल भयाैं। एकीकृत समाजवादी पार्टीले केन्द्रीय स्तरबाटै विद्राेह गर्नुकाे ओैचित्य पुष्टि गर्न सकेन। बरु उल्टै एमसीसी र नागरिकता विधेयक पारित गराउन कांग्रेस र माओवादीकाे मतियार बन्याे।’

यसरी समाजवादी पार्टीका बहुमत नेता कार्यकर्ताले एमाले हुने निर्णय गरेसँगै अब जुम्लामा एमालेकाे उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ। अन्य पार्टीहरु भित्रकाे तिब्र असन्तुष्टि र बागी उम्मेदवारकाे बिगबिगी तथा ज्ञानेन्द्र शाहीको उम्मेदवारी हुँदा गठबन्धन घट्दाे शक्तिको रुपमा देखिएकाे छ भने एमाले बढ्दाे शक्तिकाे रुपमा उदाएकाे छ।

पार्टी समायोजन भएर भर्खरै एमालेमा फर्किएका युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् जुम्ला जिल्ला ईन्चार्ज हरि कृष्ण थापाले अब जस्तोसुकै अवस्थामा पुरानो पार्टीलाई एक बनाउने अभियानमा जुटेरै छाेड्ने बताए।

‘विभाजनको औचित्यता पुष्टि गर्न नसक्ने, नागरिकता विधेयक, एमसीसी, एसपीपीजस्ता राष्ट्र हितविपरीतका विधेयक र सन्धी सम्झौताहरुमा व्यापक जन बिरोध हुँदा हुँदै पनि मुखदर्शक भइदिँदा पार्टीमा बसिरहनु उचित भएन,’ उनले भने,‘स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडमा काङ्ग्रेस र माओवादीबाट अपमानित हुँदा पनि नेतृत्व निरीह बन्ने तथा पार्टीलाई माओवादीमा विलय गर्ने पहल सुरु हुन थालेपछि आफ्नाे घर फर्किनु र त्यसलाई मजबुत बनाउनुकाे विकल्प रहेन। अब हाम्राे प्रयत्न एमालेलाई जुनसुकै मूल्यमा बलियाे बनाउनु हाे।’

पार्टी एकतापछि जुम्लामा एमाले बलियाे बन्दै जानेमा दुबै पार्टीका नेताहरुकाे एक स्वर छ। उनीहरुले भने,‘अब प्रतिनिधि सभाका उम्मेदवार रतननाथ याेगी, प्रदेश (क) का धिरेन्द्रराज गिरी र प्रदेश (ख) का टेकराज पछाई उम्मेदवार जिताउनु हाम्रो पहिलो कर्तव्य हाे।’

समाजवादीबाट एमाले फर्किएका नेता कार्यकर्ताले तत्काल कुनै प्रकारको जिम्मेवारी नलिइ एमाले पार्टी जिताउन लागिपर्ने अध्यक्ष न्याैपानेले बताए। ‘हामी हाम्राे घर बनाउन आएका छाैं। विगतमा हामीले गरेका कमजोरीका कारण दुबै पार्टी पछारियाैं। अब पनि पदकै लागि मरिहत्ते गरेर शिक्षा लिन थालेनाैं भने पछुतो मात्रै हुनेछ भनि याे सुदुर यात्रा तय गरेका हाैं।’

विज्ञप्ति:

प्रकाशित मिति: : 2022-11-08 08:25:00

प्रतिकृया दिनुहोस्