कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्गनामले निर्वाचन आचारसंहिता विपरित राजनितिक दल नेकपा एमालेको भोट माग्दै गरेको पाइएको छ।
कानेपोखरी गाउँपालिका वार्ड नं ६ र ७ मा इङ्गनामले मोरङ क्षेत्र नं ३ मा एमालेबाट प्रतिनिधि सभा तर्फका उम्मेदवार भानुभक्त ढकाल र प्रदेश सभा (क) तर्फका उम्मेदवार दिलिपकुमार राईको भोट मागेको पाइएको हो।
इङ्गनामले निर्वाचन लक्षित गरिएको अगुवा कार्यकर्ता भेलामा कानेपोखरी ६ र ७ का स्थानीय व्यक्तिहरुलाई पार्टी प्रवेश गराउँदै एमालेको भोट मागेको हो।
इङ्गनामले आफू कार्यक्रममा उपस्थित भएको तर नेताहरुसँग भेट गर्न मात्र गएको फोन सम्पर्कमा बताएकी छन्।
उनले एमालेले कुनै घरदैलो कार्यक्रम कानेपोखरीमा नगरिएको तर पार्टीको काममा नेताहरुसँग उपस्थिती भएको स्विकार गरेकी छन्। यद्यपि 'एमाले जिताउँ अभियान कानेपोखरी' नामक फसबुक पेजले घरघरमा गाउँपालिका अध्यक्षसहित मोरङ क्षेत्र नम्बर ३ मा एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार भानुभक्त ढकालको टिम पुगेको जिकिर गरेको छ।
प्रतिनिधि सभा मोरङ क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले स्थानीय तहका प्रतिनिधि जो कोहिले आफ्नो पालिका भन्दा बाहिर रहेर मात्र पार्टीको काममा उपस्थित हुन पाउने व्यवस्था रहेको बताएका छन्।