कांग्रेस लगायतका ठुला पार्टीहरुले मधेसी जनतालाई शोषण गरे : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस लगायतका ठुला पार्टीहरुले मधेसी जनतालाई शोषण गर्दै आएकोले जसपाले मात्र मुक्ति दिलाउने बताएका छन्। सप्तरीको महदेवा गाउँपालिकास्थित बलिया मठमा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

शोषित उत्पीडित जनताको हक अधिकार स्थापित गराउन आफूहरु अझैं संघर्षरत रहेको बताउँदै अध्यक्ष यादवले भने,‘काँग्रेस लगायतका ठुला भनाउँदा पार्टीहरुले मधेस र मधेसी जनतालाई शोषण मात्र गर्दै आएको छ, शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा जसपाको हो।’

पहिचान, स्वाभिमान, समावेशीता र समानताका लागि आफूहरु पार्टीको स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको चर्चा गर्दै अध्यक्ष यादवले शोषण, दमन एवम् विभेदमा पारिएको समुदायका लागि अझैं संघर्षरत रहेको चर्चा गरे। अबको वैकल्पिक शक्तिको रुपमा जसपा नेपाल मात्र रहेकोले आउने निर्वाचनमा जनताले मतदान गरेरै आफ्नो अभिमत जाहेर गर्ने उनले विश्वास व्यक्त गरे।

विकास सम्बन्धी मानवीय सूचकाङ्क अनुसार पछाडि परेको जिल्लाहरुमा सप्तरी देशमै तेस्रो तथा प्रदेशमा रौतहट पहिलो र सप्तरी दोस्रो रहेको चर्चा गर्दै अध्यक्ष यादवले भने,‘सप्तरी मेरो जन्मभूमि हो, यहीँको माटोमा जन्मे, हुर्कें र विद्यालय शिक्षा पनि यहीं प्राप्त गरेँ, त्यही भएर गत निर्वाचनमा उम्मेदवारी दिएँ र भारी मतले प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएँ।’

आफूले सप्तरीमा नर्सिङ्ग कलेज, इन्जिनियरिङ्ग कलेज, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय सय शैय्याको अस्पताललाई ४ सय २० बेडको सुविधा सम्पन्न अस्पताल, सडक सञ्जाल विस्तार, विद्यालय भवन निर्माण लगायतका कामहरु गरेको जानकारी गराउँदै उनले भने, ‘मैले र मेरो पहलमा भएका कामहरु छर्लङ्ग छ, जनतालाई विकास गर्ने जनप्रतिनीधि चाहियो कि झुठा आश्वासन बाँड्ने नेता ? सचेत जनता भ्रमको खेती गर्नेहरुमाथि विश्वास गदैन।’

कार्यक्रममा पार्टीका नेता समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रीय प्रवक्ता मनिष सुमन, नेता विकासकुमार तिवारी, राजनीतिक समिति सदस्य एवम् मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, पूर्व सांसद रञ्जु ठाकुर, नेता राजनारायण साह, महिला नेता सावित्री पन्डित, महदेवा गाउँपालिकाका पुर्व अध्यक्ष दिपककुमार यादव लगायतले मन्तब्य व्यक्त गरे।

प्रकाशित मिति: : 2022-10-20 20:41:00

प्रतिकृया दिनुहोस्