आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मंगोल नेशनल अर्गनाइजेशनका २३८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
असोज २३ गते सम्पन्न भएको निर्वाचनको उम्मेदवारी दर्ता कार्यक्रममा उनीहरुले संगठनको तर्फ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य तर्फको प्रत्यक्ष उम्मेदवारको उम्मेदवारी दिएका हुन्।
यो निर्वाचनका लागि एमएनओले ५० जिल्लामा आफ्नो उम्मेदवार खडा गरेको छ। जसमध्ये प्रतिनिधि सभा सदस्य तर्फ ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा सदस्य तर्फ १४८ जनाले उम्मेदवारी दिएका छन्।
प्रतिनिधि सभा सदस्यका लागि प्रदेश १ मा २६, मधेस प्रदेशमा ६, बाग्मतीमा २३, गण्डकीमा १५, लुम्बिनीमा १९ र सुदुरपश्चिमबाट १ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी प्रदेश सभा सदस्यका लागि १ प्रदेशमा ४४, मधेसमा ६, बाग्मतीमा ३७, गण्डकीमा २९, लुम्बिनीमा ३१ र सुदुरपश्चिमबाट १ जनाले उम्मेदवारी दिएका छन्।
यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचेले इलामको क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दिएका छन् भने केन्द्रीय मुल सचिव थमनबहादुर बुढा मगरले पाल्पाको क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दिएका छन्।
त्यस्तै केन्द्रीय सचिव सन्तोष तामाङ झापा क्षेत्र नम्बर-१, केन्द्रीय प्रवक्ता दिलीप धिमाल झापा क्षेत्र नम्बर-४ र केन्द्रीय प्रचार सचिव मणि पापो लिम्बु इलाम क्षेत्र नम्बर-२ बाट लड्दैछन्।