मुख्यमन्त्री केसीद्वारा उम्मेदवारी फिर्ता लिन धम्की

file photo
file photo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले  उम्मेदवारी फिर्ता लिन हाम्रो नेपाली पार्टीका उम्मेदवारलाई दबाव दिएका छन्। 

दाङ-१ (क) बाट हाम्रो नेपाली पार्टीको तर्फबाट उम्मेदवार बनेका टंकबहादुर विष्टलाई मुख्यमन्त्री केसीले उम्मेदवारी फिर्ता लिन दबाव दिएका हुन्।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफूलाई घरबाट गाउँपालिकाको कार्यालय लगेर मुख्यमन्त्री केसीसँग भेट गराएको र भेटमा मुख्यमन्त्रीले उम्मेदवारी फिर्ता नलिए नराम्रो हुने धम्की दिएको विष्टले बताए। 

माओवादी केन्द्रका नेताहरुले उम्मेदवारी फिर्ता लिन दबाव दिइरहेको बताउँदै उनले सोही कारण मोबाइल नै अफ गरेर बस्नुपरेको बताए। 

‘पूर्व सभामुख कृष्णबहादुर महराले घरमै आएर उम्मेदवारी फिर्ता लिन दबाव दिँदा मैले मलाई नै सहयोग गर्न आग्रह गरेको थिएँ, अहिले फेरि नराम्रो हुने भन्दै दबाव आइरहेको छ’उनले भने। 

विष्टले मुख्यमन्त्री केसीलाई आफू जनताको बीचमा गइसकेकाले उम्मेदवारी फिर्ता गर्न नसक्ने जानकारी गराएको बताए।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भने दबाब दिएको कुरालाई अस्विकार गरेका छन्। 

उनले भने,‘आज विहान रात वितरण लगायत कामका लागि जाने क्रममा उहाँको घर हुँदै गाउँपालिका आउने क्रममा मुख्यमन्त्रीलाई भेट्न भन्दै आफैँ मेरो गाडीमा आउनु भएको हो। उहाँले मुख्यमन्त्रीलाई पनि भेटेको कुरा सत्य हो। तर, दबाब दिएको कुरा सत्य होइन।’

आफूहरू दाजुभाइ रहेको बताउँदै प्रकाशले गाउँपालिका कार्यालयमा सँगै जाँदा उम्मेदवारी फिर्ताका बारेमा कुरा नगरेको दाबी गरे। बरु मुख्यमन्त्री र आफूले उम्मेदवार भएकोमा शुभकामना व्यक्त गरेको उल्लेख गरे। 

‘विगतमा एउटै पार्टीमा रहेर काम गरेका कारण मुख्यमन्त्रीले पनि उहाँलाई शुभकामना दिनुभएको थियो। अन्यथा कुरा भएको छैन’ उनले भने।

प्रकाशित मिति: : 2022-10-12 19:24:00

प्रतिकृया दिनुहोस्