अघिल्लाे प्रदेश सभाका ४० सदस्यमध्ये एक तिहाइले यसपटक पनि उम्मेदवार बनेका छन्। निवर्तमान प्रदेश सभा सदस्यहरूमध्येबाट प्रतिनिधि सभा र प्रदेश सभामा रहेका १४ जनाले मनोनयन दर्ता गराएका हुन्।
कर्णाली प्रदेश सभाको सदस्य बन्ने दौडमा नौ जना पुराना अनुहार दोहोरिएका छन् भने चार जना निवर्तमान प्रदेश सभा सदस्यले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
सुर्खेत- १ ‘क’ मा निवर्तमान प्रदेश सभा सदस्य ठम्मर विष्ट उम्मेदवार बनेका छन्। अघिल्लो निर्वाचनमा उनी माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित भएका थिए। नेकपा विभाजनपछि एमाले रोजेका उनलाई अहिले फेरि एमालेले पनि प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ।
सुर्खेत- २ ‘क’ मा यामलाल कँडेल उम्मेदवार बनेका छन्। निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका उनी एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज हुन्। कँडेल ०७४ सालको निर्वाचनमा कर्णालीको मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशमा झरेका थिए। अघिल्लो कार्यकालमा सो अवसर नपाएका कँडेल अहिले पनि एमालेबाट मुख्यमन्त्रीका दाबेदार हुन्।
माओवादी केन्द्रले सुर्खेत- २ ‘ख’ मा निवर्तमान प्रदेश सभा सदस्य विन्दमान विष्टलाई नै टिकट दिएको छ। उनले उक्त क्षेत्रबाट सत्तारुढ गठबन्धनको उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन्। विष्ट कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री समेत हुन्।
दैलेख- १ ‘क’बाट ०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्य बनेका धर्मराज रेग्मी यसपटक पनि प्रदेशकै उम्मेदवार बनेका छन्। अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित उनलाई अहिले एमालेले उम्मेदवारका लागि अघि बढाएको छ। रेग्मीले पनि नेकपा विघटनपछि एमाले रोजेका थिए।
सल्यान प्रदेश सभा ‘ख’ बाट निवर्तमान प्रदेश सभा सदस्य गुलाबजंग शाह यसपटक पनि उम्मेदवार बनेका छन्। हालका मुख्यमन्त्री जीवनबहादुर शाही फेरि प्रदेश सभा सदस्यकै लागि चुनावी प्रतिस्पर्धा गर्दैछन्। शाही अघिल्लो पटक कांग्रेसबाट कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित हुने एक्ला सदस्य हुन्।
हुम्ला प्रदेश सभा ‘ख’ को उम्मेदवारका लागि मनोनयन दर्ता गराएका उनलाई अहिले सत्ता गठबन्धनको साथ छ। जुम्लामा निवर्तमान प्रदेश सभा सदस्य पदम रोकाय फेरि प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका छन्। अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित भएका रोकाय पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका छन्। यसपटक सत्तागठबन्धनले उनलाई जुम्ला प्रदेश सभा ‘ख’ बाट उम्मेदवारमा अघि बढाएको छ।
पूर्व मुख्यमन्त्री समेत रहेका माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले यसपटक प्रतिनिधि सभा रोजेका छन्। उनी २०७४ सालमा भने प्रदेशमा झरेका थिए। अहिले फेरि प्रतिनिधि सभा सदस्यका लागि उनले एक मात्र क्षेत्र रहेको कालीकोटबाट मनोनयन दर्ता गराएका छन्। अघिल्लो निर्वाचनमा हुम्लाबाट प्रदेश सभा सदस्य निर्वाचित एमालेका दल रावल पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्।
उनी कर्णाली प्रदेश सरकारका पूर्व मन्त्रीसमेत हुन्। निवर्तमान प्रदेश सभा सदस्य अमरबहादुर थापा यसपटक प्रतिनिधि सभा सदस्यको दौडमा छन्। उनले दैलेख- १ बाट सत्ता गठबन्धनको उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन्। ०७४ सालमा एमालेबाट प्रदेशमा निर्वाचित थापा हाल नेकपा एसमा छन्।
पहिलो कार्यकालमा एमालेबाट प्रदेश सभा सदस्य निर्वाचित प्रकाश ज्वाला यसपटक प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका छन्। सल्यानबाट निर्वाचित उनले एमाले विभाजनपछि नेकपा एस रोजेका थिए। उनी कर्णाली सरकारका पूर्व मन्त्री समेत हुन्। ज्वाला यसअघि पनि प्रतिनिधि सभाको सांसद भइसकेका छन्। अहिले उनलाई सत्ता गठबन्धनको साथ छ। नेकपा एमालेले सुरुमा एकल सिफारिस गरेर उम्मेदवार बनाएको डोल्पाकी बदमी क्वारी बोहोरालाई अन्तिममा टिकट नदिएपछि प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार बनेकी छन्।
कर्णाली प्रदेश सभाका ४० मध्ये २७ जना निर्वतमान सदस्यले यसपालि टिकट नै पाएनन्। पहिलो कार्यकालमा कर्णालीको सभामुख बनेका राजबहादुर शाही र उपसभामुख पुष्पा घर्तीसहित मन्त्री बनिसकेका कतिपयले यसपटक उम्मेदवार बन्ने अवसर नै नपाएका हुन्। घर्ती माओवादी केन्द्रबाट समानुपातितर्फ सिफारिस भए पनि बन्द सूचीमा परिनन्।
अमृता शाहीलाई कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस गरे पनि उनले अन्तिममा टिकट पाइनन्। प्रदेश सभा सदस्य करवीर शाही, कृष्ण शाह, कौशिलावती खत्री, खड्कबहादुर खत्री, गणेशप्रसाद सिंह, गोपाल शर्मा, चन्द्रबहादुर शाही, झोवा विक, दानसिंह परियार र दिनबन्धु श्रेष्ठले पनि टिकट पाएनन्।
एमालेका खड्कबहादुर खत्री उम्मेदवारका लागि निर्वाचन क्षेत्रबाट एकल सिफारिस भए पनि अन्तिममा पार्टीले उनलाई टिकट दिएन। खत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, निवर्तमान प्रदेश सभा सदस्य देवी ओली, नरेश भण्डारी, पद्मा खड्का, मिनासिंह रखाल, यज्ञबहादुर बुढाक्षेत्री, राजु नेपाली, रातो कामी, विमला केसी, सीता नेपाली, सुशील थापा, हिमबहादुर शाही, शोसिला शाही र नन्दसिंह बुढाले पनि यसपालि उम्मेदवार बन्ने अवसर नपाएका हुन्। दलहरूले समानुपातिकतर्फ पनि पुरानालाई भन्दा नयाँ अनुहारलाई प्राथमिकता दिएका छन्।
कर्णालीमा अघिल्लो निर्वाचनमा प्रतिनिधि सभा सदस्य बनेका पाँच जना यसपटक पनि सोही पदको दौडमा छन्। पार्टीले उनीहरूलाई दोहोर्याएर प्रतिनिधि सभा सदस्यका लागि टिकट दिएको हो। एमालेले सुर्खेतमा प्रतिनिधि सभाका दुई वटा निर्वाचन क्षेत्रमध्ये एउटामा निवर्तमान प्रतिनिधि सभा सदस्यलाई नै उम्मेदवारका लागि मनोनयन दर्ता गराएको छ।
सुर्खेत- १ मा ध्रुवकुमार शाहीले अहिले पनि टिकट पाएका छन्। कांग्रेसले अघिल्लो निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा पराजय भोगेका पूर्णबहादुर खड्कालाई सुर्खेत- १ र हृदयराम थानीलाई सुर्खेत- २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ। एमालेले दैलेख- १ बाट प्रतिनिधि सभा सदस्यका लागि यसपालि पनि निर्वतमान प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्मालाई उम्मेदवार बन्ने मौका दिएको छ।
डोल्पाबाट धनबहादुर बुढाले फेरि पनि प्रतिनिधि सभाको टिकट पाएका छन्। जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतलाई यसपालि पनि प्रतिनिधि सभाको टिकट दिइएको छ। ०७० सालको दोस्रो संविधानसभा सदस्यमा निर्वाचन भएका बस्नेत ०७४ सालको प्रतिनिधि सभा सदस्यमा पनि विजयी भएका थिए। यसपटक पनि उनी सत्ता गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका हुन्।
रुकुम–पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्मालाई नै प्रतिनिधि सभाको टिकट दिइएको छ। उनी ०६४ सालको संविधानसभा सदस्यको निर्वाचनयता लगातार उम्मेदवार बनेर संसद प्रतिनिधित्व गर्दै आएका छन्।