मोरङ क्षेत्र नम्बर १ को प्रदेश (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रेम वर्देवाको उम्मेदवारी खारेज भएको छ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका कारण निर्वाचन आयोगले बर्देवाको उम्मेदवारी खारेज गरेको हो।
प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका बर्देवामाथि लुम्बिनी विकास बैंकमा रकम नभएको खाताको चेक काटेर दिएको आरोप छ।
रकम नभएको उक्त खातामा तीन पटकसम्म पनि पैसा जम्मा नगरेपछि चेक बाउन्स गरेर बैंकले कर्जा सूचना केन्द्रलाई जानकारी गराएको पाइएपछि बर्देवाको उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृत गोपालप्रसाद थापाले जानकारी दिए।
यस्तै जरिवाना नतिर्ने सिके राउत नेतृत्वको जनमत पार्टीका दीपेन्द्र चौधरीको उम्मेदवारी खारेज भएको छ। चौधरीले क्षेत्र नम्बर २ को प्रदेश (क) बाट उम्मेदवारी दिएका थिए।
चौधरी गत स्थानीय तहको निर्वाचनमा रतुवामाई नगरपालिका वडा नम्बर ३ मा वडाध्यक्षको उम्मेदवार थिए।
वडा अध्यक्षमा चुनाव लडेका चौधरीले निर्वाचन खर्च विवरण नबुझाएपछि आयोगले उनीमाथि जरिवाना गरेको र जरिवाना वापतको रकम नतिरेकाले उनको उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृत नगेन्द्र केशरी पोखरेलले जानकारी दिए।