प्रतिनिधि सभा सदस्यका लागि रूपन्देही– २ बाट उम्मेदवारी दिएका कमल भुसाल (निकाेलस)ले आफ्नाे उम्मेदवारी खारेज हुनु दुखद भएकाे बताएका छन्।
उनले उम्मेदवारी दिनुअघि नै कानुनविद्हरूसँग छलफल गर्दा त्यस्ताे केही समस्या सिर्जना नहुने भनेरै उम्मेदवारी दिएकाेले अहिले आएर उम्मेदवारी खारेज हुँदा आफूहरू छाँगाबाट खसे झैँ भएकाे प्रतिक्रिया दिए। ‘हामीले कानुनविद्सँग छलफल गरेरै उम्मेदवारी दिएकाे हाे। यस्ताे हाेला भन्ने त साेचेकै थिएनाैँ तर अहिले आएर पहुँच र पावरकाे भरमा हामीलाई राेक्ने काम भयाे,’ भुसालकाे भनाइलाई उद्दृत गर्दै सचिवालयले भन्याे,‘आम मतदातामा उत्साह फैलिएका बेला यस्ताे खबर आउँदा हामी छाँगाबाट खसे झैँ भयाैँ।’
अब यसबारे थप छलफल गरेर बाँकी निर्णय गर्ने तयारी भएकाे उनकाे सचिवालयले जनाएकाे छ। ‘यसबारे अहिले हामी के गर्ने भन्ने छलफलमै छाैँ, साेचेर सही निर्णय लिन्छाैँ,’ सचिवालयले भन्याे।
निर्वाचन आयाेगकाे याे निर्णयले जनतामा निराशा पैदा भएकाे उनीहरूकाे भनाइ छ।
प्रतिनिधि सभामा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका डा.भुसालको प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाे भन्दै निर्वाचन आयाेगले मंगलबार राति उनकाे उम्मेदवारी खारेज गरिदिएकाे हाे।
भुसालविरुद्ध स्वतन्त्र उम्मेदवार विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दर्ता गराएका थिए। उनीविरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो।
भुसालले करिब ६ महिनाअघि देखि स्वतन्त्र उम्मेदवारी दिने गरी चुनावी अभियान सुरू गरेका थिए।