रौतहटमा सत्ता गठबन्धनबाटै बागी उम्मेदवारी, गठबन्धनभित्र खटपट

file Photo
file Photo

रौतहटमा सत्ता गठबन्धनमै रहेका दलका प्रतिनिधिले प्रतिनिधिसभा र प्रदेशसभामा बागी उम्मेदवारी दिएपछि गठबन्धनमा आवद्ध दलहरूबीच विवाद सुरू भएको छ। रौतहटका चार निर्वाचन क्षेत्रमध्ये तीन वटामा सता गठबन्धनमै रहेका दलले बागी उम्मेदवारी दिएका हुन्।

सहमतिअनुसार क्षेत्र नम्बरमा सता गठबन्धनमा रहेको माओवादी केन्द्रको भाग परेको थियो। यहाँ माओवादीका धिरज भन्ने रवीन्द्र पटेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका थिए।

एमाले गठबन्धनबाट स्थायी समिति सदस्य प्रभु साहले टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराए। लगत्तै कांग्रेसका महाधिवेशन प्रतिनिधि ओमप्रकाश जयसवालले पनि प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीलाई पटक पटक आग्रह गर्दा पनि टिकट नदिएकाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जयसवालले बताएका छन्। यसैगरी केन्द्रीय सहमतिअनुसार रौतहट क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा कांग्रेसलाई , प्रदेश ‘क’ माओवादी केन्द्र र प्रदेश ‘ख’ एकीकृत समाजवादीको भागमा परेको थियो।

सहमतिअनुसार कांंग्रेसबाट प्रतिनिधिसभामा देवप्रसाद तिमल्सिना, प्रदेश ‘क’ का माओवादी केन्द्रका युवराज भट्टराई ‘समिर’ र प्रदेश ‘ख’ एकीकृत समाजवादीका शेख सतार संयुक्त रुपमा गठबन्धनको तर्फबाट जुलुससहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए।

तर, उनीहरूले मनोनयन दर्ता गरेको केही समयपश्चात एकीकृत समाजवादीको तर्फबाट पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा हस्ताक्षरित पार्टीको आधिकारिक टिकट बोकेर बालकृष्ण श्रेष्ठले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराए।

एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले भने आफूहरूले गठबन्धनमा सहमति गरेर मित्रवत प्रतिष्पर्धा गर्न उम्मेदवारी दर्ता गरेको बताएका छन्। तर, माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष टीका आचार्यले कुनै सरसल्लाह नगरी एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दर्ता भएको स्पष्ट पारेका छन्।

केन्द्रीय निर्देशनअनुसार नै उम्मेदवारी दिएको दाबी

एकीकृत समाजवादीका चन्द्रपुर नगर कमिटी अध्यक्ष बाबुराम दाहालले भने गठबन्धनमा कुरा नमिलेको ठाउँमा मित्रवत प्रतिष्पर्धा गर्ने भन्ने केन्द्रीय निर्देशनअनुसार नै आफूहरूले उम्मेदवारी दिएको बताए।

उनले आफूहरूको उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नहुने बताए। प्रदेश ‘क’ मा ०७४ को निर्वाचनमा कांग्रेसले जितेको थियो। तर, यसपटक आफूले जितेको स्थान माओवादीलाई दिएको भन्दै निवर्तमान प्रदेशसभा सदस्य धनलाल ठोकरले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यसैगरी, रौतहट क्षेत्र नम्बर २ प्रदेश  ‘ख’ मा पनि एकीकृत समाजवादी र माओवादी केन्द्रको छुट्टाछुट्टै उम्मेदवारी परेको छ। एकीकृत समाजवादीबाट कनिष पटेल र माओवादी केन्द्रबाट सुरेन्द्रप्रसाद जयसवालले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका हुन्।

प्रकाशित मिति: : 2022-10-11 16:55:00

प्रतिकृया दिनुहोस्