उम्मेदवारी दर्तापछि तनहुँमा चुनावी सरगर्मी

File photo
File photo

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि यहाँको माहोल तात्न थालेको थालेको हो। जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको बताइन्छ।

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी मैदानमा छन्। विसं २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनका उम्मेदवारसँग पराजित उनी यसपटक निर्वाचन जित्ने बताउँछन्। गत निर्वाचनमा जनतामा असझदारी पैदा हुँदा आफूले चुनाव हारेको बताउँदै नेता पौडेल यस पटक तनहुँका जनताले विजयी गराउने विश्वास व्यक्त गरे।

उता क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्व वनमन्त्रीबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली कांग्रेसबाट शङ्कर भण्डारी र नेकपा ९एमाले० बाट किरण गुरुङ चुनावी प्रतिस्पर्धामा छन्।

गण्डकी प्रदेशका समेत पूर्व अर्थमन्त्री रहेका गुरुङ मुलुकको राजनीतिक स्थायित्व, स्थिरता, राष्ट्रिय स्वाभिमान, अखण्डता, मुलुकको समृद्धि र अग्रगामी परिवर्तनका लागि आफू उम्मेदवार बनेको बताउछन्। उम्मेदवारी दर्तासँगै जिल्लामा चुनावको माहोल बनेको अधिवक्ता भानुभक्त सुवेदीको भनाइ छ।

'उम्मेदवारी दर्ता अगाडि पनि चुनावको चर्चा हुने गरेको थियो, अब त उम्मेदवारी दर्ता नै भइसकेपछि झन् माहोल चुनावमय बन्यो,' उनी भन्छन्।

विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छ सिट गुमाएको थियो। यो पटक छ वटै सिट कांग्रेस र गठबन्धनलाई विजयी गराउने हिसाबले निर्वाचनको तयारी गरिने नेपाली कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल जानकारी दिन्छन्। 

निर्वाचनको तयारीस्वरुप सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलले बैठक, भेला सुरु गरेका छन्। नेकपा (एमाले) ले दुवै क्षेत्र र चार प्रदेशसभा क्षेत्रमा बैठक राखेर चुनावको रणनीति बनाउने उपाध्यक्ष हरिराज कँडेल बताउछन्। तनहुँ क्षेत्र नं २ मा सत्तारुढ गठबन्धनको पहिलो चरणको बैठक बसिसकेको र यसलाई निरन्तरता दिइने नेकपा (माओवादी) केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङ जानकारी दिन्छन्।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जिल्लाका दशमध्ये पाँच, नेकपा (एमाले) ले चार र नेकपा (माओवादी) केन्द्रले एक स्थानीय तहमा विजय हासिल गरेको थियो। 

दुई लाख ४८ हजार मतदाता

जिल्लामा दुई लाख अड्चालिस हजार चार सय ९५ मतदाता छन्। स्थानीय तहको निर्वाचनपछि नयाँ मतदाता दर्ता र अद्यावधिक पछि निर्वाचन आयोगले तनहुँमा उक्त मतदाता सङ्ख्या कायम गरेको हो। स्थानीय तहको निर्वाचनपछि तनहुँमा चार हजार एक सय ५५ मतदाता थपिएका छन्।

स्थानीय तहको निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाता थिए। तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २३ हजार चार सय ९० र क्षेत्र नम्बर २ तर्फ एक लाख २५ हजार पाँच मतदाता कायम भएको छ।

विसं २०७४ को प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा जिल्लामा दुई लाख ११ हजार तीन सय ९६ मतदाता थिए। पाँच वर्षको अवधिमा यहाँ ३७ हजार ९९ मतदाता थपिएका हुन्।

तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा ९१० मा ६७ हजार एक सय ४४ र प्रदेश सभा ९२० मा ५६ हजार तीन सय ४६ मतदाता कायम भएका छन्। तनहुँ क्षेत्र नम्बर २ प्रदेश ९१० मा ६७ हजार ३२ र प्रदेश ९२० मा ५७ हजार नौ सय ७३ मतदाता कायम भएका छन्।

प्रकाशित मिति: : 2022-10-11 14:34:00

प्रतिकृया दिनुहोस्