आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीमा नेकपा (एमाले) नेता टाेपबहादुर रायमाझी र नेपाली काँग्रेस नेत्री पुष्पा भुसालबीच प्रतिस्पर्धा हुने भएकाे छ।
पूर्वमाओवादी नेता समेत रहेका रायमाझीलाई एमालेले शुक्रबार टिकट दिएकाे हाे। भने, शुक्रबार राति बसेको कांग्रेस संसदीय बोर्डको बैठकले नेत्री भुसाललाई अर्घाखाँचीबाट उम्मेदावर बनाउने निर्णय गरेकाे छ। भुसाल पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार हुन्। याेसँगै अब अर्घाखाँचीमा रायमाझी र भुसालबीच प्रतिस्पर्धा हुने भएकाे छ।
रायमाझीले अर्घाखाँचीबाट लगातार चुनाव जित्दै आएका छन्। माओवादीमा हुँदा रायमाझीले यहाँबाट लगातार तीन पटक चुनाव जितेर ह्याट्रिक गरेका थिए। उनले यहीबाट चुनाव जितेर मन्त्री समेत भएका छन्।
त्यस्तै प्रतिनिधिसभाकी उप–सभामुख समेत रहेकी भुसालले अर्घाखाँचीबाटै तत्कालीन क्षेत्र नं. २ बाट २०६४ मा चुनाव जितेकी थिइन्। त्यस यता उनी दुई पटकसम्म समानुमापतिक सांसद बनेकी थिइन्।
त्यस्तै प्रदेशतर्फ एमालेले (क)बाट चेतनारायण आचार्य र (ख) बाट रामजीप्रसाद घिमिरेले टिकट दिएकाे छ। भने गठबन्धले अहिलेसम्म उम्मेदवार टुङ्गाे लगाएकाे छैन। गठबन्धनमा प्रदेश (क) माओवादी र (ख) काँग्रेसकाे भागमा परेकाे छ।